साना उद्योगलाई औजारहरु बनाएर बिक्री गर्दै बि.एस.सप्लायर्स, बार्षिक करोडौंको कारोबार

Advertisement

काठमाडौं । बि.एस. भूमि सप्लायर्सले विभिन्न किसिमका औजार, उपकरणका सामग्रीहरुको उत्पादन र बिक्री गर्दै आएको छ । 

कीर्तिपूरको ट्याङ्गलाफाँटामा कार्यालय रहेको यो सप्लायर्सले ग्राहकको माग अनुसारका औजार उपकरणहरु तयार गरी बिक्री गर्दै आएको कम्पनीकी सञ्चालक रचना महर्जनले बताइन् । करिब ६ वर्षअघि तीन जना लगानीकर्ता मिलेर सञ्चालनमा ल्याइएको बि.एस. सप्लायर्समा १७ जनाले रोजगारी पाएका छन् । 

Advertisement

लघु उद्योगहरुसँग सम्बन्धित विभिन्न उपकरण दूना, टपरी, अगरबत्ति, सरफ, साबुन जस्ता घरेलु सामग्री बनाउने औजारहरु यस उद्योगले उत्पादन गर्छ । 

नेपालमा बनेका यी औजार विदेशमा बनेका भन्दा गुणस्तरीय रहेको महर्जनले दावी गरिन् । तर, पछिल्लो आर्थिक मन्दी प्रत्यक्ष मारमा आफ्नो जस्ता व्यवसाय परेको सुनाउँदै उनले उद्योग, व्यवसायमा लगानीको वातावरण सहज हुनेगरी सरकारले चाँडै बैंकको ब्याजदर घटाए संकटमा रहेका उद्योग व्यवसाय फस्टाउने विश्वास व्यक्त गरिन् । 

करिब एक वर्षको वारेन्टी दिएर आफूहरुले औजार उपकरणहरु बिक्री वितरण गरे पनि त्यस्ता औजारहरु करिब १० वर्षसम्म चल्ने कम्पनीको अनुभव छ । बि.एस. सप्लायर्सबाट औजार किन्दा ग्राहकहरुले न्यूनतम १५ हजार रुपियाँ खर्चनुपर्छ । डेढ करोड रुपियाँ लगानीमा सुरु भएको महर्जनको उद्योगले अहिले बार्षिक आठदेखि नौ करोड रुपियाँको कारोबार गर्ने भएको छ । 

विशेषगरी छिमेकी भारत र चीनबाट कच्चा पदार्थ आयात गरी नेपालमा सामान उत्पादन गर्ने बि.एस सप्लायर्सले करिब छ सय प्रकारका औजार तथा उपकरणहरु उत्पादन गर्दै आएको छ । नेपालमा उत्पादन गर्न सम्भव भए जति औजार तथा उपकरण यहीं उत्पादन गर्ने र बाँकी अटोमेटिक मेसिनहरु भारतबाट आयात गर्ने गरेको महर्जनले बताइन् । 

कम्पनीले उत्पादन गरेका औजारहरु व्यवसायिक प्रयोजनका लागि किनबेच हुने उनको भनाई छ । महर्जनले आफूहरुले उत्पादन गरेका सामान देशका विभिन्न स्थानमा पुग्ने गरेको बताउँदै तर सामान दिएर उधारो उठाउन नसक्दा भने समस्या भएको बताइन् । उनले ग्राहकहरुबाट उठाउन बाँकी उधारो रकम बढेर झण्डै ९० लाख रुपियाँ पुग्दा व्यवसाय गर्न तरलताको अभाव भोग्नुपरेको बताइन् । 

देशका अधिकांश लघु, घरेलु तथा साना उद्योगले बि.एस. सप्लायर्सका औजार तथा उपकरण प्रयोग गर्ने गरेको महर्जनले बताइन् । 

Advertisement

Advertisement