भरतपुर अस्पतालमा एक अर्ब १९ करोडभन्दा बढीको बीमामार्फत उपचार

Advertisement

चितवन । यहाँको सरकारी भरतपुर अस्पतालले विगत पाँच वर्षमा रु एक अर्ब १९ करोडभन्दा बढीको स्वास्थ्य बीमामार्फत उपचार सेवा दिएको छ । जसबाट सात लाख एक हजार एक सय ४१ पटक सेवाग्राहीले सेवा लिएका छन् ।

अस्पतालमा विसं २०७४ भदौ १ गतेदेखि बीमा कार्यक्रम लागू भएको हो । गएको चैत मसान्तसम्म अस्पतालमा रु एक अर्ब १९ करोड ३७ लाख २६ हजार तीन सय ५८ निकासा भइसकेको छ । गत चैतसम्ममा भुक्तानी आउन बाँकी रु पाँच करोड हाराहारी छ ।

Advertisement

अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम प्रमुख लीलाधर पौडेलका अनुसार यस आर्थिक वर्षको चैतसम्ममा रु ३९ करोड १० लाख ७४ हजार चार सय ७१ निकासा भइसकेको छ । गत आर्थिक वर्षमा रु ३० करोड ७९ लाख ७४ हजार पाँच सय १२ निकासा भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा रु नौ करोड ७२ लाख ५२ हजार एक सय ८१ निकासा भएको थियो । आर्थिक वर्ष २०७६/७७ मा यो रकम रु २३ करोड ८८ लाख चार हजाार सात सय ५० थियो । आव ०७५/७६ मा रु १४ करोड ५७ लाख २८ हजार दुई सय २२ थियो भने पहिलो वर्ष २०७४/७५ मा रु एक करोड २८ लाख ९२ हजार दुई सय २० थियो ।

पौडेलका अनुसार अस्पतालमा दैनिक रु सात लाखदेखि ११ लाखसम्मको दाबी हुने गर्दछ । बीमाका बिरामी दैनिक सरदर ६ सयजना आउने गर्दछन् । एकै दिन एक हजार चार सयसम्म बीमाका बिरामी आएको तथ्याङ्क रहेको भनाइ छ । आकस्मिक सेवामा सरदर ६५ जना दैनिक छन् भने यो सङ्ख्या एक सयसम्म पुग्ने गरेको छ । दैनिक भर्ना दर २० जना रहेको उहाँले जानकारी दिनुभयो । यो सङ्ख्या बढीमा ५० जनासम्म हुने गरेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म बीमामार्फत ७० हजार चार सय १९ जनाले एक लाख ७६ हजार ६ सय सातपटक सेवा लिएका छन् । अस्पतालबाट रिफर भएर जानेको सङ्ख्या चालु आर्थिक वर्षमा सात हजार तीन सय चार हुँदा रिफर भएर आउनेको सङ्ख्या चार हजार चार सय तीन रहेको छ । अस्पतालमा आउने बिरामीमध्ये ७१ प्रतिशत बीमाका छन् भने २९ प्रतिशत मात्रै नगदमा उपचार गराउने रहेको पौडेलले जानकारी दिए । 

