राजश्व टिममाथि अर्थमन्त्री कै अविश्वास, कागजको चिर्कटो दिएर करका दर हेरफेरको तयारी

Advertisement

काठमाडौं। बजेट निर्माणको अन्तिम चरणमा अर्थमन्त्री प्रकाशशरण महतले कर्मचारीहरुमाथि अविश्वास गरेका छन् । मन्त्रालयको राजस्व टिमलाई मन्त्री महतले अविश्वास गर्दा राजश्वका दर परिवर्तन कुन आधारमा गर्ने ? भन्ने कुरामा अन्योलता सिर्जना भएको मन्त्रालय स्रोतको गुनासो छ ।

मन्त्रालयका एक कर्मचारीले भने, ‘करको दरबारे हालसम्म मन्त्रीज्यूबाट कुनै स्पष्ट निर्देशन आएको छैन् । मन्त्रीबाट स्पष्ट मार्गदर्शन नआई हामीले दिने भनेको सुझाव मात्रै हो ।’

Advertisement

राजस्व अध्ययन प्रतिवेदन बनाउने जिम्मा अहिले राजश्व सचिवलाई दिइएको छ । राजश्व सचिव डा. रामप्रसाद घिमिरेले अर्थमन्त्री प्रकाशशरण महतलाई प्रतिवेदन बुझाइसकेका छन् । तर महतले राजश्वमा कसरी अघि बढ्ने ? भन्ने विषयमा कुनै योजना बनाएका छैनन् ।

पूर्वअर्थमन्त्री जनार्दन शर्माले राजश्वको दर जथाभावी चलाउँदा राजश्व संकलनको गतिले अहिले लिग छाडेको छ । सिमित व्यक्तिलाई लाभ हुने गरी करको दर चलाएपछि पूर्वमन्त्री शर्माको चर्को आलोचना समेत भएको थियो । राजश्वमा अर्थमन्त्रीलाई असिमित अधिकार दिइएको छ । यसको राष्ट्र र जनताको पक्षमा सदुपयोग गर्नुपर्नेमा दुरुपयोग गरी अर्थमन्त्रीहरुले अनुचित लाभ लिने गरेका छन् ।

मन्त्रालयको कर्मचारीको टीमलाई मन्त्री महतले विश्वास नगर्दा यो पटक पनि करका दरहरु निर्धारणमा अनधिकृत व्यक्ति तथा स्वार्थ समूहको प्रभाव रहनसक्ने जोखिम बढेर गएको छ । 

राजस्व दरसम्बन्धमा एक सचिव (पूर्वअर्थसचिव)ले बिना अध्ययन र विश्लेषण अन्तिम समयमा अर्थमन्त्रीहरुले करका दरहरु परिवर्तन गराउने संस्कार रहेको बताए । उनले भने, ‘‘हरेक बजेटमा अर्थमन्त्रीको स्वार्थमा राजश्वका दर निर्धारण हुने गर्छ । धेरैले गोजीमा कागजको चिर्कटोमा करका दर बोकेर आउने र टाइपिष्टलाई दिएर मिलाउ भन्छन् ।’

उनले थपे, ‘मेरो १५ वर्षभन्दा बढि अर्थमन्त्रालयमा काम गर्दा कुनै पनि अर्थमन्त्रीले गोजीमा चिर्कटो बोकेर नआएको भेटिन । म त भन्छु जनार्दन शर्मा सोझा रैछन्, मान्छे नै बोकेर आए ।’ 

जेठ १४ गते राति अर्थमन्त्रीहरुले आधार, अध्ययन, विश्लेषण बिना नै राजश्वका दर चलाउने निर्णय गर्नु गलत प्रथा हो भन्दै पूर्वअर्थसचिवले राजश्वको दर निक्कै संवेदनशील हुने र यसले उद्योगी, व्यवसायी र  उपभोक्तालाई प्रत्यक्ष असर पर्ने भएकाले बिना अध्ययन परिवर्तन गर्न नहुने बताए । उनले थपे, ‘हाम्रोमा गलत नजिर स्थापित गरिएको छ । मन्त्रीलाई जे मन लाग्छ, त्यही गर्ने... ।’ 

बजेट निर्माणमा सक्रिए भएर लागेका कर्मचारीहरुमाथि नै अर्थमन्त्री महतको बढ्दो अविश्वासले बजेट निर्माण प्रभावित हुनसक्ने अवस्था सिर्जना भएको छ । यसअघि उनले बजेट जारी हुनुभन्दा २५ दिन अगाडी एक्कासी अर्थसचिव हेरफेर गएका थिए भने गत हप्ता मात्रै भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढालाई सरुवा गरेका थिए । 

बजेट निर्माणलगत्तै महतले अर्थ मन्त्रालयका केही सहसचिवलाई सरुवा गर्ने योजना बनाएका छन् । यतिबेला सरुवा गर्दा आशंका र विवाद धेरै हुने भएकाले बजेट जारी भएपछि उनीहरुलाई सरुवा गर्ने योजना महतले बनाएको स्रोतको दावी छ । राजनीतिक र  व्यक्तिगत स्वार्थका लागि योग्य र क्षमतावान कर्मचारीहरुमाथि अविश्वास गर्ने र हतोत्साही गर्दा कर्मचारीले उत्साहित भएर काम गर्न गाह्रो हुने ती पूर्वअर्थसचिवले बताए । 

बजेट निर्माणका क्रममा मन्त्री महत अहिले बढी विश्वास गरेका कर्मचारी भूपाल बराल र उत्तरकुमार खत्री हुन् ।  बराल नेपाली कांग्रेसकै पूर्वसाँसदका भाई हुन् भने खत्री पनि कांग्रेसनिकट कर्मचारीको रुपमा चिनिदै आएका छन् । दुवै जना वरिष्ठ सहसचिव हुन् । दुवै जना राजनीतिक तथा प्रशासनिक चलखेलमा समेत सिपालु मानिन्छन् । यस्तै, बजेट टिमका धनीराम शर्मालाई कांग्रेस नेता पूर्णबहादूर खड्काको दबाबमा महतले राखेका थिए । भर्खरै आएका अर्थसचिव अर्जुन पोखरेल अर्थमन्त्रालय भित्रको कोर कुरामा धेरै ज्ञान राख्दैनन् । 

राजश्व टिममा मन्त्री महत आफैले पहिलेदेखि विश्वासका वा सँगै काम गरेका आधारमा राजेर ल्याएका कुनै पनि कर्मचारी नहुँदा उनलाई विश्वास गर्न गाह्रो भएको अडकल गरिएको छ । राजस्व सचिव घिमिरे पनि पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थमा ल्याएका कर्मचारी हुन् । राजश्वमा अब्बल मानिएका दीर्घराज मैनाली हाल आन्तरिक राजस्व विभागको महानिर्देशक छन् । तर उनले अर्थमन्त्रीबाट पूर्ण साथ र समर्थन पाउन नसक्दा सुधारका कामहरु अघि बढाउन सकेका छैनन् । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माको समयमा मैनाली विभाग गएका थिए । त्यसपछिका अर्का अर्थमन्त्री पौडेलले पनि उनलाई हटाउन चाहे पनि कार्यकाल लामो नहुँदा हटाउन भ्याएनन् । अहिलेका अर्थमन्त्री महत पनि मैनालीलाई विभागबाट हटाउने उपयुक्त समयको पर्खाइमा छन् । 

Advertisement

Advertisement