फोहोर प्रभावित पालिकाहरुको चेतावनीः पूर्वसम्झौताहरु कार्यान्वयन नभए कठोर कदम चाल्छौं

Advertisement

काठमाडौं । काठमाडौं उपत्यकाका १८ वटा पालिकाका फोहोरहरु व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोल क्षेत्रका पालिकाहरुले यसअघि भएका सम्झौताहरु पूर्णरुपमा कार्यान्वयन नभए कठोर कदम चाल्ने चेतावनी दिएका छन् । 

शनिबार पत्रकार सम्मेलन गर्दै धादिङको धुनिबेशी नगरपालिका, नुवाकोटाको ककनी गाउँपालिका र बेलकोटगढी नगरपालिकाले यसअघिको सम्झौताको पूर्ण पालना नभएकोमा असन्तुष्टि जनाउँदै आफूहरुको माग तत्काल सम्बोधन नभए कठोर कदम चाल्ने चेतावनी दिएका हुन् । 

Advertisement

विगत १८ बर्षदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल क्षेत्रमा फोहोरको संकलन, प्रशोधन र व्यवस्थितरुपमा विषर्जन गरिनुपर्नेमा लिच्चड अव्यवस्थितरुपमा खोलामा मिसाउनाले यस क्षेत्र दुर्गन्धित हुनुका साथै मानव बसोबासका लागि अयोग्य बनेको बताएका छन् । 

उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अव्यवस्थित रुपमा फालिएको फोहोरले वातावरण दुर्घन्दित त बनाएको छ नै, कृषियोग्य जमिनमा समेत खेती हुन छाडेको छ । वातावरण दुर्घन्दित बनेको छ । मानिसहरु यस क्षेत्रमा बसोवास गर्नसक्ने अवस्था छैन् । त्यसमाथि चिल, गिद्दलगायतका पशुपंक्षीहरुले फोहोरहरू एक ठाउँबाट अर्को ठाउँमा ओसारपोसार गरेका कारण धेरै क्षेत्रहरु प्रभावित हुन पुगेको छ । यसको कारण प्रभावित क्षेत्रका नागरिकहरु विभिन्न सरुवा एवं दिर्घरोगको शिकार बनिरहेका छन् ।’

तीन बुँदे माग अघि सार्दै तीन पालिकाले केन्द्रीय सरकार र काठमाडौं महानगरपालिका असाध्यै गैरजिम्मेवार बनेको अरोप पनि लगाएका छन् । प्रभावित जनताको जीवनमा गम्भीर खेलवाड भइरहेको यो अवस्था आफूहरुले टुलुटुलु हेरेर बस्न नसक्ने उनीहरुले वैज्ञानिक ढंगबाट फोहोरमैलाको व्यवस्थापन गर्न, प्रभावित जनताको उचित व्यवस्थापन र आवश्यकताको आधारमा मानव बस्ती समेत व्यवस्थापन गर्न पनि आग्रह गरेका छन् । 

ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले विभिन्न चरणमा सम्झौता भए पनि कार्यान्वयन नभएकाले अहिले सरकारका विरुद्ध सरकारले नै संघर्ष गर्नुपर्ने अवस्था आएको बताए । उनले स्थानीय सरकार अर्को सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने निष्कर्षमा पुगेको बताए । 

तामाङले आफूहरुले छलफलपछि केन्द्रीय सरकार र काठमाडौंका पालिकाहरुलाई चेतावनी दिनुपर्छ भनेर विज्ञप्ति जारी गरेको, दिएको समयमा पनि उनीहरुले आफूहरुलाई बेवास्ता गरेको, आफूहरुविरुद्ध कुप्रचार गरेको बताए । फोहोर प्रभावित क्षेत्रका स्थानीय वासिन्दाले १८ बर्षदेखि पीडा सहँदै आएकाले बताउँदै उनले एक ढिक्का भएर लड्नुपर्छ भनेर प्रभावित क्षेत्रका पालिकाहरु एक भएर संघर्ष गर्न लागेको बताए । 

Advertisement

Advertisement