अर्थतन्त्रमा कैयन समस्या हुँदा पनि अहिलेसम्म देश टाट पल्टिने अवस्था आएको छैन्ः श्रेष्ठ

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले नेपालमा लगानी ल्याउनका लागि आवश्यक नीतिगत सुधार, सरकार तथा कर्मचारीतन्त्रमा खुला तथा उदार सोचका साथै नेपालमा लगानीका क्षेत्रसम्बन्धी प्रचारप्रसार आवश्यक रहेको बताएका छन् । 

नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा उनले नेपालको अर्थतन्त्र मुद्रास्फीतिलगायतका समस्याका बाबजुद पनि स्थिर रहेको, अर्थतन्त्रमा कैयन समस्या हुँदा पनि अहिलेसम्म टाट पल्टिने अवस्था नआएको बताएका छन् । 

Advertisement

नेपालको विकासका लागि ठूलो मात्रामा लगानी आवश्यक रहेको श्रेष्ठले बताए । त्यसका लागि आन्तरिक स्रोत पर्याप्त नभएको उनले बताए । श्रेष्ठले भने, ‘हामीसँग विकासका लागि पर्याप्त आन्तरिक स्रोत नभएको अवस्थामा विदेशी लगानी आवश्यक छ । यसका लागि ग्रीन फाइनान्सिङ, प्रत्यक्ष विदेशी लगानी तथा ब्लेन्डेड फाइनान्समार्फत लगानी ल्याउन सक्नुपर्छ ।’

श्रेष्ठले नेपालको जलविद्युत्, पर्यटनलगायतका क्षेत्रमा लगानी आवश्यक रहेको भनाइ राखे । उनले विदेशी लगानी ल्याउनका लागि सहज वातावरण निर्माणमा ध्यान दिनुपर्ने बताए । श्रेष्ठले थपे, ‘नीतिगत सुधार रातारात हुँदैन् । तर अहिलेदेखि नै सुधार गर्नुपर्छ ।  अहिलेको आवश्यकता विदेशी लगानी ल्याउनमा केन्द्रीत हुनुभन्दा पनि धान्नसक्ने क्षमता बढाउनुपर्नेमा हुनुपर्छ ।’

इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिजका कार्यकारी निर्देशक डा. विश्वास गौचनले नेपालमा ‘कस्ट अफ डुइङ’ उच्च भएकोले लगानी ल्याउन नसकिएको बताए । उनले भने, ‘नेपालमा श्रमिकको पारिश्रमिक र कस्ट अफ डुइङ अन्य देशको तुलनामा बढी छ । विदेशी लगानी ल्याउनका लागि यस्ता क्षेत्रमा सुधार आवश्यक छ ।’

गौचनले चीन र भारतसँग उत्पादन क्षेत्रमा प्रतिष्पर्धा गर्न नसक्ने भन्दै नेपालले सेवामूलक क्षेत्रमा लगानी बढाउन सके फाइदा पुग्ने बताए । उनले विगत ३० वर्षयता राजनीतिक संक्रमणकालका कारण पनि पर्याप्त विदेशी लगानी ल्याउन नसकिएको धारणा राखे ।

समृद्धि द प्रोस्पेरिटी फाउन्डेसनका अर्थशास्त्री अर्पिता नेपालले हामीलाई कस्तो खालको विदेशी लगानी आवश्यक हो ? त्यसमा स्पष्ट हुनुपर्ने बताइन् । 

उनले ग्वाटेमाला र भियतनामको उदारहण दिँदै नेपालले कुन क्षेत्रमा लगानी आवश्यक छ ? सोहीअनुसार लगानी ल्याउन प्रयास गर्नुपर्ने बताइन् । नेपालले क्रेटिट रेटिङ तथा पुँजी नियन्त्रणलगायतका समस्याले अपेक्षाकृतरुपमा नेपालमा लगानी ल्याउन नसकिएको बताइन् । 

अर्थमन्त्रालयका सह–सचिव श्रीकृष्ण नेपालले नेपालमा लगानी ल्याउनका लागि नीतिगत स्थिरतामा ध्यान दिनुपर्ने बताए । उनले निजी क्षेत्र पनि विदेशी लगानी ल्याउने विषयमा उदार हुनुपर्ने भन्दै विदेशी लगानी आउँदैमा सुरक्षा जोखिम हुन्छ भन्ने गरी धारणा राख्न नहुने बताए ।
     
नेपालको कुल ग्राहस्थ उत्पादनको औसतमा दुई प्रतिशत विदेशी लगानी भएको नेपालले बताए । उनले भने, ‘३० लाखभन्दा बढी जनसंख्या विदेशमा छ । अर्थतन्त्र रेमिट्यान्सले धानेको अवस्था छ । हामीलाई दिगो विकासका लक्ष्य पूरा गर्नका लागि प्रत्येक वर्ष पाँच खर्ब रुपियाँ आवश्यक छ । त्यसका लागि पनि विदेशी लगानी आवश्यक छ ।’

Advertisement

Advertisement