चालु आर्थिक वर्षमा रु ३९ करोड १० लाख ७४ हजार चार सय ७१ बीमाबाट आम्दानी हुँदा नगदबाट रु १७ करोड ९८ लाख मात्रै भएको छ । आउने अधिकांश बिरामी बीमाका रहेका छन् । एकै दिन ४४ जनासम्मले बीमामार्फत सिटीस्क्यान सेवा लिएको पौडेलको भनाइ छ । चितवन जिल्लासँगै तनहुँ, गोरखा, लम्जुङ, नवलपरासी, मकवानपुर, धादिङ लगायतका जिल्लाका विभिन्न पालिकाले प्रथम विन्दु भरतपुर अस्पताल बनाएका छन् भने यहाँ अध्ययन र रोजगारीका सिलसिलामा रहने धेरैको प्रथम विन्दु यही अस्पताल हुने गरेको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले अस्पतालको बीमा कार्यक्रम उत्कृष्ट रहेको भन्दै दाबी राम्रो भएकाले भुक्तानी सबै आएको बताए । दाबी प्रक्रिया नमिलेमा अस्पतालको आम्दानी घट्ने भन्दै उहाँले देशका अन्य अस्पतालको तुलनामा भरतपुर अस्पतालले राम्रो गर्न सकेको बताए । बिरामीको सहजताका लागि काउन्टर थप गर्ने तयारीमा अस्पताल रहेको उहाँको भनाइ छ । सकेसम्म बिरामीलाई सहजता दिलाउन आफूहरु लागिपरेको पौडेल बताउनुहुन्छ । बीमा बोर्डले समेत भरतपुर अस्पतालको बीमा दाबी पद्धतिलाई राम्रो मानेको भन्दै उनले क्रमशः अस्पतालको मुख्य स्रोत बीमा बन्दै गएको बताए । 

अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले अस्पतालको बीमा कार्यक्रम देशमै उत्कृष्ट भएको बताए । अस्पतालमा झन्डै ७० प्रतिशत बिरामी बीमाको हुनु आफैँमा राम्रो भएको भन्दै उनले दाबी प्रक्रिया बोर्डको नियमानुसार भएकाले भुक्तानीमा समस्या नभएको बताए । उनले भने, “हाम्रो बीमा दाबी र व्यवस्थापन देशमै उत्कृष्ट बनेको छ ।” अस्पतालले पालिकाहरुसँग सहकार्य गरेर आम नागरिकलाई बीमामा ल्याउने गरी अभियान सञ्चालन गर्न लागेको उनको भनाइ छ । पालिकाहरुमा रहेका अति विपन्नलाई सरकारी तवरबाट बीमा गराउन सकेमा उपचार बीमामार्फत गरेर लाभ दिलाउन सकिने पौडेलको भनाइ छ ।

अस्पतालमा सेवाहरु विस्तार गरी अन्यत्र रिफर गर्नुपर्ने सङ्ख्या घटाउने गरी योजना अघि सारिएको उनले जानकारी दिए । पौडेलले भने, “बीमामा आउने बिरामीका लागि कसरी सहज उपचार दिन सकिन्छ भनेर हामी केन्द्रित छौँ ।” अस्पतालमा एमआरआई, क्याथल्याब जस्ता अत्याधुनिक सेवा उपलब्ध नहुँदा बिरामी धेरै रिफर हुने गरेका छन् । भरतपुर अस्पतालले ती दुवै सेवा छिट्टै सञ्चालन हुने गरी प्रक्रिया अघि बढाएको उनले जानकारी दिए । 

स्वास्थ्य बीमामा पाँचजना परिवारले रु तीन हजार पाँच सय तिरेर एक वर्षभर रु एक लाखसम्मको सेवा लिँदै आएको छन् ।  विपन्न परिवारका लागि यो रकम कम भएकाले दायरा बढाउनुपर्ने देखिएको छ । अस्पतालहरुले बीमाका बिरामीलाई अन्य बिरामीको तुलनामा फरक ढङ्गले सेवा दिने गरेको गुनासो बिरामीहरुबाट आउने गरेको छ । ती गुनासोहरुलाई सम्बोधन गर्नुपर्ने लाभग्राहीहरु बताउँछन् । सेवाग्राहीहरुले जुन ढङ्गले सहज उपचार पाउनुपर्ने हो, पाउन नसकेको गुनासो गर्दै आएका छन् । सेवा प्रदायक संस्थादेखि बीमा बोर्डसम्मले सुधार गरेर गुनासो नआउने गरी काम गर्नुपर्ने देखिएको छ । रासस

Advertisement

Advertisement