लोकसेवा आयोगको गम्भीर लापर्वाहीः उम्मेदवारको डाटा नै हरायो, पुनः दरखास्त आव्हान

Advertisement

काठमाडौं । उम्मेदवारहरुको डाटा मेटिएपछि लोकसेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ । बुधवारबाट लागू हुनेगरी आयोगले ३० दिनसम्ममा पुनः दरखास्त दिन आह्वान गरेको हो । गत मंसिर, पुस र माघमा प्रकाशित विज्ञापनहरुमा दरखास्त दिइसकेका उम्मेदवारहरुलाई पुनः दरखास्तका लागि आह्वान गरिएको आयोगका प्रवक्ता तोयनारायण सुवेदीले बताए । 

उनले २०७९ मंसिर, पुस र माघमा प्रकाशित विज्ञापनहरुमा दरखास्त दिइसकेकाहरुले मात्रै दरखास्त भर्न पाउने र उनीहरुले दस्तुर शुल्क तिर्नुनपर्ने बताए । सुवेदीले यस पटक पनि ८० हजार भन्दा धेरैले दरखास्त भर्ने अनुमान गरेको बताए । उनले पहिला दरखास्त भरिसकेकाहरुको डाटा संकलनका लागि मात्रै पुनः दरखास्त आह्वान गरिएको बताए । 

Advertisement

प्रवक्ता सुवेदीले आयोगले शाखा अधिकृतको परीक्षा असार ९ गते गर्ने र अन्य पदको परीक्षा भने साउन महिनादेखि मंसिरसम्म सक्नेगरी तयारी गरिरहेको पनि बताए । उनले पुनः दरखास्त दिँदा पहिला जुन समूहको विज्ञापनमा आवेदन गरिएको हो, सोही समूहको विज्ञापनमा मात्र आवेदन दिनुपर्ने बताए । 

सुवेदीका अनुसार पुनः दरखास्त प्राप्त भएपछि साविकमा स्वीकृत भइसकेका दरखास्तहरु अनलाइन दरखास्त प्रणालीबाटै पहिचान गरी पुनः दरखास्त स्वीकृत हुने प्रवन्ध मिलाइएको छ । उनले भने, ‘हामीले ३० दिनको समय दिएर दरखास्त आह्वान गरेका छौँ । यो नयाँ दरखास्त होइन, पहिला भरिसकेको उम्मेदवारको डाटाका लागि मात्रै खुलाएको हो, यसलाई नयाँ रुपमा नबुझ्न अनुरोध छ । जुन उम्मेदवारले पहिला नै डाटा भर्नुभएको थियो, त्यो उम्मेदवारले विवरण भरिसकेपछि हामीले अब फेरि भर्ना परीक्षा सेड्युल निकालेका छौँ । त्यो अनुसार परीक्षा कार्यक्रम अघि बढ्छ ।’ 

लोकसेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टर (जीआईडीसी) बाट मेटिएका डाटाहरु रिकभरी हुने निश्चित नभएपछि आयोगले पुनः दरखास्त मागेको हो । 

Advertisement

Advertisement