लक्ष्मी र सनराइज बैंकबीच मर्जरको अन्तिम सम्झौता, स्वाप रेसियो १ः१, सीईओमा शाह

Advertisement

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको छ । 

आज आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकको तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सनराइज बैंकको तर्फबाट सञ्चालक इ. बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

Advertisement

ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदनका आधारमा दुवै बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुनेछन् । मर्ज भएपछि बन्ने संस्थाको नाम लक्ष्मी सनराइज बैंक लिमिटेड हुनेछ भने लक्ष्मी बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत रहने छन् । गाभिएपछि बन्ने बैंकको सञ्चालक समितिको प्रथम बैठकले सञ्चालक समितिको अध्यक्ष चयन गर्नेछ । 

सम्झौतापत्र दुवै बैंकको साधारण सभामा पारित गरेपछि नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयको स्वीकृति प्राप्त गरेपछि दुवै बैंकले एकीकृत कारोबार शुरु गर्नेछन् । सम्पूर्ण प्रक्रियाहरु टुंग्याई आगामी असार मसान्तभित्रै एकीकृत कारोबार शुरु गर्ने लक्ष्य राखिएको छ ।

लक्ष्मी बैंकको चुक्ता पूँजी ११ अर्ब ५५ करोड १३ लाख ४५ हजार १ सय रुपियाँ र सनराइज बैंकको हाल कायम चुक्ता पूँजी १० अर्ब ११ करोड ८८ लाख ९२ हजार ९ सय रुपियाँ छ । दुई बैंक मर्ज भएपछि कूल चुक्ता पूँजी २१ अर्ब ६७ करोड हुनेछ । 

दुई बैंकबीच गत पुस २५ गते मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो । अन्तिम सम्झौतामा हस्ताक्षर भएसँगै आगामी असार मसान्तभित्र एकीकृत कारोबार गर्ने तयारी गरिएको छ । 

Advertisement

Advertisement