बीमा क्षेत्रमा मर्जरको प्रभावः एक वर्षमै ३९३ कर्मचारीको जागिर ‘चट्’

Advertisement

काठमाडौं । मर्जर प्रक्रियाले बीमा क्षेत्रमा नयाँ ‘सिनर्जी’ आउने विश्वास गरिएको बेला बीमा कम्पनीहरुमा कार्यरत ३९३ जना कर्मचारीको जागिर गएको छ । यो तथ्यांक गएको एक बर्षको हो । 

बीमा क्षेत्रमा मर्जर प्रक्रिया सुरु भएको पनि एक बर्ष भएको छ । नेपाल बीमा प्राधिकरणले मर्जरका कारण एक जना कर्मचारीलाई पनि निष्काशन गर्न नपाइने बताएको बेला ठूलो संख्याले बेरोजगार हुनुपरेको छ ।   

Advertisement

बीमा कम्पनीहरुको मर्जरको प्रत्यक्ष प्रभाव त्यहाँ कार्यरत कर्मचारीहरुमा परेको हो । मर्जर प्रक्रिया अझै पनि जारी रहेकाले थप कर्मचारीहरुको जागिर जाने संभावना कायमै छ । हालसम्म १२ वटा कर्मचारी मात्रै मर्जरमा गएर एकीकृत कारोबार गरेका छन् । एलआईसी नेपालले हकप्रदमार्फत पुँजी पुर्याएको छ । बाँकी कम्पनीहरु अधिकांश मर्जरको प्रक्रियामा छन् भने थोरै मात्रै हकप्रदमार्फत प्राधिकरणले तोकेको पुँजी पुर्याउने प्रक्रियामा छन् ।   

जागिर गुमाउनेहरु जीवन बीमा र निर्जीवन बीमा दुवै क्षेत्रका छन् । प्राधिकरणको गत असार मसान्तसम्मको तथ्यांकमा बीमा कम्पनीमा कार्यरतहरुको संख्या ११ हजार ८४६ रहेकोमा अहिले घटेर यही गएको चैत मसान्तसम्ममा यो घटेर ११ हजार ४५३ पुगेको छ । यसरी हेर्दा बीमा कम्पनीहरुमा ३.३२ प्रतिशतले कर्मचारी घटेका छन् । जबकी यो बीचमा निजी क्षेत्रबाट एउटा पुनर्बीमा कम्पनी पनि थप्पिएको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘मर्जरकै कारण हामीले कर्मचारीहरुलाई जागिरको संकट नबनाउन बीमा कम्पनीहरुलाई निर्देशन नै दिएका थियौं । तर केही कर्मचारीहरुको हकमा भने त्यो कुरा लागू नभएको हुनसक्छ ।’ उनले सकेसम्म सबैलाई समेटेर लाने आफूहरुको योजना भए पनि मर्जरको केही प्रत्यक्ष अप्रत्यक्ष प्रभाव भने देखिएको स्वीकार गरे । प्राधिकरणले निर्देशन नै दिएर कर्मचारी कटौती गरिए कारवाही गर्ने चेतावनी दिएको थियो ।   

तत्कालिन सिद्धार्थ इन्स्योरेन्सले पनि केही समयअघि कोरोना महामारीको प्रभाव बढ्दै गएको भन्दै आफ्ना दुई दर्जन बढी कर्मचारीहरु कटौती गरेको थियो । एकातिर कम्पनीहरुलाई व्यवसाय भित्राउन चटारो छ भने अर्कातिर आफ्ना दक्ष तथा पूराना कर्मचारीहरुको सेवा सुविधा बढाउनुपर्ने बाध्यता पनि छ । 

विगतदेखि नै कम्पनीहरुले विशेष मौका छोपेर कर्मचारी हेरफेरको नीति अपनाउने गरेका छन् । यस पटक भने खर्च कटौती र आर्थिक मन्दीलाई देखाएर कर्मचारी कटौती गर्न उनीहरुलाई सहज भएको छ । जबकी कम्पनीहरुले मर्जरमा गए पनि कर्मचारी कटौती नगर्ने पटक पटक प्रतिवद्धता जनाएका थिए । 

प्रवक्ता पौडेलले थपे, ‘मर्जरका क्रममा सञ्चालकदेखि कम्पनीको नेतृत्व नै परिवर्तन भएको बेलामा केही कुराहरु मेलबेमेल त भइहाल्दो रहेछ । सञ्चालकसँग कुरा नमिलेर पनि कतिपय कर्मचारीहरु बाहिरिनुभयो । अर्को कुरा नेपाल लाइफ जस्ता मर्जरमा नगएका कम्पनीहरुको पनि कर्मचारी संख्या घटबढ भएको अवस्था छ । त्यसलाई चाहिं उनीहरुले कर्मचारी समायोजन हुँदैछ भन्ने खबर पठाएका छन् ।’

Advertisement

Advertisement