महालक्ष्मी लाइफको आईपीओमा लगानी गर्ने लगानीकर्ताको सपना तुइयो

Advertisement

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेस र प्रभु लाइफ इस्योरेन्स मर्जरमा जाने अन्तिम तयारीमा जुटेसँगै महालक्ष्मी लाइफले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने योजना अन्योलमा परेको छ । 

मर्जरमा जान समय घर्किंदै जाँदा आईपीओ निष्काशन गर्न कम्पनी दुविधामा परेको छ । महालक्ष्मी लाइफका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रामेश्वर श्रेष्ठले पनि आईपीओको निकाष्शनको संभावना टरेको स्वीकार गरे । 

Advertisement

उनले कर्पोरेट नेपालसँग भने, ‘हामीलाई बीमा प्राधिकरणले पनि अब मर्जर छिटो सक्न निर्देशन दिएको छ । सोही निर्देशनअनुसार मर्जरको तयारी गरिरहेका छौं । एक–दुई दिनभित्रै हाम्रो र हामीसँग मर्जरमा जान लागेको प्रभु लाइफको वित्तीय विवरण प्रकाशित हुन्छ । विवरण आउने बित्तिकै हामी पूर्णरुपमा मर्जरकै काममा लाग्छौं ।’ 

श्रेष्ठले चालु आर्थिक वर्षभित्रै मर्जर भइसक्नुपर्ने भएकाले आउँदो असार दोस्रो सातासम्म एकीकृत कारोबार गर्ने संभावना रहेको बताए । प्राधिकरणले मर्जर प्रक्रियामा रहेका बीमा कम्पनीहरुलाई आउँदो असारभित्र एकीकृत कारोबार गर्न समय थप गरेको छ । 

यता, नेपाल बीमा प्राधिकरणले महालक्ष्मी लाइफ  मर्जरमा जान कस्सिएकाले अब आईपीओ निष्काशनको संभावना नरहेको बताउँदै मर्जरपछि हकप्रद शेयर जारी गर्न दिने बताएको छ । महालक्ष्मी लाइफले आईपीओ जारी गर्ने आशामा लाखौ लगानीकर्ता प्रतिक्षामा रहेका थिए । त्यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्ड तथा बीमा प्राधिकरणसँग अनुमति समेत मागेको थियो । तर मर्जर प्रक्रियाले सो योजना अवरुद्ध भएको छ भने लगानीकर्ताको आशा तुहिएको छ । 

महालक्ष्मीसँग मर्जरमा जान लागेको प्रभु लाइफले यसअघि नै आईपीओ जारी गरिसकेको छ । महालक्ष्मी मर्जरमा गएपछि बन्ने कम्पनी पनि सर्वसाधारण जनताको लगानी भइसकेको कम्पनी बन्ने भएकाले महालक्ष्मीको यसअघिको योजनाअनुसार अब आईपीओ निष्काशन हुन नसक्ने प्राधिकरणको तर्क छ । केही समय अघि कर्पोरेट नेपालसँगको कुराकानीमा महालक्ष्मीका सीईओ रमेशकुमार भट्टराईले आईपीओ जारी गरेर मर्जर जान पाए नयाँ कम्पनी अझै ठूलो र बलियो हुने भएकाले आफूहरुले मर्जरमा जोड दिएको बताएका थिए । 

यदि आईपीओ निष्काशनमा लाग्ने हो भने मर्जर प्रक्रिया आउँदो दशैंभन्दा पछि हुने, यता प्राधिकरणले थपिएको असारभित्रको समयमा पनि मर्जरमा नगए कडा कारवाही गर्ने चेतावनी दिएकाले महालक्ष्मी लाइफको आईपीओको योजना अलपत्र परेको हो । महालक्ष्मी लाइफ र प्रभु लाइफबीच चालु आर्थिक बर्षको सुरुवातदेखि नै मर्जर प्रक्रिया अघि बढे पनि आईपीओ कै विषयले ढिलाई हुँदै आएको छ । 

हालसम्म १२ वटा बीमा कम्पनी मर्जरमा गइसकेका छन् । 

Advertisement

Advertisement