‘इरा र सान्वी’ प्लास्टिक उद्योग सञ्चालन, लगानी रु. ५ करोड, ५० भन्दा बढीलाई रोजगारी

Advertisement

काठमाडौं । राजधानीको टोखामा पाँच करोड रुपियाँ लगानीमा ‘इरा र सान्वी बहुउद्देश्यीय प्लाष्टिक उद्योग’ सञ्चालनमा आएको एक बर्ष भयो । 

भारतबाट तीन प्रकारका मेशिनहरु आयात गरी सामान उत्पादन सुरु गरिएको यो उद्योगमा दुई जनाको लगानी रहेको छ । ती मध्येका एक विनय न्यौपानेले मेसिनले चौबिसै घण्टा उत्पादन गर्नसक्ने जनाउँदै मेसिनले साना र ठूला गरी दैनिक १५ सय किलो प्लास्टिकका झोलाको उत्पादन गर्दै आएको बताए । 

Advertisement

‘इरा एण्ड सान्वी’ले ५० जनाभन्दा बढीलाई रोजगारी दिँदै आएको छ । प्लास्टिकका झोलाहरुको मूल्य गुणस्तरअनुसार फरक फरक कायम गरिएको छ । उत्पादित झोलाहरु किलोको २२० देखि तीन सय रुपियाँसम्ममा देशभर बिक्री हुने गरेको न्यौपानेले बताए । उनले आयातित कच्चा पदार्थको बजार मूल्य घटबढ भइरहने भएकाले उत्पादित सामानको मूल्य पनि घटबढ हुने गरेको सुनाए । 

न्यौपानेले आफ्नो उद्योगमा मासिक सरदर ३५ लाख रुपियाँको कारोबार हुने गरेको बताए । उनले बैंकको ब्याज चर्को रहेको र अहिले आर्थिक मन्दीको अवस्था पनि रहेकाले उद्योग नाफामा जान अझै केही समय लाग्ने बताए । न्यौपानेले भने, ‘व्यवसायले लय समय अझै केही समय कुर्नुपर्ने अवस्था छ । उद्योग सञ्चालन गर्न धेरै खालका चुनौतिहरु छन् ।’  

‘इरा एण्ड सान्वी’ले प्लास्टिकका झोला उत्पादनका लागि मलेसिया, भियतनाम, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), चीनबाट कच्चा पदार्थ आयात गर्दै आएको छ । पेट्रोलियम पदार्थ उत्पादन र प्रशोधनबाट निस्किने बाईप्रोडक्ट प्लास्टिकजन्य उत्पादनका लागि कच्च पदार्थको रुपमा प्रयोग हुन्छ । 

काठमाडौं भित्र नै २५० वटा जति प्लास्टिकका सामान उत्पादन गर्ने उद्योग सञ्चालन हुँदै आएको न्यौपानेको दावी छ । उनले सरकारले सहयोग र संरक्षण गर्ने हो भने यस्ता उद्योगले केही बर्षमा दोब्बर बढीलाई रोजगारी दिनसक्ने बताए । 
   
प्लास्टिकजन्य उद्योगले वातावरण प्रदुषण हुने आम विश्वासमा सत्यता नरहेको बताउँदै न्यौपानेले उद्योगभित्र छिर्दा मेशिन चलेको पनि थाहा नहुने बताए । प्लास्टिक उत्पादन गर्दा उद्योगमा कुनै प्रकारको गन्ध पनि नफैलिने भएकाले स्वास्थ्यमा पनि असर नगर्ने उनको जिकिर छ । 

न्यौपानेले भने, ‘यसले वातावरण प्रदुषण गर्छ भन्ने होइन् । प्लास्टिक झोलाबाट असर गर्छ भन्ने कुरा ग्राहकले उपयोग गर्ने तरिकामा भर पर्छ । अर्को कुरा हामीले सरकारलाई  विभिन्न कर तिर्छौं । प्लास्टिकजन्य वस्तु उत्पादन गर्ने भएकाले छुटै कर पनि तिर्छौं । सरकाले कुनै कुरामा सहुलियत दिएको अवस्था छैन् ।’ 

प्लास्टिक पुनः प्रयोगमा आउने वस्तु भएकाले यसलाई बिक्री गर्न पनि सकिन्छ भन्दै उनले संसारमा १९३ देशमध्ये प्लास्टिकका झोला एक–दुईबाहेक सबै देशमा प्रयोग हुँदै आएको बताए । प्लास्टिक झोला प्रयोग गर्दाको फाइदा र बेफाइदाबारे सरकारले जनचेतना जगाउनु जरुरी रहेको व्यवसायी न्यौपानेको तर्क छ । 

Advertisement

Advertisement