धेरै नाफा गर्ने सार्वजनिक संस्थान यस्ता छन्, विद्युत प्राधिकरणले कमायो रु. १३ अर्ब ३७ करोड !

Advertisement

काठमाडौं । सरकारी लगानी रहेको सार्वजनिक संस्थामध्ये धेरै कमाई गर्ने पाँच वटाले आर्थिक वर्ष २०७८,७९ मा ३२ अर्ब २५ करोड ७४ लाख रुपियाँ खुद नाफा गरेको छन् ।

आइतबार सरकारले सार्वजनिक गरेको संस्थानहरुको अवस्थासम्वन्धी प्रतिवेदनमा सबैभन्दा धेरै नाफा कमाउनेमा नेपाल विद्युत प्राधिकरण देखिन्छ । प्राधिकरणले गत वर्ष १३ अर्ब ३७ करोड ४७ लाख खुद नाफा गरेको जनाइएको छ । तर यो रकम अधिकांश कागजीरुपमा नाफा देखिए पनि अशुलउपर हुनसक्ने हिसाव हो । प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेवापत ठूला उद्योग, व्यवसायलाई अतिरिक्त शुल्क लगाए पनि व्यवसायीहरुले भने त्यसलाई गैरकानुनी भन्दै तिर्न अस्वीकार गर्दै आएका छन् । 

Advertisement

उक्त बक्यौता रकममा हरेक बर्ष जरिवाना थपिँदै प्राधिकरणको हिसावमा नाफा बढ्दै गएको छ । यस्तै नाफा विवादित नाफा उसले आफ्ना बिजुलीका पोल प्रयोग गरेवापत इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई पनि लगाएको छ । तर उनीहरुले पनि तिर्न अस्वीकार गर्दै आएका छन् ।  
 
यस्तै, दोस्रो धेरै नाफा गर्ने कम्पनीमा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) रहेको छ । कम्पनीले गत वर्ष आठ अर्ब ४७ करोड खुद नाफा गरेको छ ।

यसैगरी, तेस्रो नम्बरमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । बैंकले गत वर्ष चार अर्ब २९ करोड २८ लाख नाफा गरेको छ । चौथो धेरै नाफा गर्नेमा नागरिक लगानी कोष रहेको छ । कोषले गत वर्ष तीन अर्ब १० करोड ४२ लाख रुपियाँ खुद नाफा गरेको छ । 

पाँचौ धेरै नाफा गर्ने सार्वजनिक निकायमा निक्षेप तथा कर्जा सुरक्षण कोष रहेको छ । कोषले गत वर्ष तीन अर्ब एक करोड ५० लाख रुपियाँ खुद नाफा गरेको छ ।

वि.सं. २०४७ को अन्त्यसम्म सरकारको पूर्ण र आंशिक स्वामित्व रहेका सार्वजनिक संस्थानको संख्या ६२ रहेकोमा बहुदल आएपछि दलहरुले अधिकांश संस्थानहरु सस्तो मूल्यमा निजी क्षेत्रलाई बिक्री गर्ने र बन्द गर्ने काम गरेका थिए । हाल ५० प्रतिशतभन्दा बढी सरकारी स्वामित्व रहेका सार्वजनिक संस्थानहरुमध्ये औद्योगिक क्षेत्रमा १० वटा, व्यापारिक क्षेत्रमा चार वटा, सेवा क्षेत्रमा ११ वटा, सामाजिक क्षेत्रमा पाँच वटा, जनपयोगी क्षेत्रमा पाँच वटा, वित्तीय क्षेत्रमा नौ वटा गरी ४४ वटा छन् । ती मध्ये ४२ वटा मात्रै सञ्चालनमा छन् । तीस वटा संस्थान निजीकरण भइसकेका छन् । 

आर्थिक बर्ष २०७७–७८ मा संस्थानहरुको कूल सञ्चालन आय चार खर्ब २२ अर्ब ४४ करोड रहेकोमा २०७८–७९ मा ३६.२२ प्रतिशतले बढेर पाँच खर्ब ७५ अर्ब ४३ करोड रुपियाँ पुगेको छ । तर अघिल्लो बर्षृको तुलनामा संस्थानहरुको खुद नाफा ९४.१५ प्रतिशतले घटेको छ । 

 

Advertisement

Advertisement