कावा महिला भलिबलमा नेपालको सुखद् शुरुवात, किर्गिस्तान पराजित

Advertisement

काठमाडौं । सोमवारबाट नेपालमा शुरु भएको काभा महिला च्यालेन्ज कप प्रतियोगितामो नेपालले विजयी शुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सोमवार भएको खेलमा नेपालले पाहुना टोली किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । 

Advertisement

घरेलु कोर्ट र समर्थकका साथ  पाएको नेपालले शुरुवातबाट नै किर्गिस्तानलाई दबाबमा राख्दै खेलेको थियो । सो क्रममा नेपालले किर्गिस्तानमाथि पहिलो सेट २५–११ ले पक्षमा पारेको थियो । दोस्रो सेटमा केही सुधारिएको खेल देखाएपछि किर्गिस्तानमाथि नेपाल हाबी नै रह्यो । 

२५–१९ ले पक्षमा पार्दै २–० ले अगाडि बढेको नेपालले तेस्रो सेटमा २५–११ ले आफ्नो बनाउँदै पहिलो खेलमा सुखद् शुरुवात गरेको हो । जित सँगै समूह ए मा रहेको नेपालले स्पष्ट तीन अंक जोडेको छ । किर्गिस्तानले भने हारबाट प्रतियोगिताको शुरुवात गरेको छ । 

अब नेपालले दोस्रो खेलमा मंगलवार बंगलादेशको सामना गर्नेछ ।  
यस्तै च्यालेन्ज कपको समूह ‘बी’ मा उज्वेकिस्तान र समूह ए अन्तर्गतको खेलमा भारतले विजयी शुरुवात गरेका छन् । कभर्डहलमा भएको पहिलो खेलमा उज्वेकिस्तानले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दा भारतले पनि बंगलादेशलाई सोझै सेटमा स्तब्ध बनायो ।

पहिलो सेटमा २७–२५ को प्रतिष्पर्धात्मक जित निकालेको उज्वेकिस्तानले दोस्रो सेटमा २५–१५ को सहज जित निकाल्यो । पहिलो सेटमा कठिन चुनौति दिएर पनि जित्न नसकेको श्रीलंकाले त्यसपछि पुनरागमन गर्न असफल भएको थियो । श्रीलंकाबिरुद्ध हाबी बनेको उज्वेकिस्तानले तेस्रो सेटमा २५–१३ को सहज जित निकाल्दै प्रतियोगितामा राम्रो शुरुवात गरेको हो । यस्तै, भारतसामु निरीह बनेको बंगलादेश २५–३, २५–९ र २५–६ को सेटमा पराजित भयो ।

Advertisement

Advertisement