उधारो कारोबारको मनोजको पीडादायिक विगत

टिकटकबाट चर्चा कमाएका व्यवसायी मनोज केसीको चर्चित ब्राण्ड ‘फुट स्टेप’

Advertisement

काठमाडौं । टिकटकबाट चर्चित बन्नेहरुमा एउटा अर्को नाम हो मनोज केसी । उनी पेशाले एक सफल व्यवसायी हुन् । पेप्सीकोला सनसिटीमा केसीले ‘‘फुट स्टेप’ ब्राण्डका जुत्ता उत्पादन तथा बिक्री गर्दै आएका छन् । 

पाँच जना मिलेर ९० लाख रुपियाँ लगानीमा सुरु गरेको यो व्यवसाय दश वर्ष पूरानो हो । अहिले ‘फुट स्टेप’ धेरै नेपालीमाझ परिचित ब्राण्ड बनिसकेको छ । आकर्षण पनि बढ्दो छ । उनै केसी अहिले राजधानीको भृकुटीमण्डपमा जारी बृहत जुत्ता चप्पल मेलामा सहभागी छन् । 

Advertisement

फुड स्टेप उद्योगमा अहिले २५ जनाले रोजगारी पाइरहेका छन् । यद्यपि कोरोना महामारीले गर्दा उद्योगले केही धक्का सहनुपर्यो । केसीले भने, ‘कोभिड महामारीअघि आठ स्थानमा जुत्ताको शोरुम रहेकोमा अहिले तीन स्थानमा मात्रै सीमित गरेका छौं । व्यापार सुस्ताएपछि सटर भाडा तिर्न  समस्या भयो ।’ 

उनको आफ्नो कारखानामा दर्जनौ प्रकारका जुत्ता उत्पादन हुने गरेको बताए । केसीले जुत्ताको मूल्य एक हजारदेखि एक हजार दुई सय रुपियाँसम्म पर्ने सुनाए । व्यवासायबाट मासिक तीस लाखदेखि तीन लाख ५० हजारसम्मको कारोबार गर्दै आएका उनले छालाको जुत्ताको लागि पाकिस्थान, इण्डियाबाट छादा । सोल र जुत्ताको धागो चीनबाट आयात गर्दै आएका छन् । 

उधारो कारोबारको पीडादायक विगत
व्यवसायी केसीले जुत्ताको ब्राण्डिङ आफै गर्दै आएका छन् ।  सुरुमा उद्योग खोल्दा धेरै संघर्ष  गर्नुपरेको अनुभव सुनाउँदै उनले जुत्ता कारखाना खोल्न ठाँउ नपाएको, जुत्ताको बारेमा व्यवहारिक ज्ञान र सीप आफूसँग नहुँदा झन्झट भोग्नुपरेको बताए । 

केसीले भने, ‘चिनजानकै सुरेश भण्डारी भाईले गर्दा कम्पनी खोलेको हो । भण्डारी भाईलाई जुत्ताको राम्रै ज्ञान थियो । उसलाई भेटेपछि मलाई सहज भयो । कारखाना भाईले नै चलाउन सक्छु भनेपछि उसकै भरमा खोलेको हो ।’ 

उद्योग खोले पनि बजारीकरण कसरी गर्ने भन्ने समस्या आएको र आफूहरु धेरैतिर भौंतारिँदै हिंडेको बताउँदै उनले भने, ‘नयाँ उत्पादनको लागि त्यति साथ र समर्थन नमिल्ले । हामी नयाँ जुत्ता उत्पादन गरेर बजारमा पुग्दा अरु कम्पनीले ठाँउ ठाँउमा जुत्ता झारिसक्थे । अरुले जुत्ताहरु व्यापारीहरुलाई उधारोमा दिने भएकाले हाम्रो नयाँ उत्पादन पनि उनीहरुले त्यसरी नै खोज्थे ।’ 

सुरुमा आफूहरुले ४० वटा भन्दा बढी पसल राखेका व्यापारीलाई दिएको सुनाउँदै केसीले अहिले पनि बजारबाट एक करोड ५० लाख रुपियाँ उधारो उठाउन बाँकी रहेको बताए । उनले भने, ‘बजारबाट उधारो नउठेर कतिले त व्यापार नै छोडिसके । कोही व्यापारी बोल्न छाडे । कोही भोली दिन्छु भन्दै टार्छन् । यस्तो उधारो कारोबार नियन्त्रण गर्न त सरकारले कडा नियम ल्याउनुपर्ने हो । यसले गर्दा सबै व्यापारीहरुको लागत बढेको छ । अनावश्यकरुपमा बैंकबाट ऋण लिएर पैसा सापटी मागेर व्यवसाय गर्नुपर्ने बाध्यता भएको छ ।’

केसीले व्यवसाय सुरु गर्दाताका अहिलेको जस्तो चेकबाट कारोबार  गर्ने चलन कम थियो । न सामान दिएपछि खुद्रा व्यापारीहरुले न तत्कालै नगद दिन्थे, न चेक लिने चलन थियो । धेरै उधारो दिनसक्ने अवस्था थिएन् । कारखाना भरी ७० लाख रुपियाँ जतिको उत्पादित जुत्ता थुप्रिएको थियो । यस्तोसम्म स्थिति आयो कि जुत्ता कारखाना नै बन्द गर्नुपर्ने अवस्था भयो । एक स्थानबाट पनि पैसा नआएपछि थप उधारो दिने कुरा भएन् भन्दै उनले उधारो नउठेर नगद अभाव भएपछि तीन वटा सहकारी संस्थाबाट चर्को ब्याजदर तिर्नेगरी लाखौं रुपियाँ ऋण लिनुपरेको बताए । 

केसीले भने, ‘नगदको अभावले गर्दा धेरै तनाव सिर्जना भयो । बजारबाट उधारो नउठ्ने । थप उधारो पनि दिन नसकिने । कम्पनीसँग पैसा नभएपछि थप उत्पादन गर्न पनि गाह्रो भयो । दैनिक खर्च कसरी धान्ने ? भन्ने परिस्थिति हामी लगानीकर्ताबीच पनि मनमुटावको स्थिति आउन थाल्यो । शेयर बजारमा गरिएको शेयर बिक्री गर्दै उद्योग चलाउन थाल्यौं ।’

छ वर्षअघि दशैंअघि भृकुटीमण्डपमा जुत्ताचप्पल मेला लाग्दा केसीले पनि सहभागी भएर जुत्ता बेच्ने निर्णयमा पुगे । खुद्रा व्यापारीलाई उधारोमा सामान दिएर आफ्नो व्यवसाय धरापमा पार्नुभन्दा उनले पनि आफै जुत्ता बेच्न थाले । उक्त मेलामा एक बर्षभरी हुने व्यापार त्यही दुई महिनामा भएपछि केसी र उनको टिममा नयाँ उत्साह र आशा जाग्यो । अहिले उनको व्यवसाय कोरोना महामारी र आर्थिक मन्दीका विषम परिस्थितिमा पनि निराशाजनक छैन् । 

Advertisement

Advertisement