माओवादी ‘सुप्रिमो’ले ठिकै भने ‘क्यान्टनमेन्ट'को भ्रष्टाचार होइन, तर खुलेआम लुट होः पोखरेल

Advertisement

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन माओवादीको लडाकु शिविर (क्यान्टनमेन्ट)को घोटाला प्रकरण भ्रष्टाचार नभइ खुलेआम लुट भएको तर्क गरेका छन् । 

नेकपा माओवादीको नाममा भएको १० बर्षे हिंसात्मक आन्दोलनका कमाण्डरसमेत रहेका हालका प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार संसदमा लडाकु शिविरमा भ्रष्टाचार नभएको दावी गरेको भोलिपल्ट पोखरेलले सो कुराको प्रतिवाद गर्दै सामाजिक सञ्जालमार्फत आलोचना गरेका हुन् । 

Advertisement

उनले माओवादी लडाकु शिविर प्रकरणमा ७–८ हजारको हाराहारीमा रहेका लडाकुहरुलाई ३२–३३ हजार पुर्याएको कुरा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफैंले बोलेको अडियोमा रहेको र त्यो सामाजिक सञ्जालमा सुरक्षित रहेको बताउँदै शिविरमा रहेका लडाकुले पनि रकम पाउन नसकेको बताएका छन् । 

पोखरेलले लेखेका छन्, ‘वास्तविक लडाकु ७–८ हजारमध्ये केहीलाई शिविरमा राखेर अरु बाँकीलाई वाईसीएलका रुपमा राजनीतिक रुपमा परिचालित गरेको तथ्य अहिले माओवादीबाट बाहिरिएका धेरैले बोल्ने गर्दछन् । शिविरमा रहेकाहरुले बुझ्ने गरेको भत्ताको चेक उनीहरुका कमाण्डरले खोरेर राख्ने गरेको कुरा त्यहाँ बस्ने लडाकुहरु धेरैले धेरैपटक उठाउँदै आएको कुरा हो।’

संयुक्त राष्ट्र संघीय विशेष मिशन (अनमिन)ले प्रमाणिकरण गरेकामध्ये धेरैजसो समायोजनमा नगएर स्वेच्छिक अवकाश रोजेर राज्यबाट ठूलो रकम प्राप्त गरेको उनले बताएका छन् । जसकारण लडाकुका नाममा राज्यलाई अनुचित आर्थिक भार परेको भन्दै पोखरेलले यी सबै तथ्यहरुबाट राज्यले कति अनुचित आर्थिक भार बोक्नु पर्यो ? लडाकुको नाममा राज्यले उपलब्ध गराएको सहयोग कसरी उनीहरुका कमाण्डरहरुले लुटे ? र क–कसलाई बुझाए ? भन्ने कुरा खोजी गर्दा लुक्न सक्ने कुरा होइन् भनेका छन् । 

दाहालहरु अझै पनि ठूलो स्वरमा हुँकार दिइनै रहेको र लडाकु शिविरमा कुनै भ्रष्टाचार भएको छैन, अनियमितता भएको छैन भन्दै आएको बताउँदै उनले लेखेका छन्, ‘हो नि लुकेर गरेको भए पो भ्रष्टाचार र अनियमितता हुन्थ्यो । त्यो राज्य माथिको खुलेआम लुट थियो । डकैती थियो । अनि माओवादीका सुप्रिमोहरुलाई लागिरहेको पनि होला खुलेआम लुट र डकैतीलाई भ्रष्टाचार भन्न मिल्छ र ?’ तर नेपाली जनताले शान्तिका नाममा ती सबै कुरालाई आजसम्म सहँदै आएका छन् । सत्य यही हो ।’

Advertisement

Advertisement