जिराको मूल्य छ महिनामै किलोको ५५० बाट ९५० पुर्याइयो, उपभोक्ता अधिकारवादी भने मौन

Advertisement

काठमाडौं । जिराको मूल्य छ महिनामै किलोको चार सय रुपियाँले बढेको छ । हरेक भान्सामा नभई नहुने मसलाको मूल्य आकाशिँदा उपभोक्ता मारमा परेका छन् । 

नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले भारतमा जिरा उत्पादन कम हुँदा नेपाली बजारमा ह्वात्तै मूल्यवृद्धि भएको बताए । जिरा एक वर्षीय मसला वाली भएकाले पनि सिजनअनुसार यसको मूल्य घटबढ हुने गरेको थियो । तर यस पटक भने  अस्वाभाविकरुपमा यसको मूल्यवृद्धि हुँदा भान्सा महंगो हुन पुगेको हो । 

Advertisement

छ महिनाअघि किलोको ५५० रुपियाँमा बिक्री हुँदै आएको जिरा आज (जेठ २) आज किलोको ९५० रुपियाँ पुगेको छ । छ महिनाको बीचमा ८० प्रतिशतले मूल्य वृद्धि भए पनि उपभोक्ता अधिकारवादीहरु भने मौन रहँदै आएका छन् । 
 
तुलाधरले भने, ‘भारतमा जिरा आयात गर्दा पर्ने लागतका आधारमा नेपालमा मूल्य तय हुने हो । खुद्रा व्यापारीले बढाउने होइन् । ठूला व्यापारीहरुले एउटा एउटा कारण देखाएर मूल्य बढाउँछन् । ठूला व्यापारीहरुले भनेअनुसार भारतमा उत्पादन कम भएर मूल्य बढेकोले नेपालमा पनि बढेको हो । उनीहरुले बिक्री गर्ने मूल्यमा नै हामीले राख्नमिल्ने मार्जिन राखेर उपभोक्तालाई बिक्री गर्ने हो ।’

उनले थपे, ‘ठूला व्यापारीले विभिन्न बहाना बनाएर मूल्यवृद्धि गर्छन् । ढुवानी लागत बढ्यो भन्छन् । कर बढ्यो भन्छन् । आयात महंगियो भन्छन् । उत्पादन कम भयो भन्छन् । पूरानो मौज्दातका सामान पनि मूल्य बढाएर बेच्छन् । सही हो हाइन् ? सरकारले हेर्ने कुरा हो । यसमा साना व्यापारीको हात हुन्न ।’ 

विश्वभर बढी मात्रामा प्रयोग हुने जिरा औषधिको रुपमा पनि प्रयोग गर्ने गरिन्छ । घाटी दुखेको, रुघाखोकी लागेको, कलेजो र आन्द्रा सुन्निएमा यसको प्रयोग गर्ने प्रचलन छ । जिराबाट क्युमिनोल वा क्युमिक अल्डिहाईड नामक तेल निस्कन्छ ।

जिराको मूल्यसँगै अहिले ज्वानोको मूल्य पनि बढेको छ । गएको मंसिरमा किलोको चार सय रुपियाँमा बिक्री भएको ज्वानो अहिले ५५० पुगेको छ । त्यस्तै, मासको दाल प्रतिकिलो १० रुपियाँ, सानो केराउ प्रतिकिलो २५ रुपियाँ, लङ्ग ग्रेन वासमती चामल प्रतिकिलो १५रुपियाँ, सेतो तिल प्रतिकिलो ४० रुपियाँ, मेथी प्रतिकिलो १० रुपियाँ, मसिनो चामलको पिठो प्रतिकिलो ३० रुपियाँले बढेको छ । 

साथै, बेसारको पाउडर, धनिया पाउडर, खुर्सानी पाउडरको मूल्य भने यथावत रहेको संघको भनाई छ । तर सूर्यमुखी तेल प्रतिलिटर ६० रुपियाँ, भटमासको तेल प्रतिलिटर ४५ रुपियाँ, काँचो तोरीको तेल प्रतिलिटर ३० रुपियाँ, डाल्डा घ्यू प्रतिलिटर ४५ रुपियाँले घटेको छ । 
 

Advertisement

Advertisement