विपन्न वर्गको आधार बन्दै ‘निःशुल्क कपडा बैंक’, तर राज्यबाटै सहयोग भएनः पन्त

Advertisement

काठमाडौं । पाल्पाका विमल पन्तले विगत पाँच वर्षदेखि ‘निःशुल्क कपडा बैंक’ सञ्चालन गर्दै आएका छन् । कपडा बैंकमा कपडा हुनेले नहुनेका लागि दिन्छन् । यस सामाजिक कार्यमा ५० जनाको समूह छ, जसको नेतृत्व पन्तले गर्छन । 

उनले ७५ हजार रुपियाँ लगानीबाट यो कार्यको सुरुवात गरेका थिए । कपडा बैंकमा जोकोहीले कपडालगायतका सामान ल्याएर दिनसक्छन्, जहाँबाट न्यून आयस्तरका मानिसहरुले ती सामान लिएर जान्छन् वा लगेर दिइन्छ । ‘कपडा बैंक गरिबले लैजाने र धनीले दिने केन्द्र मात्र होइन, आवश्यकता भएकाले लैजाने र आवश्यकता भन्दा केही बढि भएकाले दिने हो’ पन्तले भने । 

Advertisement

पन्त नेतृत्वको समूहले हुम्ला ,जुम्ला, दैलेख, बाजुरा, बैतडीलगायत विभिन्न जिल्लामा कपडा वितरण गर्दै आएको छ । यसरी एक पटक दुर्गम जिल्लाहरुमा कपडा वितरण गर्न जाँदा ७० हजारदेखि एक लाख रुपियाँसम्म खर्च लाग्ने गरेको उनले बताए ।

पन्तले कोरोना महामारीअघि सञ्चालनमा ल्याएका ८० वटा कपडा बैंक संरक्षणको अभाव र सरकारी नियामकहरुका कारण बन्द गर्नुपरेको बताउँदै अहिले भने अनामनगर, बसुन्धरा दुई स्थानबाट कपडा वितरण गर्दै आएको जानकारी दिए । दुई स्थानमा कपडा गोदामको भाडावापत उनले मासिक ३० हजार रुपियाँ तिर्नुपरेको छ । 

कपडा बैंकमार्फत प्रयोग गर्न मिल्ने सिरक, डसना, तन्ना जस्ता कपडाका साथै मानव जीवनमा प्रयोगमा आउने सामानहरु संकलन र वितरण गरिन्छ । बाढी, पहिरो, आगलागी पीडितलाई पनि कपडा बैंकले सहयोग गर्दै आएको छ ।

विदेशमा रहेका सहयोगी दाताहरुले जापान, अमेरिका, बेलायत जस्ता मुलुकबाट पठाइदिएका कपडालगायतका सामग्रीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले रोकिदिएर विमानस्थलमै कुहिन थालेपछि आफूहरुले पठाउन छोड्न आग्रह गर्नुपरेको पन्तले सुनाए । वितरण गर्न राखिएका तीन सय सिरक, डस्ना, पाँच हजार थान मानिसले लगाउने कपडा काठमाडौं महानगरपालिकाले उठाएर लगेको उनले गुनासो पनि गरिन् । 

धार्मिक  परिवारमा हुर्किएकी पन्त सानैदेखि सामाजिक कार्यमा रुची राख्थिन् । उनी भन्छिन्, ‘सेवा गर्नका लागि नशा र रगतमा हुनुपर्ने कुरा हो । कसैले गर्छु भनेर हुने कुरा होइन । हामीले अघि बढाएको देशमा भोका, नाङ्गामुक्त अभियान निरन्तर जारी रहने छ ।’ 

सरकारले गर्नुपर्ने काम आफूहरुले आफ्नो खर्चमा गर्दै आएको पन्तले बताए । वर्षमा एक लाख ५० हजारसम्म घरपरिवारलाई निःशुल्क कपडा वितरण गरेका उनले हरेक हप्ता विभिन्न जिल्लामा कपडा पठाउने गर्छन् । राजधानीभित्रका ईट भट्टामा काम गर्ने मजदुरदेखि सिंहदरबारको संसद भवन निर्माण गर्ने मजदुसम्मलाई लगाउने कपडा दिएको पन्तले जानकारी दिए । 

उनले केही समयअघि आगलागी पीडित बाँकेका १२० घरलाई सिरक डस्ना वितरण गरेकी थिए । पन्तले थपे, ‘हरेक नेपालीको शरिरमा कपडा होस् । कुनै दुःखी गरिबले कपडा लगाउन नपाएर जाडोयाममा मृत्युको मुखमा पुग्ननपरोस भन्ने हाम्रो चाहना हो । यो मैले फाइदाका लागि होइन्, आत्मसन्तुष्टिका लागि गरेको हो । गरिव, दुःखी, मजदुरले कपडा किन्ने पैसाले कलम, कापी, खाद्यान्र, उपचार गर्नसक्छन् ।’

Advertisement

Advertisement