शेयर बजारमा उत्साहः सात दिनमा १४० अंकले बढ्यो नेप्से, आगामी यात्रा कस्तो रहला ?

Advertisement

काठमाडौं । गत साताको मंगलबार अर्थात जेठ २ गतेदेखि निरन्तर शेयर बजार उकालो चढ्दै आएको छ । 

जेठ १ गते सोमबार ओरालो झरेर १८१८.३१ अंकमा झरेको बजार त्यसपछिका सात दिन लगातार बढेर जेठ ११ गते बिहीबार आइपुग्दा १९५९.१२ अंकमा उक्लिएको छ । यसरी हेर्दा पछिल्लो सात दिनमा निरन्तर बजार बढ्दा १४०.८१ अंकले उकालो चढिसकेको छ । 

Advertisement

जेठ २ गते मंगलबार ३.२९ अंक, जेठ ३ गते बुधबार २३.३९ अंक र जेठ ४ गते ३२.३० अंकले बजार बढेको थियो । 

यो साताको पहिलो दिनदेखि चौथो दिनसम्म नै बजार बढ्यो । पाँचौं दिन भने मच्छिन्द्रनाथको भोटो जात्राका दिन उपत्यका बिदा भएकाले बजार बन्द रहेको थियो । 

यो साताको पहिलो दिन आइतबार ७ गते ५.८८ अंक, ८ गते सोमबार ८.१० अंक, ९ गते मंगलबार ५१.३१ अंक र १० गते बुधबार १६.४९ अंकले बजार उकालो लाग्यो । 

बजार उकालो लागेसँगै कारोबार रकममा पनि बढोत्तरी भएको छ । करीब ५० करोडकै हाराहारीमा झरेको कारोबार बढेर करीब सवा २ अर्बसम्म पुगेको छ । यो साताको मंगलबार २ अर्ब २० करोड रुपियाँ बराबरको कारोबार भएको थियो ।

लामो समयदेखि निरन्तर घटिरहेको शेयर बजारमा केही दिन यता उत्साह छाएको हो । बैंक ब्याज घट्यो क्रममा रहेको र नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर कम्पनीको लाइसेन्स प्रदान गरी शेयर बजारमा आकर्षण बढाउन भूमिका खेलेकाले लगानीकर्ताहरु उत्साहित भएको आंकलन गरिएको छ । 

नयाँ सात ब्रोकर कम्पनीलाई लाइसेन्स दिने सेबोनको निर्णय, कुन-कुनले पाए ? (सूचीसहित)

आगामी आव २०८०/८१ को बजेट सोमबार प्रस्तुत हुँदैछ । बजेट शेयर बजारमैत्री आउने आशामा लगानीकर्ताहरु रहेका छन् । शेयर बजारको समस्या समाधानका लागि केही दिन यता लगानीकर्ताका अगुवा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व उपप्रधानन्त्री राजेन्द्र लिङ्देनलाई ६ बुँदे ज्ञापन पत्र बुझाएका छन् । 

नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल र नेपाल पूँजी बजार लगानीकर्ता संघका प्रतिनिधिहरुले राजनीतिक दलका शीर्ष नेतृत्वलाई भेटेर माग प्रस्तुत गरेका हुन् । लगानीकर्ताहरुमा पछिल्लो समय बढेको उत्साहले आगामी साता पनि बजारले थप उचाई लिन आंकलन गरिएको छ । 

विगतमा शेयर बजार बढेको बेला नेप्से ३२ सय अंकसम्म पुगेको थियो भने एकै दिन २१ अर्ब बढीको कारोबार भई रेकर्ड कायम भएको थियो । नेप्से २०७८ भदौ २ गते हालसम्मकै उच्च ३१९८.६० अंकमा पुगेको थियो । २०७८ साउन ३१ गते एकै दिन हालसम्मकै उच्च २१ अर्ब ६४ करोड ७६ लाख ६ सय ५५ रूपियाँ बराबरको कारोबार भएको थियो । 

यी हुन् लगानीकर्ताका मागः 
१। लगानीकर्ताहरुको प्रमुख माग रहेको खुल्ला रुपमा नयां ब्रोकर लाइसेन्स, नयां स्टकएक्सचेन्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्स वितरण प्रकिया बिना ढिलासुस्ति कार्यान्वयन गर्ने । 

२। बाह्र करोडसम्मको शेयर कर्जाको सीमाले शेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्था फिर्ता लिनका लागि अनुरोध । 

३। शेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिनुहुन अनुरोध ।

४। लगानीकर्तालाई अल्पकालीन र दीर्धकालीन लगानीकर्ताको रुपमा विभाजन गरी सोहि अनुरुप अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दिर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पूँजीगत लाभकर लगाउने व्यवस्था गर्ने । 

५। विधमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकाले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गरिदिनुहुन अनुरोध ।

६। तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना हुन गएकाले उक्त समस्याको तत्काल समाधान गर्ने ब्यवस्था गरिदिनु हुन अनुरोध ।


 

Advertisement

Advertisement