शेयर बजार लगातार सातौं दिन पनि बढ्यो, कारोबार रकम उत्साहजनक

Advertisement

काठमाडौं । शेयर बजार लगातार आज सातौं दिन पनि बढेको छ । गत साताको मंगलबारदेखि बजार निरन्तर उकालो लागिरहेको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १६.४९ अंकले बढेको हो । ०.८५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९५९.१२ अंकमा उक्लिएको छ । 

Advertisement

आज २७० कम्पनीका ४८ लाख ६५ हजार ४ सय ७५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८७ करोड ३० लाख १८ हजार २४.०९ रुपियाँ बराबरको कारोबार भएको हो । 

बजार निरन्तर बढिरहँदा आज आत्मनिर्भर लघुवित्त र यूनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी क्रमशः १० र ९.९६ प्रतिशतले नाफा कमाएका छन् । 

त्यसैगरी सानिमा इक्वीटी फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी ३.७७ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज पनि शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त बैंकको १४ करोड ६४ लाख ९१ हजार ७४.५० रुपियाँको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार बजार ५.८८ अंकले बढ्दा १ अर्ब ६९ करोड ४ लाख ९२ हजार ७ सय ३१.५३ रुपियाँ, सोमबार ८.१० अंकले बजार बढ्दा १ अर्ब २७ करोड ८७ लाख ४ हजार ७ सय २६.३८ रुपियाँ र हिजो मंगलबार ५१.३१ अंकले बजार बढ्दा २ अर्ब २० करोड २३ हजार ९ सय ४५.८७ रुपियाँ बराबरको कारोबार भएको थियो ।  

लामो समयदेखि निरन्तर घटिरहेको शेयर बजारमा केही दिन यता उत्साह छाएको छ । बैंक ब्याज घट्यो क्रममा रहेको र नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर कम्पनीको लाइसेन्स प्रदान गरी शेयर बजारमा आकर्षण बढाउन भूमिका खेलेकाले लगानीकर्ताहरु उत्साहित भएको आंकलन गरिएको छ ।  
 

Advertisement

Advertisement