आर्थिक मन्दीको ठूलो झट्का पार्टी प्यालेसहरुलाई, ग्राहकले खाने कुरा कटौती गर्न थाले

Advertisement

काठमाडौं । पछिल्लो आर्थिक मन्दीको धेरै मार खेप्नेमा पार्टी प्यालेसहरु पनि पर्छन् । कोरोना महामारीपछि अर्थतन्त्रमा सुधार आउने आशामा रहेका पार्टी प्यालेस सञ्चालकहरु अहिले आर्थिक मन्दीको चपेटामा परेका छन् । 

पार्टी प्यालेजहरुमा आक्कलझुक्कल विवाह, ब्रतवन्ध जस्ता कार्यक्रम भए पनि त्युसले खर्च धान्नसक्ने अवस्था नरहेको नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका पूर्वअध्यक्ष अरुणशंकर वैद्यले बताए । उनका अनुसार अहिले ग्राहकहरुले विगतको भन्दा कम खाना अर्डर गर्ने, पहिला जस्तो तडकभडक र खर्च पनि गर्न नखोज्ने चलन बढेको छ । आर्थिक मन्दीले सबैलाई प्रभावित पारेकाले पनि ग्राहकहरुले यस्तो गरेको हुनसक्ने वैद्यको विश्लेषण छ । 

Advertisement

पार्टी प्यालेसहरुको संख्यात्मक वृद्धिसँगै उनीहरुबीच प्रतिस्पर्धा बढ्दा धेरै अहिले आर्थिक संकटमा परेका छन् । वैद्यले भने, ‘आर्थिक गतिविधि सुस्ताएकाले पनि होला, मानिसहरुले कार्यक्रम गरिहाले पनि पहिला जस्तो मानिस बोलाउँदैनन् । खर्च कम गर्ने हिसावले खाने कुराका आइटमहरु पनि घटाउने प्रवृत्ति बढेको छ । यही बेलामा बजारमा खाद्यान्नको भाउ पनि आकाशिएको छ । ग्राहक नघटुन भनेर मूल्य पनि बढाउनसक्ने अवस्था छैन् । खर्च भने बढेको बढ्यै छ । कसरी चल्न सकिन्छ र ? धेरैको समस्या यही हो ।’  

आर्थिक मन्दीको अवस्था अझै धेरै समय कायम रहे यसले अर्थतन्त्र, उद्योग व्यवसाय चौपट हुने चिन्ता उनको छ । यो संकटलाई सरकारले चाँडै समाधान गर्नुपर्ने वैद्यको भनाई छ । 

नेपालटारस्थित कान्तिपुर पार्टी  प्यालेसका सञ्चालक अर्जुन पन्तले विशेष सिजनमा आफूहरुले व्यापार गरेर व्यवसाय चलाउने गरे पनि सोही सिजनमा व्यापार कम हुने गरेको गुनासो गरे । उनले भने, ‘मन्दीको समस्याले हामीलाई पनि नछोएको होईन । पछिल्ला दिनमा सिजनमा हुने व्यापार पनि घटेको छ । बाहिरबाट हेर्दा पार्टी प्यालेसमा भरिभराउ भए पनि खानाको परिकारमा ग्राहकले कन्जुस्याइँ गर्न थालेका छन् ।’ 

खानाका परिकारबाट नै आफूहरुलाई फाईदा हुने भएकाले परिकार घट्ने बित्तिकै फाइदा कम हुने पन्तले बताए । उनले पहिलाको दाँजोमा व्यापार आधैले घटेको बताए । 
   
नागार्जुन इभेन्ट म्यानेजमेन्ट एण्ड पार्टी प्यालेसका सञ्चालक माधव थापाले कोरोना महामारीअघि व्यापार राम्रो हुने गरेको भए पनि अहिले भने निकै घटेको बताए । उनले कोरोनाअघि सिजनमा मासिक एक करोड ५० लाख रुपियाँसम्मको कारोबार गरेको सुनाए । अहिले भने मासिक ५०–६० लाखको कारोबार गर्न पनि मुस्किल रहेको थापाको भनाई छ । 

सिजनको पाँच महिनामा हुने व्यापारले काम नहुने अरु महिना चल्नुपर्ने बाध्यता आफूहरुको रहेको उनले बताए । थापाले पार्टी प्यालेसमा व्यापार घट्ने समस्या मात्रै नभएर लाखौं रुपियाँ उधारो उठ्न बाँकी हुँदा चल्न गाह्रो हुने गरेको बताए । 
 
थापागाँउको कृष्णभोग पार्टी प्यालेका सञ्चालक एकराज आचार्यले मानिसले आफ्नो कमाई हेरेर खर्च गर्ने भएकाले अहिले कमाई घटेको बेला भएकाले त्यसको असर आफूहरुलाई पनि परेको बताए । ग्राहकहरुले पहिला जस्तो बाहिरी तडकभडकमा खर्च गर्न छोडिसकेको आचार्यको भनाई छ । पछिल्लो समयमा विवाह, व्रतवन्ध भए पनि त्यसले खर्च धान्न नपुग्ने अवस्था रहेको उनले बताए । 

 गत वर्षको व्यापार भन्दा यस वर्षको व्यापार कम भएको बालुवाटारको एलिस रिसेप्सनका सहायक प्रबन्धक निर्मल खड्काले बताए । उनले व्यापार कम हुनुमा लगनको  कमी पनि एउटा कारण भएको बताए । ग्राहकले भोज गर्दा भोजनका परिकार घटाउन थालेको सुनाउँदै उनले कोरोना महामारीपछि व्यवासाय केही लयमा आए पनि जति हुनुपर्ने हो, त्यति हुन नसकेको बताए । 

खड्काले चैत्रमा आफ्नो पार्टी प्यालेसले एक करोड रुपियाँको व्यापार गरेको बताए । बैशाखमा दुई करोड रुपियाँको व्यापार हुने उनले अनुमान छन् । एलिस रिसेप्सन बढी चलेको पार्टी प्यालेसको रुपमा चिनिन्छ ।   
 

Advertisement

Advertisement