सिजनमा समेत व्यापार नहुँदा महाबौद्धका व्यापारी निराश, बैंकको चर्को ब्याज अर्को चिन्ता

Advertisement

काठमाडौं । गर्मी सुरु भएसँगै राजधानीको व्यापारिक केन्द्र महाबौद्धमा भीडभाड हुनुपर्ने हो । तर आर्थिक मन्दीले गर्दा व्यापारको सिजनमा समेत महाबौद्धका पसलहरुमा चहलपहल छैन् । ग्राहको पर्खाइमा रहेका व्यापारीहरु निराश देखिन्छन् । 

महाबौद्धका थोक व्यापारीहरुबाट देशका अधिकांश जिल्लाका व्यापारीहरुले सामान किनेर लान्छन् । आर्थिक मन्दी बढेसँगै आर्थिक गतिविधि घटेर गएको छ । उपभोक्ताले पहिला जस्तो खुलेर खर्च गर्न छोडेका छन् । 

Advertisement

व्यापारको सिजन सुरु हुँदा पनि व्यापार हुने सुरसार नदेखिएपछि व्यापारी निराश भएका हुन् । उनीहरुलाई एकातिर बिक्री घटेको चिन्ता छ भने अर्कोतर्फ बैंकको चर्को ब्याजले तनाव छ ।

रमेश गुरुङले विगत सात वर्षदेखि छाताको व्यापार गर्दै आएका छन् । वर्खाको सिजन सुरु हुन लाग्दा पनि छाताको व्यापार खासै हुन सकेको छैन् । कोरोना महामारीभन्दा अघि सिजनमा दैनिक ३० हजारदेखि ५० हजार रुपियाँको व्यापार गर्ने उनलाई अहिले दैनिक १० हजारको व्यापार गर्न पनि मुस्किल हुने गरेको छ । 
 
विराटनगरका प्रविण अग्रवालले आठ वर्षदेखि कुमारी यार्केटमा पङ्खाको थोक व्यापार गर्दै आएका छन् । पङ्खाको माग बढि हुने समयमा समेत यसको व्यापार गर्न कठिन हुने गरेको उनले सुनाए । विगत एक बर्षदेखि राम्रो व्यापार गर्न नसकेको सुनाउँदै अग्रवालले गत बर्ष यही बेलामा दैनिक ४० हजारदेखि ५० हजार रुपियाँसम्मको व्यापार गरेकोमा अहिले सरदर पाँच हजार रुपियाँ जति मात्रै व्यापार हुने गरेको बताए । 

हाल मन्दीको कारण साँझसम्म पनि बोहोनी नहुने गरेको अग्रवालले बताए । उनले खर्चहरु बढ्दै जाने तर व्यापार घट्दै जाने परिस्थितिले आफूहरुलाई टिक्न कठिन अवस्था आएको बताए । 

महाबौद्धमा विगत १३ बर्षदेखि र्यानकोटको व्यापार गर्दै आएका राजेश श्रेष्ठको समस्या पनि उस्तै छ । कोरोना महामारीभन्दा अगाडि दैनिक ४० हजार रुपियाँको व्यापार हुने गरेकोमा अहिले व्यापार खुम्चिएर पाँच हजारमा सीमित भएको बताए । श्रेष्ठले भने, ‘अहिले बजारमा हेर्नु चहलपहल नै छैन् । अहिले त खुट्टा टेक्ने ठाउँ हुँदैन्थ्यो पहिला ।’ देशमा उद्योग व्यापारमा संकट आउनुको कारण   राजनीति भएको बताए । 

गर्मी  महिना सुरु भएसँगै लामखुट्टे लाग्ने समस्या बढी समस्या हुन्छ । त्यसबाट बच्न मानिसहरुले यतिबेला निकै झुल किन्ने गरे पनि अहिले पनि बिक्री सामान्य रहेको बिगत १० बर्षदेखि महाबौद्धमा झुलको व्यापार गर्दै आएका सविन कर्माचार्य बताउँछन् । उनले झुल किन्न आउने व्यापारी आधैले घटेको बताए । 

Advertisement

Advertisement