जलहरी प्रकरणमा ओलीलाई दोष लगाउन नमिल्ने प्रधानमन्त्री दाहालको तर्क

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपतिनाथको जलहरी प्रकरणमा प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीलाई जोडेर संसदमा अभिव्यक्ति दिनु उचित नभएको तर्क गरेका छन् । 

उनकै पार्टी माओवादी केन्द्रका साँसदले जलहरी प्रकरणाम ओली दोषी रहेको भन्दै संसदमा अभिव्यक्ति दिएपछि एमालेले शुक्रबार संसदमा अवरोध सिर्जना गरेको थियो । तर शनिबारको संसदमा दाहालले ओलीको बचाउ गरेका हुन् । 

Advertisement

पार्टीका सांसद लेखनाथ दाहालले सो प्रकरणबारे ओलीलाई जोडेर संसदमा दिएको अभिव्यक्ति उचित नभएको उनको भनाई थियो । शनिबार प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै एमाले सांसदहरुले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले त्यसबारे जवाफ दिन प्रधानमन्त्री दाहाललाई समय दिएका थिए । 

दाहालले सो प्रकरणबारे पार्टीका सांसद दाहालले बोलेको कुरा संसदका रेकर्डबाट हटाउन सकिने प्रचलन गरेको पनि स्मरण गराए । उनले सो प्रकरणबारे अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको र स्वतन्त्र तथा निष्पक्ष छानविन हुने आश्वासन समेत दिए ।

दाहालले भने, ‘श्री पशुपतिनाथ मन्दिरमा रहेको जलहरीबारे सम्मानित सदनमा चर्चा उठेको छ । पशुपतिनाथ मन्दिरको जलहरी लगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोषको हो । र, सोही संस्थाले काम गरेको विषयमा कुनै विवाद छैन । जलहरीका केही विषयबारे अख्तियार दूरुपयोग अनुसन्धान आयोगको निवेदन परी छानविन, अनुसन्धान भईरहेको छ । यस विषयमा अख्तियार दूरपयोग अनुसन्धान आयोगले स्वतन्त्र एवम् निष्पक्ष छानविन गर्नेनै छ । यसमा सरकारको सहयोग रहनेछ । पशुपति विकास कोषसँग सम्बन्धित पशुपतिनाथको जलहरी सम्बन्धि विषयमा प्रमुख प्रतिपक्षको नेतालाई जोडेर सम्मानित सदनमा विचार व्यक्त हुनु उचित होइन । यस्ता विषय संसदको रेकर्डबाट हटाउने प्रचलन पनि रहेकै छ । यति भनिसकेपछि मैले नीति, कार्यक्रम सम्बन्धि उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम आज नै रहेको छ । बाँकि विस्तृत रुपमा म त्यतिबेला नै कुरा राख्नेछु ।’

उनले जवाफ दिएपछि अहिले संसद बैठक सूचारु भएको छ । 

Advertisement

Advertisement