कृतिम खुट्टाको भरमा सगरमाथा चढेर रेकर्ड बनाएका बुढामगरलाई विमानस्थलमा भव्य स्वागत

Advertisement

काठमाडौं । कृतिम खुट्टाको भरमा सगरमाथा आरोहण गरी विश्व रेकर्ड बनाएका भूतपूर्व गोरखा सैनिक हरि बुढामगरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । स्वागत गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती पनि पुगेका थिए । 

उनी सगरमाथाको सफल आरोहण गरेर काठमाडौं फर्किएका हुन् । बुढामगरले यही गएको जेठ ५ गते अपरान्ह ३ः१० मा सगरमाथाको सफल आरोहण गरेका थिए । यसरी कृतिम खुट्टाको बलमा सगरमाथा चढ्ने उनी पहिलो व्यक्ति हुन् । 

Advertisement

यसअघि बुढामगरले कृत्रिम खुट्टाको सहारामा सगरमाथा आधार शिविर पुगी कीर्तिमान कायम गरेका थिए । अफगानिस्तानको लडाइँमा घुँडाभन्दा माथिसम्म दुवै खुट्टा गुमाएका उनले कृत्रिम खुट्टाको सहाराले सगरमाथा आधार शिविर पुगेर स्काइड्राइभिङ पनि गरेका थिए । 

बुढामगरले हालै मोरक्कोमा रहेको उत्तर अफ्रिकाको सबैभन्दा अग्लो हिमाल माउन्ट टुबकल (४,१६७ मिटर)को पनि आरोहण गरेका थिए । हेलिकप्टरबाट स्काइड्राइभिङ पनि गरेका उनले पाराग्लाइडिङसहित कुश्मास्थित विश्वको दोस्रो अग्लो वन्जिजम्प र विश्कै अग्लो स्विङसमेत गरेका छन् । 

साथै, बुढामगरले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर) र मेरा पिक (६,४७६ मिटर) आरोहण गरेका छन् । बुढामगरले २०१७ मा मेरा पिक आरोहण गरी छ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो घुँडा माथिको ‘डबल एम्प्युटि’ गर्ने व्यक्ति बनेका थिए ।

Advertisement

Advertisement