चार वर्षभित्रै 'टप फाईभ'मा पुग्ने युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको उद्घोष

Advertisement

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र अजोड इन्स्योरेन्स लिमिटेड एकआपसमा गाभिएर बनेको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको एकीकृत कारोबार सुरु भएको छ । आइतबारबाट एकीकृत कारोबार शुरु गरेको कम्पनीले आगामी चार वर्षभित्र सर्वश्रेष्ठ ५ निर्जीवन बीमा कम्पनीभित्र पर्ने उद्घोष गरेको हो । 

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आइतबार काठमाडौंमा आयोजित विशेष समारोहमा नयाँ कम्पनीका अध्यक्ष आजाद श्रेष्ठलाई इन्स्योरेन्स अपरेसन्स लाइसेन्स हस्तान्तरण गरेका थिए ।

Advertisement

मर्जरसँगै कम्पनीको चुक्ता पुँजी एक अर्ब ९० करोड ४६ लाख रुपियाँ पुगेको छ । कम्पनीको सामान्य जगेडा कोषमा ५९ करोड ६७ लाख र बीमा कोषमा ७२ करोड ६४ लाख रुपियाँ छ । कम्पनीको नेट वर्थ ३ अर्ब २६ करोड ३५ लाख पुगेको छ । त्यसैगरी शाखा संख्या १०० र कर्मचारी संख्या ५८१ कायम भएको छ । बीमालेख संख्या १ लाख ९२ हजार ८२५ र कुल प्रिमियम २३९ करोड ७९ लाख रुपियाँ पुगेको छ । नियमनकारी निकायले तोकेका क्षेत्रहरुमा गरिएको कम्पनीको लगानी ३ अर्ब ९८ करोड ७९ लाख रुपियाँभन्दा माथि पुगेको छ । 

सिलवालले मर्जरपछिको कम्पनीमा सिनर्जी ल्याएर उत्कृष्ट सेवा प्रदान गर्न सुझाव दिए । उनले बीमालेखको लागत घटाउन र भइरहेका बीमालेखमा थप सुविधा दिन पनि सल्लाह दिए । त्यस्तै, आगामी दिनमा बीमा कम्पनीहरुलाई मापदण्ड पूरा नगरी शाखा खोल्ने अनुमति नदिने उनले बताए । 

कार्यक्रममा युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडका अध्यक्ष रविभक्त श्रेष्ठले गुणस्तरीय सेवा दिन र बीमाको लागत घटाउन कम्पनी मर्जरमा गएको बताए । उनले कम्पनीको पुँजी बढाएर ठूलो बनाउनुपर्ने आवश्यकता महसुस भइरहेकै बेला नियामकले चुक्तापुँजी बढाउनुपर्ने नियम ल्याएपछि दुई कम्पनीबीच मर्जर भएको बताए । 

त्यस्तै, नवनियक्त युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका अध्यक्ष आजाद श्रेष्ठले चार वर्षमा कम्पनीलाई प्रतिस्पर्धी मूल्य, स्तरीय सेवा र नविन प्रडक्टसहितको निर्जीवन बिमा सेवा दिने पाँच सर्वश्रेष्ठ कम्पनीको पंक्तिमा उभ्याउने बताए ।

निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कम्पनीलाई शुभकामना दिने क्रममा नयाँ कम्पनीलाई अनुमति दिँदा नियामकले विचार पुर्याउने बताए ।

नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले बीमा कम्पनीहरु बीमा सेवा नपुगेको जनसंख्यामा पुग्नुपर्नेमा जोड दिए ।  

उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, कम्पनी रजिस्ट्रारको कार्यालय र सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख तथा उच्च अधिकारीहरु सहभागी भएका थिए ।

Advertisement

Advertisement