ब्याग उद्योगी रेग्मीको अनुभव– उत्पादन जति पनि गर्न सकिन्छ, बजारकै चिन्ता भयो

Advertisement

काठमाडौं । गणेश रेग्मीले उर्लाबारीमा विगत छ वर्षदेखि ‘पाथिभरा ब्याग उद्योग’ सञ्चालन गर्दै आएका छन् । 

दश लाख रुपियाँ लगानीमा सुरु भएको रेग्मीको यो व्यवसाय उनले आफू वैदेशिक रोजगारीबाट फर्किएर सुरु गरेका हुन् । पाथिभरा ब्याग उद्योगबाट २२ प्रकारका ब्याग (झोला) उत्पादन हुँदै आएको छ । रेग्मीले ब्याज उद्योगबाट मासिक ५० हजारदेखि एक लाख रुपियाँसम्म आम्दानी हुने गरेको बताए । 

Advertisement

उनले उद्योगबाट उत्पादित ब्याग उर्लाबारीका स्थानीय बजार, दमक, इटहरी, विराटनगर, विर्तामोडमा बिक्री गर्दै आएका छन् । ब्यागहरुको प्रकृति र विशेषताअनुसार २५० देखि ६५० थोक मूल्यमा बिक्री गर्ने गरेको रेग्मीले जानकारी दिए । मागअनुसार उनले खुद्रा बिक्री पनि गर्दै आएका छन् । 

उद्यमी रेग्मीले विद्यालय, क्याम्पस र अरु व्यवसायिक प्रतिष्ठानहरुको अर्डर (माग)अनुसार पनि ब्यागहरु बनाएर दिने गरेका छन् । काठमाडौंबाट कच्चा पदार्थ लगेर सामान उत्पादन गर्दै आएका उनले आफ्ना ब्याज धेरै विद्यालय र कलेजमा नै बिक्री हुने गरेको बताए । 

रेग्मीले आफूहरुले बनाएको ब्याज कम्तिमा एक बर्ष टिकाउने हुने, गुणस्तरीय र आकर्षक रहेको दावी गरे । उनले भने, ‘सामान बिक्री गर्न मलाई कुनै सिजन कुर्नुपर्दैन् । जुनसुकै सिजनमा पनि राम्रै बिक्री छ । बिक्री भएका ब्याजमा त्यस्तो गुनासो पनि आउने गरेको छैन् ।’
 
तर व्यवसाय सुरु गर्दाको पहिलो बर्ष भने बजार खोज्न आफूलाई निकै मुस्किल भएको रेग्मीको अनुभव छ । उनले बजार खोज्ने क्रममा धेरै थोक व्यापारीकोमा धाएको सुनाउँदै भने, ‘ब्याग बिक्री गर्न एउटा पसलमा महिनामा आठ पटकसम्म धाएँ । धेरैतिर दौडिनुपर्यो । अहिले त्यसरी दौडिन नपरे पनि उधारोमा लगेको सामानको पैसा समयमा नआउँदा समस्या पर्ने गरेको छ ।’

ब्यागको बजारमा निकै प्रतिस्पर्धा रहेको रेग्मीले बताए । बढ्दो प्रतिस्पर्धाले गर्दा चुनौति थपे पनि चुनौतिको सामना गर्दै रेग्मीले अघि बढ्न आफू तयार रहेको बताए । बजारमा आएका ब्यागभन्दा फरक डिजाइन र सुविधायुक्त ब्याज बनाउन सक्दा बजार लिन समस्या नपर्ने उनको भनाई छ । रेग्मीले सोहीअनुसार नै आफूहरुले सामना उत्पादन गर्ने गरेको बताए । उनले भने, ‘सामान उत्पादन जति पनि गर्न सकिन्छ । उत्पादित सामान बजारमा बिक्री गर्न सकिन्छ कि सकिन्न ? भन्ने चिन्ता हो ।’ कोरोना महामारीपछि पहिला जस्तो ब्यापार गर्न नसकेको रेग्मीले बताए । 

Advertisement

Advertisement