एभरेष्टको पैसा चोरी प्रकरणः प्रहरीले सस्तो लोकप्रियता खोज्दा शाखाका सबै कर्मचारी बदनाम

Advertisement

काठमाडौं । एभरेष्ट बैंकको इटहरी शाखामा कार्यरत एक कर्मचारीले बदमासी गरी पैसा चोरी गर्दा अहिले सम्वन्धित बैंक मात्रै नभएर उक्त शाखामा कार्यरत अन्य निर्दोष कर्मचारीले समेत सास्ती भोग्नुपरेको छ । 

शेयरमा पैसा डुबाएका र अनलाइन बेटिङको नशा लागेका उक्त शाखामा सिनियर एसिस्टेन्ट पदमा कार्यरत निरज प्रधानले अनधिकृतरुपमा डेढ करोड रुपियाँभन्दा बढी रकम चोरी गरेको समाचार बाहिरिएको विषय सडकदेखि संसदसम्म चर्चाको विषय बनेको छ । 

Advertisement

इटहरी शाखामा दोस्रो प्रमुख व्यक्तिको रुपमा कार्यरत प्रधान सम्वन्धित विभागको इन्चार्ज पनि भएकोले उनीसँग बैंकको सिस्टममा पूर्ण एक्सेस थियो । त्यसैको लाभ उठाउँदै उनले करिव पाँच महिनाको बीचमा अनलाइन सिस्टम र चोकबाट एक करोड ५० लाख २३ हजार ४३४ रुपियाँ चोरी गर्न सफल भएको छानविन र अध्ययनबाट देखिन्छ । 

विगत १४ बर्षदेखि कार्यरत प्रधान एभरेष्ट बैंकको इटहरी शाखाबाट केही महिना गाइघाट शाखा सरुवा भएका थिए । तर बैंकबाट पैसा हराएको देखिएसँगै उनीमाथि शंका लागेपछि बैंकले पुनः उनलाई इटहरीमा नै फिर्ता गरेको थियो । पैसा चोरीको सुरुवात चैतको मध्येबाट सुरु भएको देखिन्छ । शंकास्पद गतिविधि देखेपछि बैंकको आन्तरिक टिमले उक्त शाखामा गयो । समस्या देखिएपछि एक–दुई दिन बसेर नै टिमले अनुसन्धान गरेर फर्किएको थियो । 

त्यसको छ–सात दिनपछि सात लाख रुपियाँ अनधिकृतरुपमा निकालिएको भन्दै ग्राहकले नै सार्वजनिकरुपमा गुनासो गरेपछि पैसा चोरीको घट्ना सार्वजनिक हुन थालेको थियो । ‘त्यो घट्नापछि निराज प्रधानले नै बदमासी गरेको हो भन्ने करिव प्रमाणित भइसकेको थियो’, एभरेष्ट बैंक स्रोतले भन्यो– ‘त्यो भएपछि चैत २२ गते निरज प्रधान भन्ने मानिसले विभिन्न खातावालको खाताबाट अनधिकृतरुपमा रकम निकालेको, नक्कली खाता सिर्जना गरी अरुलाई भुक्तानी गरेको भनेर बैंक आफैले इनरुवा प्रहरी कार्यालयमा जाहेरी दियो ।’ 

त्यसपछि प्रहरीले अनुसन्धान गरिरहँदा अनुसन्धान प्रभावित नहोस भनेर बैंकले कुनै कुरा बाहिर ल्याएन चाहेन् । प्रहरीले प्रश्नहरु गर्ने बैंकले जवाफ दिने, मागेका विवरणहरु दिने काम भइरहेको थियो । सुरुमा नै निरज प्रधानलाई प्रहरीले पक्राउ गरिसकेको थियो । 

आरोपी निरज प्रधानले ३३ वटा खाताबाट सानो सानो भुक्तानी गर्दै रकम चोरी गर्दै आएका थिए । निजले कनेक्ट आईपीएसमार्फत एक करोड १४ लाख ७५ हजार २८४ र फ्रड चेकमार्फत ३५ लाख ४८ हजार १५० रुपियाँ चोरी गरेको देखिन्छ । 

बैंकबाट अनधिकृतरुपमा कुन कुन खाताबाट कुन कुन व्यक्तिलाई पैसा गएको छ ? त्यसको विवरण प्रहरीलाई दिएको थियो । निरज प्रधानले पैसा पठाएकामध्ये जम्मा दुई जनालाई मात्रै पक्राउ गरेको छ । निजले अजय ख्याजु, शंकर भुजेल जस्ता आफूनिकटका व्यक्तिहरुलाई रकम पठाएको देखिन्छ । 

