पशुपतिमा नक्कली जलहरी राखिएको विषयले एमाले डरायो, संसदीय छानविन हुनुपर्छः दाहाल

Advertisement

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरको जलहरीको विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन् । 

शुक्रवार संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले पशुपतिनाथ मन्दिरमा जलहरी लगाउँदा सुन कम भएको कुरा आएको भन्दै सो विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरे । दाहालले आफूले जलहरीको कुरा मात्रै संसदमा नउठाएको भन्दै केपी ओली नेतृत्वको सरकारमा भएका भ्रष्टाचारका विषयहरु उठाएको र तत्कालिन प्रधानमन्त्रीको हैसियतले ओलीले जिम्मेवारी लिनुपर्ने भनेको बताए । 

Advertisement

यस विषयमा ओलीलाई व्यक्तिगत रुपमा किटान नगरेको उनको भनाई छ । दाहालले आफूले संसदीय मर्यादा उल्लंघन नगरेको पनि बताए । उनले भने, ‘पशुपतिनाथमा जलहरी लाउँदा सुन भनेर पित्तल लगाएको काण्ड, ११ किलो सुन कम भएको महालेखाको प्रतिवेदनमा पनि आएको छ । महालेखाको प्रतिवेदनमा पनि के देखिन्छ भने त्यहाँ हिसाव प्रष्ट नभएको, सुन कम भएको, ज्याला दिएको पनि कुनै लेखांकन नभएको भनेर प्रतिवेदन दिएको तथ्यको आधारमा उहाँको सरकारको पालामा भएको भ्रष्टाचारका काण्डहरु किन नियन्त्रण गर्न सक्नुभएन् ? यसको नैतिक जिम्मेवारी प्रधानमन्त्रीको हैसियतले तपाईंले लिनुपर्छ कि पर्दैन् ? भन्ने सन्दर्भमा बोलेको कुरालाई उहाँहरुले अनावश्यक इस्यु उठाइरहनुभएको छ मेरो गम्भीरतापूर्वक माग के छ ? भने संसदीय छानविन समिति गठन गरौँ । त्यो सुन कसले खायो ? नैतिक हिसावले सरकारको नेतृत्व गरेको नाताले तत्कालिन नेकपाको अध्यक्ष र प्रधानमन्त्री भएको नाताले स्वभावैले केपी ओलीले लिनैपर्छ ।’ 

दाहालले थपे, ‘व्यक्तिगत हिसाबले किटान गरिएको थिएन् । उहाँको सरकारको पालामा भएको भ्रष्टाचारको फेहरिस्त बताउने क्रममा यो विषयवस्तु उठान भएको हो । मैले कही संसदीय मर्यादा उल्लंघन गरेको छैन् । मेरो बोल्न पाउने अधिकार मसँग सुरक्षित छ नि । मैले आफ्नो अधिकार प्रयोग गरेको हुँ । कसैको अधिकारमाथि हस्तक्षेप गरेको छैन ।’

Advertisement

Advertisement