नेपालको भूभाग र मौसमअनुसार उडान गर्न पाइलटहरू बढी दक्ष र अनुभवी चाहिन्छः क्षेत्री

Advertisement

काठमाडौं । नेपालका आन्तरिक सेवाका वायुसेवा कम्पनीहरुमा बारम्बार प्राविधिक समस्या आउने गर्छ । दुर्घटनासमेत हुने गरेका छन् । यस्ता घटनाले हवाई यात्रा गर्नेहरुमा त्रास बढ्दै गएको छ । 

विश्वमै हवाई सेवालाई सुरक्षित यात्राको माध्यमको रुपमा लिइए पनि नेपालमा भने किन यस किसिमले प्राविधिक समस्या र दुर्घटनाका घटनाहरु हुने गर्छन् ? गम्भीर प्रश्नको विषय बनेको छ । जबकी नेपालमा पछिल्लो समयमा हवाई जहाजमार्फत यात्रा गर्ने यात्रुहरुको संख्या उल्लेख्यरुपमा वृद्धि भएको छ । 

Advertisement

वरिष्ठ क्याप्टेन कृष्णविक्रम क्षेत्रीले नियमित मर्मत संभार र नियामकको अनुगमनको कमजोरीले यस्तो समस्या र दुर्घटना बढी हुने गरेको बताए । उनले भने, ‘मुख्यतया विमानको मर्मत संभार म्यानुअलअनुसार नै गर्नुपर्छ । त्यसमा आवश्यकताअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले केही थप गर्छन् । एयरक्राफ्टहरुलाई व्यवसायिक इन्जिनियरले राम्रोसँग मर्मत गर्न आवश्यक छ । क्यानले बारम्बार सुपरीवेक्षण गर्न आवश्यक छ ।’ 

सम्भव भएमा वायुसेवा कम्पनीहरुको लेखापरीक्षण प्रतिवेदन पनि प्रकाशित गर्नुपर्ने बताउँदै क्षेत्रीले त्यसका आधारमा यात्रुलाई सबैभन्दा सुरक्षित वायुसेवामा उडान गर्ने विकल्प हुने तर्क गरे । इन्जिनियर, पाइलटहरूले नियमित रूपमा आवश्यक तालिम लिनुपर्ने उनको भनाई छ । 

क्षेत्रीले थपे, ‘हवाइजहाजका पार्टपुर्जाहरू केही समय आधारित हुन्छन् । केही साइकल, जस्तै ल्यान्डिङ गियर, केही घन्टा घन्टामा आधारित इन्जिन हुन्छन् । त्यसैले यसलाई त्यहीअनुसार मर्मत गरिराख्नुपर्छ । नेपालको भूभाग र मौसमको अवस्थाका कारण यहाँ उडान गर्नु चुनौतीपूर्ण छ । त्यसैले यहाँ उडान गर्न पाइलटहरू बढी दक्ष र अनुभवी हुनु आवश्यक छ ।’ 

अहिले प्राधिकरण पहिलाभन्दा बढी प्रभावकारी र सतर्क देखिन थालेको क्षेत्रीले बताए । उनले प्राधिकरण अझै प्रभावकारी हुन आवश्यक छ भन्दै प्राधिकरणले विमानको प्राविधिक समस्याको बारेमा जनतालाई जानकारी दिनुपर्ने बताए । यस्ता किसिमका घटनाहरु न्यूनीकरण गर्न एयरलाइन्स, पाइलट, इन्जिनियर संयुक्त रूपमा र प्राधिकरणसँग नजिकको समन्वयमा काम गर्नुपर्ने बताए । 

यही गत बैशाख २२ गते संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परि क्याप्टेन सुरेन्द्र पौडेल, सहयोगी मनोज थापा, छिरिङ भोटे र विद्युत प्राधिकरणका कर्मचारी विक्रम गुरुङ घाइते भएका थिए भने स्थानीय भविन गुरुङको मृत्यु भएको थियो । 

बैशाख २५ गते भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाजको अगाडिको ल्यान्डिङ गियरमा समस्या देखिएपछि बीचबाटै भैरहवा विमास्थल फर्किएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट भैरहवा उडान लागेको बुद्ध एयरको जहाजमा उड्न लागेको बेला ‘इण्डिकेटर’ मा समस्या देखिएपछि जहाज धावन मार्गबाटै पार्किङमा फर्किएको थियो । त्यसअघि गत माघ १ गते यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना हुँदा ठूलो मानवीय क्षति भएको थियो । 

त्यस्तै, अन्तर्राष्ट्रिय उडानको जहाजमा पनि प्राविधिक समस्या देखिएको थियो । बैशाख महिनामै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नासाथ प्राविधिक समस्या देखिएको फ्लाई दुवईको दाइने इन्जिनमा समस्या आएका कारण भयानक आवाज आएको थियो । 

प्राविधिक समस्या देखिएको दिन उक्त विमानको इन्जिन फेल भएको भनिएको थियो भने पछि चरा ठोक्किएको भनेर फ्लाई दुवईका प्रवक्ताले गलत सुचना प्रवाह गरेका थिए । युरोपियन युनियनले अझै पनि नेपालको आकाशलाई जोखिमपूर्ण औंल्याउँदै आएको सन्दर्भमा यस्ता प्राविधिक समस्या र दुर्घट्नालाई न्यूनीकरण गरिनुपर्नेमा बढ्दै जाने कुराले झन चिन्ता बढाएको छ । 

Advertisement

Advertisement