शेयरको मूल्य घट्दै गएपछि र अनलाइन बेटिङको नशामा रहेका प्रधान बिटक्वाइनको समेत कारोबारी हुनसक्ने आशंका गरिएको छ । पैसाको अभाव हुँदै गएपछि निजले पहिला आफ्नो बाबु आमाको खाताको पैसा, त्यसपछि ससुरालीतर्फका मानिसहरुको खाताको पैसा तानेका थिए । त्यो पैसाले पनि नपुगेपछि जुन जुन व्यक्तिको खाताको पैसा एक्टिभेट छैन्, उनीहरुको खाता खोज्दै पैसा तान्न थालेका थिए । 

आफै इन्चार्ज भएपछि प्रधानलाई सिस्टममा ‘फुल एक्सेस’ पनि भयो । सोही एक्सेसका आधारमा टेलरमा पनि इन्ट्री गरेर कारोबार गर्नसक्ने र कस्टोमर सर्भिसमा गएर पनि इन्ट्री गरेर कारोबार गर्नसक्थे । त्यसरी कारोबार गर्दा आफूले नभई अर्को कर्मचारीले गरेको जस्तो देखिन्थ्यो । प्रहरीले सुरुमा पक्राउ गर्दा सबै आफूले गरेको स्वीकार गरेका प्रधानले पछिल्लो समयमा भने शाखाका सबै कर्मचारी मिलेर गरेको भन्दै बयान फेरेका थिए । 

प्रहरीको पछिल्लो कदमप्रति बैंकको असन्तुष्टि
छानविन गर्न सहयोग गर्दागदै इनरुवा प्रहरी कार्यालयले एक्कासी आफ्नो इटहरी शाखाका कर्मचारीहरुलाई पक्राउ गरी उनीहरु सबैलाई आरोपितको रुपमा तस्वीर सार्वजनिक गरेकोप्रति बैंकले असन्तुष्टि पोखेको छ । तर यही गएको जेठ ५ गते प्रहरी अनुसन्धानका लागि भनेर सबै कर्मचारीलाई पक्राउ गर्न शाखामा आयो । त्यो दिन शुक्रबार भएकाले २ बजे बैंक बन्द हुने भएकाले बन्द गरेर सबै प्रहरी कार्यालय गए । 

तर प्रहरीले हामीले अदालतबाट सबैलाई पक्राउका लागि पत्र लिएर आएका छौं भनेर भन्यो । बैंक स्रोत भन्छ, ‘ठिकै छ त्यसो भए हाम्रो आइतबार बैंकको शाखा खोल्नुपर्छ । शनिबारसम्म तपाईंको सोधपुछ सक्कियो भने छोडिदिनुहोला भन्यौं । तर उल्टै प्रहरीले शाखा प्रमुखसमेतको फोटो राखेर नौ जना संलग्न रहेको भनेर समाचार सार्वजनिक गरिदियो ।’ 

जबकी बैंकमा सबै कर्मचारी चोरीमा संलग्न हुने भन्ने कुरा बिरलै हुने कुरा हो । उनीहरु कोही दोषी प्रमाणित नहुँदै अपराधीलाई जसरी फोटोसमेत राखेर ठूलै उपलब्धी हासिल गरे जस्तो गरेर प्रहरी तस्वीर सार्वजनिक गर्नु र गलत तथ्यहरु सार्वजनिक गर्ने कुराले आफूहरुलाई निराश बनाएको बैंकको भनाई छ । तर, सँगै घटनामा प्रत्यक्ष संलग्न रहेको प्रमाण समेत भेटिएका मुख्य आरोपीलाई भने हाइलाइट नगरी सिंगो शाखा र बैंकले नै मिलेर पैसा लुटेको जस्तो सन्देश प्रवाह गर्ने, शाखाका सबै कमचारीको सामाजिक प्रतिष्ठामा आघात पार्ने काम प्रहरीले गरेको एभरेष्ट बैंकका एक वरिष्ठ अतिकृतले बताए । बैंककी कर्मचारी पविता कटुवालले जन्मदिनमा केटा साथीलाई मोटरसाइकल किन्न भनेर पैसा दिएको भन्ने असत्य कुरा पनि सार्वजनिक गरियो । 

