तातोपानी नाका आठ वर्षपछि दुईतर्फी सञ्चालनमा, व्यापारीहरुमा खुशीयाली

Advertisement

काठमाडौं । नेपाल–चीन व्यापारीक तातोपानी नाका आठ वर्षपछि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । 

विगत आठ वर्ष भन्दा बढी समयदेखि पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको चीन जोड्ने तातोपानी नाका सोमवारदेखि दुईतर्फी आयात निर्यात खुला भएको हो । भूकम्पको बहानामा चीनले तातोपानी नाका दुवैतर्फ सञ्चालनमा अवरोध गरिरहेको थियो । 

Advertisement

भूकम्पपछि तातोपानी नाका करिव चार वर्ष पूर्ण रूपमा ठप्प थियो । सोमवारदेखि आयात निर्यात दुवैतर्फ सञ्चालनमा आएपनि मानव आवतजावत प्रतिवन्ध नै रहेको छ । तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले मानव आवतजावत तत्काल खोल्ने सम्भावना नभएको भन्दै खोल्ने विषयमा छलफल भइरहेको बताए । 

उनले सोमवार तोतोपानी नाका दुईतर्फ सञ्चालनमा आएसँगै नेपालबाट तीन ट्रक मुढा र म्याट्रेस चीनतर्फ निर्यात भएको बताए । केसीले सोमवार करिव ३७ लाख मूल्य बराबरको सामान निर्यात भएको बताए । उनले तातोपानी नाकादेखि काठमाडौंसम्म सडक मार्ग निर्माणका सरकारले प्रथामिकतामा राखेको बताए । 

नेपाल ट्रक ढुवानी सेवाका अध्यक्ष अर्जुन सापकोटाले तातोपानी नाका ८ वर्ष १६ दिनमा सञ्चालनमा आउँदा खुशी लागेको बताए । उनले  तातोपानी नाका अब पूर्ण रुपमा सञ्चालनमा आउने आशावादी भएको बताए । सापकोटाले सरकारले नेपाली सामान निर्यातको लागि कुटनीतिक पहल गर्न आवश्यक रहेको बताए । 

व्यवसायी विजय शेर्पाले तीन ट्रक मुढा र म्याट्रेस चीनले तामझाम गरेर लगेको बताए । उनले भन्सार नाका दुईतर्फ सञ्चालनमा आएसँगै निर्यात बढ्ने आशा रहेको बताए । शेर्पाले यो भन्दा पहिला बिस्कुट, सलाई, मैदा, कस्मेटिक सामान जस्ता सामानहरुको माग भइरहेको बताए । 

अर्का निर्यात व्यवसायी अनिरुद्र थापाले लामो समयपछि तातोपानाी भन्सार नाका दुईतर्फ खुला भएसँगै निरन्तर रुपमा पूर्ण सञ्चालनमा आउने अपेक्षा गरेको बताए । उनले नाकाको दुवै तर्फका संरचना राम्रो बनको भन्दै दुवैतर्फका सावारी साधान सञ्चालनमा समेत सहजता रहेको बताए । 

गत महिना नेपाली र चिनियाँ अधिकारीबीच ल्हासामा भएको बैठकपछि नाका भूकम्प अघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भए अनुसार सोमवारदेखि नेपाल र चीन दुवैतर्फबाट आयात निर्यात खुल्ला भएको हो । 

भूकम्पको बहानामा चीनले प्रमुख दुई नाका तातोपानी र रसुवागढीमा समय समयमा अवरोध हुँदा करोडौं लगानीमा आयात गरिएका सामान बाटैमा अलपत्र हुँदा साना र मझौला व्यापारीहरुलाई ठूलो समस्या पर्ने गरेका थियो । नाका दुवैतर्फ सञ्चालनमा आएसँगै नेपाल–चीन आयात र निर्यातमा सहजीकरण हुने भएको छ । 

Advertisement

Advertisement