बीमा क्षेत्रकै ठूलो मर्जरः ‘अब बीमा कम्पनीहरुले अब्बल नतिजा तय गर्नुपर्छ’

Advertisement

काठमाडौं । हिमालयन लाइफ  इन्स्योरेन्सले तीन ठूला जीवन बीमा कम्पनीहरु एकीकृत गरेर बीमा क्षेत्रकै ठूलो मर्जरको रेकर्ड बनाउन सफल भएको छ । 

एकीकृत कारोबार शुभारम्भको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले यो मर्जर नेपालको मात्र नभई विश्वकै ठूलो मर्जर भएको र आफूहरुले ठूलो सफलता हात पार्न सफल भएको दाबी गरे । 

Advertisement

सिलवालले भने,‘तीनवटा कम्पनी जोडिने भनेको तीन जना मान्छे जोडिएको जस्तो होइन रहेछ । यो भनेको त तीन वटा संस्कार एकसाथ जोडिने कुरा रहेछ । यस्तो मर्जरको म आफैँ पनि सबैभन्दा ठूलो साक्षी हुँ । अब बल्ल मर्जरका सफलताका कथा सुरु भए । अब मर्जरपछिका गन्तव्यमा पनि बीमा कम्पनीहरु लाग्नु पर्छ । हामीले त मर्जरमा सहयोग गर्यौ, अब बीमा कम्पनीहरुले अब्बल नतिजा तय गर्नु पर्ने बेला आएको छ ।’

सिलवालले थपे,‘अब मर्जर पछि हामीले कम्पनीहरुका कामलाई नजिकबाट नियाल्छौं । मर्जर भइसकेकाले यसमा अब कुनै पनि प्रश्न नआओस् । बीमा कम्पनीहरुको क्षमता सफल÷ असफल हुँदा त्यसमा हामी पनि जोडिन्छौं । अहिले बीमा कम्पनीहरुले पुराना पोलिसी बेच्ने भन्दा पनि नयाँ नयाँ किसिमका बीमा योजना ल्याउनु पर्ने बेला पनि आएको छ । अझ भनौं बीमा कम्पनीहरुको लगानी पनि थप उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु पर्ने बेला आएको छ । बजेटले पनि बीमा क्षेत्रलाई प्राथमितामा राखोस् भन्ने हामी सबैको चाहना छ । अहिले बेला पनि ठिक्क भएको छ, बैंकको नै जोखिम बहन गर्ने बीमालाई सरकारले हेर्ने नजर पनि अब केही परिवर्तन होला जस्तो मलाई पनि लागेको छ ।’ 

त्यसैगरी नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पनि मर्जरले बीमा कम्पनी र लगानीकर्ताहरुलाई मात्र नभई बीमितहरुलाई नाफा पुग्नु पर्ने र त्यो नतिजा देखिने किसिमको हुनुपर्ने बताए । उनले बीमामा सहजता, सस्तोपन र जोखिमांकनमा नागरिकले पाउने सास्ती अबका दिनमा हट्नु पर्ने धारणा राखे ।

त्यस्तै, हिमालयन पुनर्बीमा कम्पनीका संचालक शेखर गोल्छाले पनि अब आर्थिक क्षेत्रले लगानीकर्तामा सकारात्मक सन्देश दिनु पर्ने धारणा व्यक्त गरे । उनले बीमा कम्पनीको चुक्ता पुँजी बढेको बेलामा अन्य पुर्वाधार र बीमितको विश्वासमा बैंक जतिकै भरपर्दौ बन्न जरुरी रहेको औंल्याए ।

हिमालयन लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार लाल कर्णले शुभकामना मन्तव्य दिँदै अब आफूहरु जोखिम बहनमा अब्बल भएको र बीमितले पाउने सेवा थप उत्कृष्ट बन्दै जाने दाबी गरे । उनले बीमा प्राधिकरणले पनि धेरै सहयोग गरेकाले आगामी दिनमा आफूहरुले कम्पनीका सूचांक थप उच्च बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा ​हिमालयन लाइफ इन्स्योरेन्सका संचालक विवेक दुगडले मर्जरका लागि आफूहरुले धेरै चुनौतीको खेप्नु परे पनि ठूलो सफता हाँसील गर्न चुनौतीलाई भन्दा पनि सफलतालाई आत्मसाथ गर्दै अघि बढेको अनुभव सुनाए । 

कार्यक्रममा बीमा क्षेत्रका अन्य कम्पनीका सीईओ, नेपाल पुनर्बीमा कम्पनीका सीईओ, डीसीईओ लगायत विशेष कर्मचारीहरु उपस्थित थिए ।

मर्जरबाट बनेको हिमालयन लाइफ बन्यो बीमा क्षेत्रकै दोस्रो ठूलो कम्पनी, चाँडै पहिलो बन्नसक्ने

Advertisement

Advertisement