अर्थमन्त्री महतले भेटे एमसीसीका क्षेत्रीय उपाध्यक्षलाई, एमसीसी कार्यान्वयनबारे छलफल

Advertisement

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का एशिया, यूरोप, प्यासिफिक र लेटिन अमेरिकाका कार्यक्रम हेर्ने क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सले नेतृत्व गरेको प्रतिनिधिमण्डलसँग सोमबार भेटवार्ता गरेका छन् । 

भेटका क्रममा एमसीसी परियोजनाको कार्यान्वयनबारे छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसन र एमसीसी नेपालका खड्ग विष्टलगायत सहभागी थिए । 

Advertisement

एमसीसी सम्झौता कार्यान्वयनमा जाने मिति (अगष्ट २०२३) नजिकै आएको र यो कार्यान्वयनमा गएको मितिले ५ बर्षभित्र आयोजना सम्पन्न गरिसक्नुपर्ने सन्दर्भमा यसको पूर्वतयारीका अवस्थाको बारेमा जानकारी लिन एमसीसीका पदाधिकारीको भ्रमण भएको जनाइएको छ । 

भेटघाटका क्रममा डेपुटी भाइस प्रेसिडेण्ट जोनाथन ब्रुक्सले जग्गा प्राप्ति, खरिद प्रक्रिया जस्ता पूर्वतयारीका काममा भएको प्रगतिप्रति सन्तोष व्यक्त गरे । त्यसैगरी, सम्झौता कार्यान्वयनमा जानुपूर्व सम्पन्न भइसक्नुपर्ने बाँकी कार्यका बारेमा पनि दुवै पक्षबीच छलफल भएको अर्थ मन्त्रालयको भनाई छ ।

महतले भेटमा आयोजना पूर्वनिर्धारित समयावधिभित्रै सम्पन्न भई नेपालको आयोजना व्यवस्थापनमा उदाहरणीय बन्नसक्ने विश्वास व्यक्त गरे । साथै, आयोजना चक्रमा आउने महत्वपूर्ण विषयहरुलाई कानूनको प्रक्रिया पूरा गरी यथाशीघ्र टुंग्याउने प्रतिवद्धता जनाए । 

महतले एमसीसी आयोजनाको सफलता अन्य आयोजनाका लागि पनि अनुकरणीय हुने बताए । 

Advertisement

Advertisement