रिलायबलले ७२ प्रतिशत रकम फ्युचर बोनस प्रोभिजनिङ गरिसक्योः सीईओ लोहनी

Advertisement

काठमाडौं । रिलायबल नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणबाबु लोहनीले आफ्नो कम्पनीले फ्युचर बोनस प्रोभिजनिङ (भविष्यका लागि गरिने बचत) सही ढंगबाट गर्दा पनि त्यसमा भ्रम फैलाउने काम भएको टिप्पणी गरेका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा सीईओ लोहनीले आफूहरुले नियामक निकाय नेपाल बीमा प्राधिकरणले तोकेबमोजिम बोनस प्रोभिजनिङ गरेकाले उक्त विषयमा अनावश्यक भ्रम नफैलाउन आग्रह पनि गरे । 

Advertisement

पछिल्लो समय बजारमा रिलायबलले नक्कली नाफा निर्धारण गरेर, भएको नाफा लुकाएर प्रिमियम मूल्यमा साधारण शेयर (आईपीओ) निष्काशन गर्न लागेको हल्ला चलेको छ । तर, लोहनीले भने उक्त हल्लामा कुनै पनि सत्यता र तूक नरहेको प्रतिक्रिया दिए । 

यसरी निर्धारण हुन्छ फ्युचर बोनसः
बीमा प्राधिकरणले सबै जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई फ्युचर बोनस अनिवार्य निर्धारण गर्न निर्देशन दिएको छ । प्राधिकरणले सुरुमा सबै बीमा कम्पनीहरुले सतप्रतिशत फ्युचर बोसन प्रोभिजनिङ गर्नुपर्ने प्रावधान ल्याए पनि कम्पनीहरुले समस्या जनाएपछि त्यसमा पछि केही लचकता अपनाएको थियो । 

प्राधिकरणको पछिल्लो निर्देशनअनुसार बीमा कम्पनीहरुले कम्तीमा पनि ३५ प्रतिशत रकम प्रोभिजनिङ गर्नुपर्ने हुन्छ । प्राधिकरणले सुरुमा सतप्रतिशत, पछि ५० प्रतिशत र तेस्रो निर्देशनमा ३५ प्रतिशत रकम प्रोभिजनिङ गर्न निर्देशन दिएको हो । 

जीवन बीमा कम्पनीहरुलाई बीमा प्राधिकरणले आफ्नो न्यूनतम चुक्ता पुँजी पाँच अर्ब रुपियाँ पुर्याउन निर्देशन दिएसँगै अधिकांश कम्पनीहरुले मर्जरको बाटो अपनाएका छन् । तर, रिलायबलसहित चार बीमा कम्पनीहरुले प्रिमियम मूल्यमा आईपीओ जारी गरेर चुक्ता पुँजी पुर्याउने अन्तिम तयारी गरिरहेका छन् । 

सीईओ लोहनीले चालु आर्थिक वर्षभित्रै आफ्नो कम्पनीको आईपीओ निष्काशनको सम्भावना निकै कम रहेको संकेत गरे । उनले आफूहरुले तयारी गरे पनि आईपीओ निष्काशनका लागि प्रक्रिया पूरा गर्न भने लामै समय लाग्ने अनुभव सुनाए । 

प्रिमियम मूल्यमा आईपीओ निकाष्शनबारे कर्पोरेट नेपाललले जिज्ञासा राख्दा लोहनीले भने, ‘म तपाईंहरुसँग विषयगत रुपमा नै कुरा गर्न चाहान्छु । त्यसको लागि हाम्रो तयारी पनि अन्तिम अवस्थामा पुगेको छ । सम्भवतः तपाईंहरुले सोधेको कुरा अब आगामी आर्थिक वर्षको सुरुवातमा मात्रै पूरा हुने सम्भावना छ ।’ 

उनले थपे, ‘सबै कुरा सकारात्मक हुँदाहुँदै केही समय लागेको पक्कै हो । अब लगानीकर्ताहरुले पनि थोरै समय धैर्य गर्दिनुहोला ।’

Advertisement

Advertisement