त्यस क्रममा निरज प्रधानको ठाउँमा पदपूर्ति गर्न भर्खरै पठाएको कर्मचारीलाई समेत प्रहरीले पक्राउ गरेर आरोपित बनायो । आरोप प्रमाणित नभई बैंकका कर्मचारीहरुको फोटो खिचेर र निर्दोष महिला कर्मचारीको चरित्र हत्या गर्नेगरी गलत आरोप लगाउने कुराले सिंगो बैंकिङ क्षेत्रका कर्मचारी आतंकित बनेको उनको तर्क छ । 

ती अधिकृत भन्छन्, ‘अदालतबाट दोषी प्रमाणित भएर कारवाही गर्ने कुरामा कसैको विमति नहुने भए पनि आशंकाकै भरमा दोषी र निर्दोष नछुट्टाई प्रहरीले अपराधी जस्तो व्यवहार गर्नु गलत हो । जब बैंकले जुन जुन ग्राहकको खाताबाट पैसा चोरी भएको छ भनेर थाहा भयो, उनीहरुको खातामा तत्कालै सोधभर्ना गरिसकेको थियो । सो कुराको जानकारी नेपाल राष्ट्र बैंकलाई पनि गर्दिसकेको थियो ।’ 

यस्ता घटनामा शंकाका आधारमा छानविन र सोधपुछ गर्नु प्रहरीको स्वाभाविक अधिकार भए पनि बैंकिङ फ्रड कसरी भएको छ ? दोषी को हो ? यसको प्राविधिक पक्षबारे बैंकसँग नसोधी सबै शाखाका सबै कर्मचारी र बैंकलाई बदनाम गर्ने प्रहरीको शैली व्यवहारिकता र परिपक्वताभन्दा पनि सस्तो लोकप्रियता हासिल गर्ने र फुली बढाउन लक्षित देखिन्छ ।   

बैंकका ती वरिष्ठ अधिकृत भन्छन्, ‘यसअघि नै शंकास्पद व्यक्तिलाई पक्राउ गरिसकेको र अन्य कर्मचारीलाई सोधपुछका लागि बोलाएको हो भनेर प्रहरीले भनेको भए राम्रो पनि हुन्थ्यो । बैंक जस्तो संवेदनशील क्षेत्रको संवेदनशीलता बुझ्न नसकेको जस्तो लाग्यो । जबकी हामीले नै प्रहरीलाई सहयोग गरिरहेका थियौं अनुसन्धानमा । बदमासी गर्ने कर्मचारी को हो ? त्यो व्यक्तिले गरेको बदमासीका आधार र कारणसहित जानकारी पनि गराएका छौं । मुख्य आरोपीले आफू कारवाहीमा पर्ने भएपछि अरुलाई किन जोगाउने ? भनेर सबै मिलेर गरेको भन्दिन सक्छ । त्यसो भन्दा आफू कम सजायमा पर्नसक्ने उसले सोचेको हुनसक्छ । उसले भन्दैमा सबै दोषी हो कि होइन् ? भन्ने कुरा त एक पटक प्रहरीले भेरिफाई गर्नुपर्ने थियो ।’

सोही घट्ना सार्वजनिक भएपछि अहिले फलानो बैंकमा रहेको पैसा असुरक्षित छ भनेर गलत प्रचार गर्न खोजिँदै छ भन्दै बैंकले यसले एभरेष्ट बैंकलाई मात्रै नभएर समग्र बैंकिङ प्रणालीलाई असर पारेको बताएको बताएको छ । 

कुनै कर्मचारीले गल्ती वा बदमासी गरे पनि सर्वसाधारण निक्षेपकर्ताको पैसाको सुरक्षा गर्नु बैंकको दायित्व हो भन्दै बैंकका ती अधिकृतले सोही हिसावमा चोरी भएको पैसा कानुनी प्रक्रियाबाट उठाउँदै गरौंला, तर निक्षेपकर्ताको निक्षेप जस्ताको तस्तै कायम हुनुपर्छ भनेर आफूहरुले तत्कालै शोधभर्ना गरेर सम्वन्धित निक्षेपकर्ताहरुलाई जानकारी पनि गराएको बताए । 

ग्राहकहरुले विगत २८ बर्षदेखि विश्वास गर्दै पैसा राख्दै आएको सन्दर्भमा अहिले एक कर्मचारीको नियत खराब भएर पैसा चोर्दैमा बैंकप्रतिको विश्वास आफूहरुले टुट्न नदिने उनले बताए । यस्तो घट्नामा निक्षेपकर्ताको निक्षेपको सुरक्षाको ग्यारेन्टी बैंकले गर्ने भएकाले निश्चिन्त भएर कारोबार गर्न पनि ती कर्मचारीले आग्रह गरे । 

Advertisement

Advertisement