हामीले यति ठूला विमानस्थल निर्माण गरायौं, अहिले घाममा सुकेर बसेका छन्ः पर्यटनमन्त्री

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आउँदो असार ८ देखि पोखराबाट चीनका विभिन्न शहरमा उडान सुरू हुन लागेको बताएका छन् । 

बिहीबार नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को २४औं अधिवेशन तथा ५६ औं वार्षिक साधारणसभामा उनले असार ८ देखि चीनका विभिन्न शहरमा चार्टर उडान गर्न लागेको जानकारी दिएका हुन् । यस विषयमा बुधबार मात्रै टुगो लागेको किरातीले बताए । 

Advertisement

उनले भने, ‘हामीले यति ठूलो एयरपोर्टहरु निर्माण गरायौं । निर्माण भएका एयरपोट घाममा सुकेर बसिरहेका छन् । त्यसलाई हामीले छिटोभन्दा छिटो व्यवसायिक प्रयोजनको निम्ति अन्तर्राष्ट्रिय उडान पनि छिटोभन्दा छिटो सञ्चालन गर्नुपर्छ ।’ पर्यटन उद्योगमा भएका समस्या समाधानका लागि मन्त्रालय अग्रसर रहेको किरातीको भनाई छ । 

पर्यटन क्षेत्रलाई विकास गर्नको निम्ती जहाज नभईनहुने भन्दै उनले साही कारण त्यसका लागि आफूहरु जोडदारका साथ लागेको बताए । किरातीले भने, ‘आउँदो जुन १२ को राति मलेसियादेखि भैरहवा उडान गर्दैछौं । जुन १३ जुनको राति काठमाडौंदेखि भैरहवा, भैरहवादेखि काठमाडौं आउने गरी हाम्रो तालिका बनेको छ । आज भोलिदेखि टिकट बिक्री गर्न सुरु हुनेछ ।’

देशभर १८ वटा विमास्थल नचलेर गौचरनमा परिणत भएको बताउँदै मन्त्री किरातीले नेपाल वायुसेवा कसरी व्यवसायिक ढंगले सञ्चालन गर्ने ? भनेर आफूले ताकेता गरेपछि वायुसेवा निगमले जहाज किन्ने प्रस्ताव लिएर आएको बताए । नेपालमा क्षेत्रीय विमानस्थलहरु उडान गर्नको लागि आफूहरुले मझौला खालका दुई वटा जहाज किन्न लागेको बताए । 

उनले नयाँ जहाज किन्दा भ्रष्टाचार नहुने दाबी पनि गरे । किरातीले सानो जहाजले जनतालाई सेवा दिने ठूलो जहाजले बजारमा हस्तक्षेप गर्ने बताउँदै आज बजारमा नेपाल वायुसेवा निगमले हस्तक्षेप गर्न नसक्दा विदेशी एयरलाइन्सलाई टिकटको महंगो मूल्य तिर्नुपरेको बताए । 

पर्यटनको विकासमा नाटाको ठूलो भूमिका रहेको मन्त्री किरातीले बताए । उनले पर्यटन विकास निजी क्षेत्रले धेरै ठूलो भूमिका निवाह गरेको बताए । 

नाट्टाका अध्यक्ष रमेश थापाले नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन गर्न सरकारसँग आग्रह गरे । कोरोना महामारीपछि चलायमान हुन शुरु गरेको नेपालको पर्यटन व्यवसायलाई तीब्र विकास गरी विदेशी मुद्रा अर्जन र रोजगारी सिर्जना गर्न सकिने बताए । 

थापाले निर्यातजन्य व्यवसायमा दिईएको जस्तै पर्यटन व्यवसायीलाई पनि विदेशी मुद्रा आर्जनको अनुपातमा निश्चित नगद प्रोत्साहन उपलब्ध गराउनुपर्ने बताए । पर्यटन ऐन पर्यटन व्यवसायमैत्री बनाउनुपर्ने उनले बताएइ । नेपाल एयरलाइन्सको पुर्नसंरचना र नयाँ जहाजहरु खरिद गरेर क्षमता वृद्धि गरि नाफामूलक गन्तव्यको पहिचान गरी विश्व बजारमा सेवा विस्तार गर्नुपर्ने उनले बताए । 

थापाले पर्यकटीय सवारी साधनका लागि स्तरीय बसपार्क निर्माण गर्नुपर्ने, पोखरा विमानस्थलको सञ्चालन कार्ययोजना प्रभावकारी बनाउनुपर्ने, यसका लागि स्वदेशी तथा विदेशी एअरलाइन्स कम्पनीहरुसँग आवश्यकता अनुसारको प्रोत्साहन दिई सम्झौता गर्नुपर्ने, नेपालमा नयाँ वायुसेवा कम्पनीहरुले सेवा प्रारम्भ गर्नपूर्व एजेन्सीहरुको दायित्व संरक्षित गर्न मिल्ने सेक्युरिटि डिपोजिट राख्न लगाउनुपर्ने, नेपाल एअरलाइन्स लगायत अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुबाट एजेन्ट कमिशनको व्यवस्था गराउनुपर्ने, पर्यटकीय दृश्यावलोकन गरिने ठाउँहरुको प्रवेश शुल्कलाई जोइन्ट कमिशन गठन गरी एकद्धार प्रणालीमार्फत अनलाइनबाटै लिन सकिने व्यवस्था गराउनुपर्ने जस्ता माग र सुझाव अघि सारे । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अर्थ, गृह तथा पर्यटन मन्त्रालयबीच समन्वय नहुँदा सडक मार्गबाट आउने पर्यटकहरू समस्यामा पर्ने गरेको बताए । 

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले पर्यटन क्षेत्रमा धेरै समस्या भए पनि समस्या समाधान गर्न गाह्रो नभएको बताए । उनले निजी क्षेत्रको समेत सहभागितामा सरकारी निकायको सक्रियता भएका पर्यटनका समस्या समाधान गर्न सकिने बताए । 

कार्यक्रममा पर्यटन प्रवर्द्धनका लागि सक्रिय भाष्कर अवार्ड सुवासल गोयललाई, सगरमाथा अवार्ड पर्यटन व्यवसायी कर्ण शाक्यलाई, टुरिजम सर्भिस अवार्ड स्वर्गीय मोरुहर्ष बज्राचार्यलाई, डियन प्रदान मेमोरियल इन्ट्रेप्रेनर एक्सेलेन्स अवार्ड अम्बिका श्रेष्ठलाई, खगेन्द्रराज पाण्डे– ट्राभल एण्ड टुरिजम अवार्ड आकाश अधिकारीलाई प्रदान गरिएको थियो । 

Advertisement

Advertisement