श्रमसम्वन्धी कुरै छैन, सबै वैदेशिक रोजगारसम्वन्धी छ, मन्त्रालयको नामै फेरे हुन्छः मन्त्री भण्डारी

Advertisement

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम, रोजगार मन्त्रालयलाई वैदेशिक रोजगार मन्त्रालय बनाउनुपर्ने आवश्यकता देखिएको बताएका छन् । 

बिहीवार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको चेम्बर एक्स्पोमा उनले श्रम मन्त्रालयमा आन्तरिक श्रम बजारका विषयमा प्राथमिकता नदेखिएको भन्दै वैदेशिक रोजगार मन्त्रालय बनाउनुपर्ने देखिएको बताए । भण्डारीले मन्त्रालयको कार्यभार सम्हाले पनि श्रमका सम्बन्धमा केही नदेखेको बताए । 

Advertisement

उनले श्रम विभाग खिएर गएर माथि उठ्नसक्ने अवस्थामा नरहेको समेत बताए । भण्डारीले पछिल्लो समय मान्छे बेचेर कारोबार भइरहेको भए पनि श्रमबजारमा सुधार नआएको गुनासो आएको बताए । 

मन्त्री भण्डारीले मन्त्रालयमा वैदेशिक रोजगार बाहेकका विषयमा कुरा गर्दा स्वदेशी रोजगारको कुनै चर्चा नै नहुने गरेको उल्लेख गरे । उनले श्रम रोजगारी निजी क्षेत्रसँग जोडिएको विषय भएको भन्दै जबसम्म श्रम बजार व्यवस्थित मर्यादित र सुरक्षित नभएसम्म उद्योगहरु अघि बढ्न नसक्ने बताए । 

भण्डारीले सरकारले ७५३ वटै पालिकामा प्रधानमन्त्री रोजगारी कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्र स्थापना गरेको बताए । मन्त्री भण्डारीले रोजगारका सम्पूर्ण संभावनाहरुलाई एकीकृत गर्ने हिसाबले रोजगारीका संभवनाहरुलाई एकद्वार प्रणालीमा रोजगार सेवा केन्द्रमा पुर्याउने उद्देश्य रहेको बताए । 

उनले सरकारले तालिम प्राप्त जनशक्तिहरुलाई रोजगारदाताहरुसँग जोड्ने प्रयास गरिरहेको बताए । भण्डारीले अब सरकार र निजी दुवैले कुरा भन्दा पनि काम गर्न आवश्यक रहेको बताए । उनले नेपालमा गर्नसम्ने संभावनाको विषयमा धेरै भए पनि प्रयोग गर्न नसकिएको बताए । 

भण्डारीले सरकार निजी क्षेत्रसँग रोजगारीको विषयमा सहकार्य गरेर जान तयार रहेको बताए । उनले सरकारले व्यवसाय र कारोबार गर्ने नभएर व्यवसाय गर्नेहरुको लागि वातावरण तयार गरिदिनुपर्ने बताए । 

मन्त्री भण्डारीले भने, ‘अहिले बाहिर कुरा उठिरहेको छ । मानिस बेचेर पनि कारोबार भइरहेको छ । यो कुराले एउटा कुरा अहिले पनि दिमागमा आइरहेको छ । मैले जुन मन्त्रालय समालिरहेको छु, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय छ । मन्त्रालयमा गएर हेर्दा श्रमका सम्बन्धमा कही केही देखिन । श्रम विभाग भन्ने यति खिएर बसेको रहेछ । उठ्न नसक्ने अवस्थामा पनि विभाग देखिएन । रोजगारका कुरा गर्दा वैदेशिक रोजगार बाहेकका विषयमा कुरा गर्दा स्वदेशी रोजगारको कुनै चर्चा नै छैन् । यो मन्त्रालयलाई कता कता वैदेशिक रोजगार मन्त्रालय बनाउनु पर्ने देखिएको छ ।’ 

उनले थपे, ‘श्रम रोजगार तथा सामाजिक सुरक्षाका विषय आए । यो विषय निजी क्षेत्रसँग जोडिएको विषय हो । जबसम्म श्रम बजार व्यवस्थित मर्यादित र सुरक्षित रहँदैन, तबसम्म उद्योगहरु अगाडि बढ्नसक्ने अवस्था छैन् । अहिले सरकारले ७५३ वटै पालिकामा प्रधानमन्त्री रोजगारी कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्र स्थापना गरेका छौं । ७५३ पालिका रोजगार सेवा केन्द्र स्थापना गरेर रोजगारका सम्पूर्ण सम्भवनाहरुलाई एकीकृत गर्ने हिसाबले अघि बढेका छौं । सरकार सम्पूर्ण रोजगारीका सम्भवनाहरुलाई एकद्वार प्रणालीमा रोजगार सेवा केन्द्रमा पुर्याउँछौं । तालिम प्राप्त जनशक्तिहरुलाई रोजगारदाताहरुसँग जोड्ने प्रयास गरिरहेका छौं । अब हामीले कुरा भन्दा पनि काम गर्नुपर्छ ।’ 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले गत वर्षको बजेटमा नै नेपाली बजारमा कम्तिमा २० प्रतिशत नेपाली उत्पादन राख्नुपर्छ भन्ने नीति बनाए पनि कार्यान्वयन हुन नसकेको बताए । उनले बजेटमा नै नीतिगत व्यवस्था गरे पनि कसले कार्यन्वयनमा ल्याउने भन्ने बारेमा कोही जिम्मेवार नभएको बताए । 

मरासिनीले सरकारले काम गरेन भन्ने कुरा तत्काल बिक्ने गरेको तर गरेको कामको चर्चा हुने नगरेको बताए । उनले तत्कालका लागि २० प्रतिशत भन्यो बिस्तारै ४० प्रतिशत बनाउँदै विदेशी उत्पादन बिस्थापित गर्न सकिने बताए । 

मरासिनीले सरकारले निजी क्षेत्रको लागि नीति बनाएन भन्ने तर निजी क्षेत्रले पनि बनाएको नीतिलाई हेरेर कार्यान्वयन गर्न नसकेको आरोप लगाए । उनले नेपालमा नकारात्मक कुरा बढी बिक्ने गरेको भन्दै अहिले अर्थतन्त्र समस्या देखिएको बताए । उनले अर्थतन्त्रमा आउने उतारचढावलाई सामान्य रुपमा लिनुपर्ने बताए । मरासिनीले गत वर्षको भन्दा अर्थतन्त्र लयमा आउन थालेको भन्दै निराश हुनुपर्ने अवस्था नरहेको बताए । 

Advertisement

Advertisement