स्वदेशमा अवसर छैन भने विदेश जाने ढोका बन्द गर्नु हुँदैन्ः अर्थमन्त्री

Advertisement

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसँग अर्थतन्त्रमा अहिलेको सूचकहरूका बारेमा छलफल गरेका छन् । शनिबार सिंहदरबारमा बसेको समितिको बैठकमा अर्थतन्त्रको अवस्था र सूचकहरूका बारेमा छदफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । 

छलफलमा महतलाई सांसदहरुले वर्तमान अर्थतन्त्रकाबारेमा विभिन्न जिज्ञासा राखेका थिए । महतले भने, ‘स्वदेशमा अवसर छैन भने विदेशमा गएर आफ्नो उन्नति गर्ने ढोका बन्द गर्नु हुँदैन । तर हामी नेपालमै अवसरहरु सिर्जना गर्दै लैजाने हो । यो कुरालाई हामीले प्राथमिकतामा राख्नुपर्छ, यसमा दुई मत छैन् । युवाहरुको क्षमता छ । देशभित्रै प्रयोग हुनुपर्छ भन्ने मान्यतालाई हामी प्राथमिकतामा राख्छौं ।’
 
नेपालमै उत्पादन कसरी बढाउने ? भन्ने कुरालाई प्राथमिकतामा राख्नुपर्छ भन्दै उनले नेपालमा अहिले जुन उद्योग व्यवसाय छ, त्यसमा धेरैजसोमा भ्यालु एडसिन (मूल्यअभिवृद्धि) कम रहेको बताए । 

Advertisement

महतले थपे, ‘हामी चाहन्छौं, यो भ्यालु एडिसन ज्यादा भन्दा ज्यादा देशभित्र नै होस् भन्ने कुरा प्राथमिकतामा रहन्छ । नेपाली उद्योग व्यवसायीलाई प्रमोट गर्ने जस्ता कुरालाई आउँदो बजेटमा प्राथमिकता दिन्छौं । बढीभन्दा बढी नेपाली उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने नीतिमा हामी जान्छौं । ज्ञानलाई सम्पूर्ण रुपमा उपयोग गरेर सिस्टममा भएको समस्यालाई धकेल्ने हो । समस्यालाई कसरी धकेलेर बाहिर निकाल्ने हो भन्ने कुरामा सबै जानकार हुनुहुन्छ ।’

‘ज्ञान र अनुभवलाई म उपयोग गर्छु । म ठूलो स्वरमा कुरा गर्दिन । सुधारको आवश्यकता छ । यसलाई इमान्दारिका साथ काम गर्छु’ भन्दै उनले तर दुई महिनाभित्र आफ्नो ज्ञान र अनुभव उपयोग गरेर सारा समस्या सफाचट हुन्छ भनेर आफूले नभन्ने बताए । 

नीति तथा कार्यक्रममा क्रमशः सुधारहरु गरिने महतले बताए । उनले धेरैजसो सुधार यसैपाली गरिने र कतिपय कुरा क्रमशः गर्दै जाने बताए । उनले भने, ‘कार्यान्वयन हाम्रो मूल चुनौति हो । नौ महिनापछि स्रोत रिलिज गर्दिनुपर्यो । अब हामी ठेक्का लगाउँछौं भनेर आउँछन् । त्यसलाई मैले रोकिदिएको छु । नौ महिनासम्म के गरेर बस्यो ? बजेटपछि लगत्तै असार मसान्तसम्मको काम छँदैछ । गृहकार्य तत्काल सुरु गछौं । यी कुराहरु यो समयभित्र गरिसक्ने भनेर कार्यतालिका बनाउँछौं । यसबारे गृहकार्य भइरहेको छ ।’ 

यस्तो भयो भने हाम्रो पूँजीगत खर्चको प्रभावकारिता बढ्ने र पूँजी प्रवाह बढ्ने, यसले आर्थिक वृद्धिदरलाई मद्दत गर्ने महतको जिकिर छ । उनले आफूले समग्र उद्योग व्यवसाय, समग्र अर्थतन्त्रको कुरा गरेको बताउँदै एउटा व्यक्ति, व्यवसायको फाइदाका लागि आफूबाट केही नहुने बताए । पूँजीगत खर्च, राजश्व परिचालनले गुणस्तरीय उत्पादन यसबाट हुन्छ कि हुँदैन ? भन्ने आफ्नो सम्पूर्ण ध्यान केन्द्रित हुने महतले बताए । 

उनले आफ्नो टिममा यी कुरा बलियोसँग राखेको बताउँदै सिस्टमबाट आएका कुरा ठीक छन् कि छैनन यी सबै कुरा दिनरात आफूले हेरिरहेको बताए । महतले भने, ‘यहाँ राजनीतिक दल यो वा त्यो भनेर हेरेको छैन । यहाँ देश र जनताको कुरा छ । म व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गर्छु ।’

अहिले राजस्व कम उठ्यो र त्यही आधारबाट माथि उठेर हामीले कामको सुरुवात गरेका छौं भन्दै उनले राजस्व घटेको स्थानमा आफूले हेरिरहेको बताए । ती कुरालाई सुधार गरिने महतले बताए । 

यति गर्दागर्दै पनि आर्थिक वर्षमै गति लिएर ३५–४० प्रतिशत बढी राजस्व उठाउन सक्छु भन्ने अवस्था छैन् भन्दै महतले भने, ‘वैदेशिक ऋणले हाम्रो अर्थतन्त्रलाई सहयोग पुगेको छ कि छैन ? यसको समीक्षा हुन जरुरी छ । यो समीक्षा गरेर हाम्रो आवश्यकताअनुसार ल्याउन आजको भोलि नै सम्भव छैन । यसको पनि सीमा छ । योसँगै हामीले खर्च गर्ने क्षमता पनि देखाउन आवश्यकता छ ।’

मन्त्री महतले थपे, ‘हाम्रो साउँ व्याज एकदमै बढ्दै गएको छ । भूकम्पका बेलामा लिएको ऋणको पनि भुक्तानी भइसकेको छैन् । ऋण भुक्तानीमा हामीले ध्यान केन्द्रित गर्न थाल्यौ भने साधारण र पूँजीगत खर्चमा दबाब सिर्जना हुन्छ । प्रशासनिक खर्चको सीमा छ । सामाजिक सुरक्षा खर्च हटाउन सक्दैनौं । सार्वजनिक स्वास्थ्य शिक्षाको लगानी कटाउन सक्दैनौं । यस बीचमा हामी ऋण भुक्तानीको दायित्वबाट हामी भाग्न सक्दैनौं । यो जति दबाब बढ्दै जान्छ, हाम्रो आन्तरिक आवश्यकतामा दबाब पर्छ । पूँजीगत खर्च गर्नुपर्ने चौतर्फी मागलाई सम्बोधन गर्न हामीसँग श्रोत सीमित छ । यो असन्तुलनको बीच हामीले काम गर्नुपर्ने आवश्यकता छ ।’

उनले आफ्नो क्षमता, योग्यता, ज्ञान र अनुभवले भ्याएसम्म यो सिस्टममा देखिएको समस्या एकैपटक समाप्त हुँदैन भन्दै  तर त्यसलाई एउटा ढुंगा पन्छाउँदै, अर्को ढुंगा पन्छाउँदै स्पष्ट मार्गचित्र कोर्ने हो भने । 

नेकपा एमालेका सूर्य थापा, पदम गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, एकीकृत समाजवादी पार्टीका भवानी खापुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका ज्ञानेन्द्र शाहीलगायतले अर्थमन्त्री महतलाई प्रश्न गरेका थिए । 

Advertisement

Advertisement