कर नतिरको भन्दै दुर्गा प्रसाईंको बि एण्ड सी अस्पतालको खाता रोक्का गर्ने सरकारको तयारी

Advertisement

काठमाडौं । कर नतिरेको भन्दै सरकारले व्यवसायी दुर्गा प्रसाईंले झापा सञ्चालन गर्दै आएको बि एण्ड सी अस्पतालको खाता रोक्का गर्ने तयारी गरेको छ । 

आन्तरिक राजस्व विभागले १५ दिनभित्र बाँकी कर तिर्नु भन्दै सूचना प्रकाशित गरेको म्याद सकिन लागेकोले उक्त अवधिभित्र पैसा नतिरे बैंक खाता रोक्का गर्ने तयारी गरेको जनाएको छ । 

Advertisement

विभागले दिएको म्याद १३ दिन सक्किसकेको र अब २ दिनभित्र टीडीएस (स्रोतमा काटिने कर) नतिरे कारवाही गर्ने विभागले बताएको हो । प्रसाईंको अस्पतालले मेडिकल कलेजको पूर्वाधार बनाउने क्रममा खरीद प्रक्रियामा संकलन भएको टीडीएसवापतको रकम गत फागुनसम्म १५ करोड रुपियाँ तिर्न बाँकी रहेको थियो । 

चैतमा उनको अस्पतालले दुई करोड भुक्तानी गरे पनि अरु बाँकी छ । कर तिर्न भन्दै कम्पनीको प्रतिनिधि आइतबार सम्वन्धित कर कार्यालय पुगेका थिए । उनीहरुले जेठसम्ममा बक्यौता रकमको ५० प्रतिशत भन्दा धेरै रकम तिरिसक्ने भन्दै बाँकी रकम तिर्न समय माग गरेको थिए । तर कर कार्यालयले भने आधा कर नलिने भन्दै सबै कर दाखिला गर्न दबाब दिएपछि उनीहरु फर्किएका थिए । 

दुई दिनभित्र सबै कर दाखिला नगरे आयकर ऐन २०५८ अनुसार कारवाही प्रक्रिया अघि बढाउने विभागको भनाई छ । यस्तो कारवाहीमा अस्पताल सञ्चालन गर्ने कम्पनीको खाता रोक्कादेखि सञ्चालकको खाता रोक्कासम्म गर्न सकिन्छ । 

कम्पनीले तिर्नुपर्ने रकममा धेरै जसो टीडीएसवापतको रकम छ । अरुलाई भुक्तानी दिँदा काटिएको यस्तो रकम अस्पतालले कर कार्यालयमा भने दाखिला नगरेको विभागले जानकारी दिएको छ । 

प्रसाईंले पछिल्लो समयमा सरकार र बैंकिङ सिस्टमलाई नै चुनौति दिँदै आन्दोलन सुरु गरेपछि सरकार र बैंकका सञ्चालक तथा सीईओहरु रुष्ट हुँदै आएका छन् । तर गद्दीमा नरहेका राजा ज्ञानेन्द्रको साथ र संरक्षण रहेको हुनसक्ने आशंकामा उनीहरुले प्रसाईलाई कारवाही गर्ने आँट अहिलेसम्म गर्न सकेका छैनन् । लघुवित्त, सहकारी तथा मिटरब्याज पीडितको पक्षमा आवाज उठाएकाले र २० लाख रुपियाँसम्मको कर्जा मिनाहा हुनुपर्ने माग अघि सारेकाले न्यून आयस्तरका मानिसहरुको साथ र समर्थन पाएका प्रसाईंलाई सरकार कुनै न कुनै कमजोरीमा पक्राउ गरी कारवाही गर्ने उपयुक्त समयको पखाईमा छ । 

प्रसाईले भने आफूलाई सरकारले मेडिकल कलेजको सम्वन्धन दिन्छु भनेर प्रतिवद्धता जनाएर पूर्वाधारमा करोडौं रुपियाँ खर्च गर्न लगाएर पनि सम्वन्धन नदिएकाले टीडीएस भुक्तानीमा ढिलाई गरेको बताउँदै आएका छन् । उनले आफूले मासिक २५ लाख रुपियाँ नघटाई बक्यौता तिर्दै आएको र चैतमा दुई करोड भुक्तानी गरेको बताएका छन् । बाँकी पनि क्रमसः तिर्दै जाने बताएका छन् ।  

प्रसाईं भन्छन्, ‘सरकारले मेडिकल कलेजका लागि मापदण्ड पूरा गर्न लगायो । शुल्क तिरायो । कर तिरायो । पहिला मेची अञ्चलमा सबैभन्दा धेरै कर तिर्ने उत्कृष्ट अस्पताल पनि बि एण्ड सी नै हो स्वास्थ्य क्षेत्रमा । एलओआई दिने । सबै पूर्वाधार बनाउ भनेर बनाउन लगाउने । अहिले मलाई भडखालामा हालेर अहिले सबै कर एकै पटक तिर भन्दा मैले कहाँबाट तिर्ने ? 

बि एण्ड सीलाई मेडिकल कलेजको सम्वन्धन दिए । सबै कर तुरुन्तै तिर्न आफू तयार रहेको बताउँदै उनले १० बर्षदेखि सम्वन्धन नदिएर झुलाएर राख्दा झण्डै दुई अर्ब नोक्सानी भएको दावी गरेका छन् । प्रसाईंले सम्वन्धनको शुल्क पनि हरेक बर्ष सरकारले लिने गरेको, चिकित्सा शिक्षा आयोगले पनि १० लाख रुपियाँ शुल्क लिँदै आएको, काठमाडौं विश्वविद्यालयले पनि १० लाख रुपियाँ लिँदै आएको सुनाउँदै भने, ‘मैले यिनीहरुलाई कर तिरेर पाल्नुपर्ने ? उल्टै उनीहरुले मलाई नै थर्काउने ?’ पाँच बर्षदेखि यससम्वन्धी मुद्दा सर्वोच्च अदालतले फैसला नगर्दा पनि आफूमाथि अन्याय भएको उनको गुनासो छ । 

बि एण्ड सी अस्पतालको सञ्चालक समितिको अध्यक्षमा इन्दिरा गिरी र प्रवन्ध निर्देशकमा रामबाबु गिरी छन् । प्रसाईंले पूर्वाञ्चल क्यान्सर अस्पताल पनि सञ्चालन गर्दै आएका छन् । त्यसबाहेक उनको होटल, स्कुललगायतमा पनि लगानी छ । 

बि एण्ड सी अस्पतालले ६१५ जनालाई रोजगारी दिँदै आएको छ, जसमा ४६६ जना मेडिकल स्टाफ छन्। मेडिकल कलेज सञ्चालनको लागि अस्पतालले रेटिङ पनि गराएको छ । रेटिङअनुसार अस्पतालको दुई अर्ब ७० करोड ऋण लिने क्षमता रहेको छ । 

सोहीअनुसार अस्पतालले तत्कालिन एक अर्ब र दीर्घकालिन अवस्थाका लागि दुई अर्ब ६० करोड ऋण लिन अनुमति पाएको थियो । बि एण्ड सीले अंग्रेजी आर्थिक वर्ष २०२१–२२ मा एक अर्ब १९ करोड ६० लाख रुपियाँको कारोबार गरेको छ । 

रेटिङ एजेन्सी केयर रेटिङ नेपाल प्रा.लि.का अनुसार अस्पतालले सन् २०२०–२१ मा ८१ करोड ४० लाख र सन् २०१९–२० मा ५३ करोड ९० लाखको कारोबार गरेको छ ।

Advertisement

Advertisement