अशोक मुरारकाको कम्पनीलाई आन्तरिक राजश्वले गर्यो तीन अर्ब ७७ करोड कर निर्धारण

Advertisement

काठमाडौं । आन्तरिक राजस्व विभागले बोटलर्स नेपाल (कोकाकोला)पछि अर्को ठूलो कर निर्धारण गरेको छ। विभागअन्तर्गतको आन्तरिक राजस्व कार्यालय विराटनगरले अवनिश एग्रिगेट इण्डस्ट्रिज र ओम साइबाबा क्रसर उद्योगलाई तीन अर्ब ७७ करोड कर निर्धारण गरेको हो ।

विभागले अवनिशलाई दुई अर्ब ४४ करोड र ओम साइबाबा क्रसरलाई एक अर्ब ३३ करोड रुपियाँ कर निर्धारण गरेको छ । कार्यालयले कर निर्धारण गरी कम्पनी सञ्चालकलाई पत्र बुझ्न पत्राचार गरेको छ । तर पत्र बुझ्न कम्पनी सञ्चालकले अस्वीकार गरेका छन् । दुवै कम्पनीमा सञ्चालकहरु साझा रहेका छन् । अवनिशका सञ्चालकमा अशोककुमार मुरारका र कृष्णप्रसाद प्रसाईं हुन् ।

Advertisement

यस्तै ओम साइबाबा क्रसरमा अशोककुमार मुरारका, अभिषेककुमार मुरारका र कृष्णप्रसाद प्रसाईं रहेका छन्।

अवनिश कर कार्यालयमा २०६० फागुन २६ गते दर्ता भएको थियो । कम्पनी दर्ता भए पनि मुरारकाले कम कारोबार देखाई कर छली गर्ने गरेका विभागको भनाई छ । आर्थिक वर्ष २०६९–७० सम्म कर विवरण बुझाए पनि त्यसपछि भने उसले कुनै कर विवरण बुझाएको छैन । यस्तै ओम साईबाबा क्रसर २०६० बैशाख ४ गते कर कार्यालयमा दर्ता भएको देखिन्छ । यो कम्पनीको पनि नौ आर्थिक वर्षको कर विवरण हेर्दा कर छली गरेको पाइएको जनाइएको छ । 

विभागका एक कर्मचारीले भने ‘कम्पनीमाथि अनुसन्धान रोक्न ठूलो राजनीतिक दबाब थियो । यसलाई चिरेर एउटा निष्कर्षमा पुर्याएका छौं । अब कर असुलीको प्रक्रिया अघि बढ्छ ।’ दुवै कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) र आयकर छली गरेको आरोप कार्यालयले लगाएको छ । कार्यालयले छानविन गरी आयकर ऐन, २०५८ को विभिन्न दफा तथा उपदफा अनुसार कर निर्धारण गरिएको विभागको भनाई छ । 

प्रारम्भिक कर निर्धारण गरिएको पत्रहरु कार्यालयको अभिलेखमा उपलब्ध करदाताको ठेगानामा रजिष्ट्री गरी हुलाकमार्फत पत्र पठाएको छ । संशोधित तिर्न किन नपर्ने हो ? भनी पत्रमा उल्लेख गरिएको छ । कर तिर्नु नपर्ने कारण उल्लेख गरी सबुत प्रमाणसहित कार्यालयमा पेश गर्न पत्रमा भनिएको छ ।

सञ्चालकबीच विवाद
कम्पनीका सञ्चालक मुरारका र प्रसाईंबीच विवाद उत्पन्न हुँदा कर छलीको ठूलो प्रमाण कर अधिकृतको हातमा परेको हो । पछिल्लो समय मुरारका र प्रसाईंबीच लेनदेनको हिसाब नमिल्दा विवाद उत्कर्षमा पुगेको छ । रातोपाटी डटकमले २०७२ पुस १ गते लेखेको समाचार अनुसार मुरारका नेपालको जायजेथा बिक्री गरेर भारत पुगेका छन् । उनले प्रसाईंलाई पत्तै नदिई कम्पनीको नाममा रहेको जग्गा समेत बिक्री गरिसकेका छन् । मुरारकाले प्रसाईंलाई कम्पनीको नाफाको हिस्सा बाँडन अस्वीकार गर्दै आएका थिए ।

सञ्चालक प्रसाईंले आफ्नो भागको हिसाब नपाएपछि कम्पनीले २०६०–६१ देखि २०६९–७० सम्मको विवरण कर अधिकृतलाई दिएका हुन् । प्रसाईंले कम्प्युटरको हार्डडिस्क नै कर अधिकृतलाई उपलब्ध गराएका हुन् । प्रसाईंले कर अधिकृतलाई सबै विवरण पेश गरेपछि मुरारकाले भने कर परीक्षण रोक्न राजनीतिक दबाब दिएका थिए । तर आफूहरुले सो कुरालाई अस्वीकार गर्दै कर परीक्षण अघि बढाएर टुङगोको विभागका कर्मचारीको दावी छ । 

दुई कम्पनीमध्ये अविनाशले ट्रेडिङको काम गर्ने गरेको थियो भने ओम साइबाबा क्रसर उद्योग हो। यो कम्पनीले गिट्टी बालुवा, रोडा नेपालमा मात्रै नभएर भारतमा समेत निर्यात गर्ने गरेको थियो। वर्षौंसम्म मनग्य नाफा आर्जन गरेता पनि कर विवरण भने पेश नगरेको पाइएको विभागको भनाई छ । 

Advertisement

Advertisement