विश्व कीर्तिमानी कामिरिता शेर्पाद्वारा २७औं पटक सगरमाथा आरोहण

Advertisement

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथा २७औं पटक आरोहण गरेका छन् । उनले आज सगरमाथाको सफल आरोहण गरेर आफ्नै रेकर्ड तोड्न सफल भएका हुन् ।  

शेर्पाले आज बिहान ८ बजेर ३० मिनेटमा २७औं पटक सगरमाथाको चुचुरोमा पुगेका सेभेन समिट टे«सले जनाएको छ । 

Advertisement

खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिता शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चो ओयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से, एक पटक केटु गरी ३९ पटक विश्वका अग्ला हिमालहरुको आरोहण गरिसकेका छन् । 

यसअघि उनले तीन सिजनमा दुई–दुई पटक सगरमाथा आरोहण गरिसकेका छन् । शेर्पाले चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पनि पाएकाले सन् २००९, २०१० र २०१३ मा एकै याममा दुई पटक सगरमाथा चढेका थिए । साथै २०१९ मा ६ दिनमा २ पटक, २०२१ र २०२२ मा क्याम्प–२ देखि सगरमाथाको चुचुरो सम्म डोरी टाँग्न नेतृत्व गरेका थिए । उनले सेभेन समिट टे«सको टिमलाई नेतृत्व गर्दै सगरमाथाको ओरोहण गरेका हुन् ।

सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका उनको नाममा ८ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ ।

Advertisement

Advertisement