अझ कति धेरै घेराबन्दी होला, तर भ्रष्टहरुलाई देशबाट नलखेटेसम्म मिश्राम लिन्नौंः लामिछाने

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकका भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताएका छन् । 

शनिबार स्वतन्त्र पार्टीद्धारा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंग उठाउँदै भ्रष्टहरुलाई देशबाट नलखेटेसम्म आफूहरुले विश्राम नलिने बताए । 

Advertisement

उनले आफूमाथि जतिसुकै मुद्दा लगाइए पनि, घेराबन्दी गरे पनि भ्रष्टाचार विरुद्धको पार्टीको अभियान नरोकिने बताए । नेपाली जनताले आफ्नो पार्टीलाई भ्रष्टाचार नियन्त्रणका लागि मत दिएको जिकीर गर्दै लामिछानेले सो कामलाई पहिलो प्राथमिकता दिएर अघि बढाउने बताए । 

उनले भने, ‘कुनै पनि भ्रष्टहरुको विषयमा हामी निर्मम भएर अगाडि बढछौं । यति भन्दै गर्दा अझ कति धेरै घेराबन्दी होला । कत्रो सजाय भोग्नु पर्छ होला । मलाई थाहा छैन । तर मलाई मतलव छैन । किन मतलव छैन भने नेपाली जनताले त्यसै भोट हालेका होइन । भोट हाल्न नेता नभएर होइन । नेपाली जनतालाई जिन्दावाद भन्न अरु कुनै पार्टी नभएर होइन् । नेपाली जनतालाई भोट हाल्नका लागि अरु कुनै चिन्ह नभएर होइन ।’ 

लामिछानेले थपे, ‘नेपाली जनताले यो भ्रष्टाचार चाँही निर्मूल पार्नु पर्यो भनेर घण्टी बजाएका हुन । नेता नभएर होइन । पार्टी नभएर होइन । झण्डा नभएर होइन, चुनाव चिन्ह नभएर होइन । यो कुरा हामीले बुझेका छौं । त्यसकारणले जतिसुकै घेराबन्दी हुन । जतिसुकै मुद्दा चल्दै गरुन । भ्रष्टहरुलाई यो देशबाट नलखेटेसम्म र भ्रष्टाचारको जरो नउखालेसम्म हामी विश्राम लिँदैनौं । अरु विवाद हामी गर्दै गरौंला । अरु छलफल हामी गर्दै गरौंला ।’

सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीको अनुसन्धानमाथि पनि आफूहरुलाई शंका लागेकाले संसदीय विशेष समिति बनाएर छानविन गर्न माग गर्नुपरेको बताए । उनले संसदीय विशेष समिति बनाएर सो प्रकरणमा संलग्नहरुलाई कारबाही गर्नका लागि आफ्नो पार्टीले सक्दो पहल गर्ने समेत बताए । 

Advertisement

Advertisement