नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएका सबै ठूला नेता र प्रशासकमाथि छानविन गर्न माग

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भूटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउन माग गरेका छन् ।

बुधवार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले नक्कली भूटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउन माग गरेका हुन् । लामिछानेले अहिले भइरहेको छानबिनले जनताले चाहेको जस्तो नतिजा दिन नसक्ने भन्दै छानबिनका लागि संसदले विशेष समिति बनाउनुपर्ने बताए । 

Advertisement

उनले यस प्रकरणमा नाम आएकाहरु सबैसँग सोधपुछ नभएको भन्दै आपत्ति जनाए । लामिछानेले नाम मुछिएकाहरु सबैसँग बयान लिन पनि माग गरे । उनले भने, ‘भ्रष्टाचारको विषयलाई लिएर हामीले बारम्बार कुरा उठाउँदै आइरहेका थियौँ । तीन राजनीतिक दलहरु खुसुर खुसुर बसेको कुरालाई लिएर आशंका व्यक्त गर्दै आइरहेका थियौँ । आज कुनै राजनीतिक दल बाँकी रहेको छैन जसलाई आरोप लाग्न बाँकी रहेको होस् । त्यतिमात्र होइन, राज्यका निकायहरुको नाम यसरी आइरहेको छ, अनुसन्धान गर्ने अधिकारी, त्यसका प्रमुखहरुको नाम आइरहेको छ । यस्तो अवस्थामा यो कुनै अध्याँरो कोठामा, कुनै गल्लीमा भएको क्रियाकलाप छैन् । दिउँसै, दिन दहाडै, दिनको उज्यालोमा, प्रधानमन्त्री कार्यालय बालुवाटारमा, मन्त्री क्वाटरमा, मन्त्री बस्ने सिंहदरबारमा लेनदेन भएको यस्ता विषयहरु आइरहेका छन् ।’ 

लामिछानेले थपे, ‘यहाँ मुछिएका मान्छेहरु हेर्नुस् । यो राज्यमा हामीले कसलाई विश्वास गर्ने ? त्यसकारणले विश्वासको वातावरण बन्द भएको छ । यसका लागि संसदीय विशेष समिति बनाएर यसको छानबिन गर्नुपर्ने हुन्छ । जुन जुन निकायहरु यसमा लागि परेका छन्, कसैको पनि विश्वास गर्ने वातावरण नभएको हुनाले सभामुखमार्फत यो अनुरोध गर्न चाहन्छु, ज–जसको नाम आएको छ तिनलाई छानविनको सम्म दायरामा ल्याउनु नहुने, सोधपुछ सम्म गर्नु नहुने गरी किन डराएको ? गृहमन्त्रीले मुटु दह्रो छ भन्नुभएको थियो । प्रधानमन्त्रीले मुटु दह्रो छ भन्नुभएको थियो । उहाँको मुटु कहाँ गएर चेक गर्ने ? उहाँको मुटु कति दह्रो छ भन्नेकुरा हामीले देखेका छौँ ।’ 

नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका सबै ठूला नेतालाई सोधपुछ हुनुपर्ने उनको माग छ । लामिछानेले ठूला सबै भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । उनले भने, ‘खुट्टा कमाउनु भएन । हाम्रा हकमा, आम नागरिकका हकमा, बयान दिन आउँछु भन्दाभन्दै धरपकट गरेर लिएर गएको इतिहास छ । न्युज रुमबाट समातिएको मान्छे म यहीँ छु । मान्छेले अडियो दिएका छन् । प्रहरी प्रमुखले अडियो सही हो भनेका छन् । एक पटक सोधपुछका लागि बोलाउन नहुने को हो उहाँहरु ? यत्रो ठूलो अन्तर्राष्ट्रिय बेइजत भएको अवस्थामा यो कदापी हुन दिँदैनौ । यो छानबिनले नेपाली जनताले चाहेको जस्तो नतिजा दिन सक्दैन । संसदले विशेष समिति बनाउनुपर्छ । म अनुरोध र माग गर्न चाहन्छु ।’

Advertisement

Advertisement