सुन्दास बने सगरमाथा आरोहण गर्ने पहिलो नेपाली प्रहरी अधिकृत

Advertisement

काठमाडौं । नेपाल प्रहरी पहरा गण सामाखुशीमा कार्यरत प्रहरी नायव निरीक्षक पुरुषोत्तम सुन्दासले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । 

इलाइट हिमालयन एडभेन्चरका निर्देशक तथा विश्व कीर्तिमानी पर्वतारोही मिङमा डेभिड शेर्पाका अनुसार सुन्दास आज  सगरमाथाको चुचुरोमा पुगेका हुन् । सुन्दास विश्वको सगरमाथाको आरोहण गर्ने पहिलो नेपाली प्रहरी अधिकृत बनेका छन् । उनी बिकास शेर्पासँग सगरमाथाको चुचुरोमा पुगेका विश्व कीर्तिमानी पर्वतारोही मिङमा डेभिड शेर्पाले जानकारी दिए । 

Advertisement

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) स्थापनाको शताब्दी वर्षको अवसरमा सगरमाथाको चुचुरोमा राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा र इन्टरपोलको झण्डा फहराउन उनी सगरमाथाको आरोहण गरेका हुन् । इलाइट हिमालयन एडभेन्चर कम्पनीमार्फत उनले सगरमाथाको आरोहण गरेका हुन् । 

आरोहणका लागि प्रधानमन्त्री र गृहमन्त्रीस्तरको फागुन २६ गतेको निर्णय अनुसार स्वीकृत भई र पर्वतारोहण सम्बन्धी तालिम प्राप्त गरी उनले यसअघि मेरापिक (छ हजार ४७६ मिटर)लगायतको सफलतापूर्वक आरोहण गरिसकेका छन् । उनलाई प्रहरीले हिमाल आरोहणका लागि छनोट गरेको हो । सगरमाथाको आरोहण गर्न उनले लोबुचे पिकको पनि सफलतापूर्वक आरोहण गरेका थिए ।

सन् १९२३ मा अष्ट्रियाको भियनामा स्थापना भएको इन्टरपोलले सफलतापूर्वक १००औं वसन्त ऋतृ पूरा गरेको अवसरमा इन्टरपोलको शताब्दी वर्ष मनाउने क्रममा नेपाल प्रहरीले पनि विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाउने योजना अन्तर्गत विश्व सम्पदा सूचीमा सूचीकृत सर्वोच्च शिखर सगरमाथामा नेपाल प्रहरीका कर्मचारीले आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी र इन्टरपोलको झण्डाहरू फहराउने कार्यक्रम बनाएको हो ।

 

Advertisement

Advertisement