सात युवा व्यवसायी मिलेर रु. पाँच करोड लगानीमा सुरु गरे ‘टी हब’, निर्यात पनि गर्ने योजना

Advertisement

काठमाडौं । पाँच करोड रुपियाँ भन्दा बढी लगानीमा सात जना युवा व्यवासायीले ‘टी हब’ सञ्चालनमा ल्याएका छन् । 

‘टी फ्रम द हिल’को नारासहित ठमेलमा ‘टी हब’मार्फत चियाँ बिक्री गर्न थालिएको दुई महिना भयो । ‘टी हब’मा २० भन्दा धेरै प्रकारका अर्गानिक (प्राङ्गारिक) चिया खान पाइने सात लगानीकर्तामध्येका एक शिव पाठकले बताए । 

Advertisement

चियाका पारखी राजधानीभित्र र बाहिर बढ्दै गएको गएको भन्दै उनले पर्यटकीय क्षेत्रका ठूला होटल, रेष्टुरेन्टहरुमा चियाँ बिक्री हुने गरेको बताए । टी हबमा दैनिक ३० हजार रुपियाँसम्म कारोबार हुने गरेको छ । व्यवसाय सञ्चालनमा आएको सुरुवाती चरण भएकाले थोरै व्यापार भए पनि केही समयपछि दैनिक एक लाख रुपियाँसम्मको व्यापार हुने बताए । 

टी हबमा तीन हजार रुपियाँदेखि २० हजार रुपियाँसम्मका फरक चियाहरु बिक्री हुने गरेको छ । पाठकले कृषि पेशालाई अगाडी बढाउने उद्देश्यले चिया व्यवसाय सुरु गरेको बताए । कृषि व्यवसायबाट आफ्नै देशमा रकम बस्ने, श्रमिकले पनि श्रम गरेअनुसारको पारिश्रमिक पाउने बताउँदै चियाको व्यापार व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसम्म निर्यात गर्ने योजना रहेको सुनाए । 

पाठक  र उनका  साथीहरु पर्यटन व्यवसायमा संलग्न छन् । टी हब सञ्चालनमा ल्याए पनि उनीहरुले आफ्नो व्यवसायलाई निरन्तरता दिएका छन् । पाँच वर्ष पहिला ईलाम घुम्न जाने क्रममा उनीहरुले चियाको व्यवसाय  गर्ने सोच बनाएका थिए । त्यसपछि ईलाममा जग्गा  भाडा लिएर सात व्यवसायीले चियाको कारखाना खोले । 

चियाको पहिलो स्युरोबाट उत्पादन भएको चिया सबै भन्दा मंहगो पर्ने  पाठकको भनाई छ । स्युरोको चियाको मूल्य प्रतिकिलो १५ हजारदेखि २० हजार रुपियाँसम्ममा बिक्री हुन्छ । टी हबमा एक स्युरो एक पात, एक स्युरो दुई पात, तीन पाते एक स्युरोबाट चिया उत्पादन हुँदै आएको उनले बताए । यीमध्ये तीन स्युरोलाई साधारण चियाको रुपमा मानिन्छ  । 

हर्बल टी अन्तर्गत  लालीगुराँस  र अन्य फूलहरुबाट उत्पादन हुने चिया पर्दछ । यसको रंग रातो हुन्छ । यो चियाले रक्तचाप कम भएका व्यक्तिहरुको  रक्तचाप ठिक ठाउँमा ल्याउन मद्दत गर्ने पाठकले बताए । उनले यस्तो चियामा भिटामिन सी पाइने बताए । 

क्यामोमायन टी (चिया)ले शरिरको थकान मेटाउने र निद्रा लगाउन मद्दत गर्ने, तुलसी चिया ज्वारो, रुघाखोकीको लागि उपयुक्त हुने पाठकको भनाई छ । चियाको एउटै बोटबाट विभिन्न प्रकारका चिया उत्पादन गर्न सकिने बताए । 

चियाले नराम्रो असर गर्ने होइन भन्दै खाने मात्रा मिलाउन सक्नुपर्ने बताए । विदेशीले गन्धबाट नै चियाको पहिचान गर्ने पाठकको भनाई छ । उनले विभिन्न चियाको स्वादका सौखिन हुने बताउँदै टी हबमा चिनियाँ, रुसी, मलेसियन, सिंगापुरका विदेशी ग्राहकहरु आउने गरेको बताए । 

पाठक चियाको प्रवर्द्धनका लागि केही महिनापछि चीनमा आयोजना हुन लागेको मेलामा पनि सहभागी हुन जाँदैछन् । यसरी सहभागी भएपछि चीनबाट पनि अर्डर आउनसक्ने उनको विश्वास छ । ग्रीन टी को उत्पत्ति चीनबाट नै सुरु भएको पाठकले सुनाए । 

Advertisement

Advertisement