नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो, ‘ठूला माछा’ सबै जोगिए

Advertisement

काठमाडौं । प्रहरीले नक्कली भूटानी शरणार्थी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ । प्रकरणसँग जोडिएका ठूला दलका ठूला नेताहरुमाथि पक्राउ र छानविन नगरी प्रहरीले प्रतिवेदन बुझाएको हो । 

यस प्रकरणमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणा देउवा दम्पत्ति, नेकपा एमालेका अध्यक्ष केपी ओली र राधिका शाक्य दम्पत्ति, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका बाबुछोरा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राई, पूर्वगृहमन्त्री एवं एमाले नेता रामबहादुर थापालगायतको संलग्न रहेका विभिन्न आधार प्रमाण देखिए पनि उनीहरुलाई नछोईकन प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको हो । 

Advertisement

सोमवार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको हो । जिल्ला सरकारी वकिल कार्यालयका सह–न्यायाधिवक्ता अच्युतमणि न्यौपानेले काठमाडौं जिल्ला प्रहरी कार्यालयबाट प्रतिवेदन प्राप्त भएको बताए । 

उनले अब प्रहरीले अनुसन्धान गरेर बुझाएको प्रतिवेदनको विश्लेषण, प्रमाणका आधारमा अध्ययन गरिने बताए । न्यौपानेले सरकारी वकिल कार्यालयमा प्राप्त भएको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोग पत्र तयार गर्ने पनि बताए । 

उनले जिल्ला सरकारी वकिल कार्यालयले प्रहरी प्रतिवेदन अध्ययन सकेर बुधवारसम्म जिल्ला अदालतमा अभियोग पत्र दायर गरिसक्ने बताउनु भयो । उहाँले सरकारी वकिल कार्यालयले क–कसलाई के—के मुद्दा लगाउने भन्ने विषयमा अनुसन्धान प्रतिवेदन अध्ययन गरेर मात्रै अन्तिम निर्णय गर्ने बताए । 

न्यौपानेले भने, ‘नक्कली भूटानी शरणार्थी प्रकरण प्रहरीले अनुसन्धान सकेर मुद्दा हामीसँग आएको छ । प्रहरी अनुसन्धानमा के देखियो,आधार प्रमाणहरु के हुन् । को–को बिरुद्ध मुद्दा चल्ने वा नचल्ने अवस्था हो । कस्तो अपराध हो । कति कसुर वा विगोको माग दाबी कति हो भन्ने पछिका कुरा हुन् । हामी शुरुवातमा मुद्दाको अनुसन्धानको मिसिङ छ । यो विश्लेषण गर्छौं । आधार प्रमाणहरु हेर्छौं । यो आधारमा हामी निर्णय गर्छौं । हामीले भर्खरै प्रतिवेदन प्राप्त गरेका छौं । अदालतमा मुद्दा लाने समय १० गतेसम्म रहेकाले त्यही समयमा प्रतिवेदन हेरेर लैजान्छौं । पक्राउ परेकाहरुलाई ठगि र संगठित अपराध र राज्य बिरुद्धको अपराधको मुद्दा लाग्ने सम्भावना रहेको छ ।’

नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको निस्कर्ष प्रहरीले निकालेको र रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । न्यौपानेकाअनुसार पक्राउ पर्नेहरुलाई ठगी र संगठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुर (कीर्ते) र राज्य बिरुद्धको अपराधमा समेत मुद्दा चलाउनसक्ने बताए । 

Advertisement

Advertisement