सगरमाथा दिवसका अवसरमा राजधानीमा प्रभातफेरी

तेन्जिङ र हिलारीले सगरमाथामा पाइला टेकेसँगै पर्वतीय पर्यटनमा सुखद् शुरुवात भयोः शेर्पा

Advertisement

काठमाडौं । सोह्रौं अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा राजधानीमा सोमबार बिहान प्रभातफेरी गरियो । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानव पाइला टेक्न सफल भएको आज ७० वर्ष पुगेको अवसरमा प्रभातफेरी गरिएको हो । आज देशभर विभिन्न कार्यक्रम गरी सगरमाथा दिवस मनाइँदै छ । 

नेपालका तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिख आज कै दिन पहिलो पटक सगरमाथामा आफ्नो पाइला राख्न सफल भएका थिए । सोही दिनलाई आधार मानेर नेपाल पर्वतारोहण संघले हरेक बर्ष यो दिवस मनाउने र विशेष कार्यक्रम आयोाजना गर्ने गरेको छ । 

Advertisement

संघका अध्यक्ष नीमानुरु शेर्पाले तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर नेपाललाई विश्वसामु चिनाउने काम गरेको बताए । उनले नेपालमा पहिलो पटक मानव पाइला सगरमाथामा पुगेसँगै नेपालमा पर्वतीय पर्यटकको सुखद् शुरुवात भएको बताए । 

शेर्पाले सगरमाथा दिवस मनाउन निजी क्षेत्रले गरेको प्रस्तावलाई सरकारले स्वीकार गरेर २००८ सालदेखि निरन्तर राष्ट्रियरुपमा यो दिवस मनाउँदै आएका बताए । उनले सगरमाथा दिवसलाई विश्वव्यापीकरण गर्नका लागि संघले अन्तर्राष्ट्रिय संघ संस्थाहरुमार्फत समन्वय गरिरहेको बताए । 

शेर्पाले तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीको सम्झनामा अब नेपालको पर्वतीय पर्यटनको संरक्षण गर्ने दायित्व आफूहरुको रहेको बताए । उनले सरकारले पर्वतीय पर्यटन क्षेत्रको विकासमा विशेष प्राथमिकता दिए विश्वको पहिलो नम्बरमा नेपाल पर्न सक्ने अवस्था रहेको बताए । 

शेर्पाले भने, ‘मे २९, १९५३ मा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले विश्वको शिखर सगरमाथा आरोहण गरेर नेपाललाई विश्वसामु चिनाउने काम भएको थियो । पर्वतीय पर्यटनको सुखद् शुरुवात भएको छ । एडभ्यान्चर पर्यटन नेपालमा बढेको छ । उहाँहरुले सगरमाथा आरोहण गरेको ७० वर्ष भएको छ । उहाँहरुको सम्झनामा एडभ्यान्चर पर्यटन नेपालमा कसरी विकास गर्न सकिन्छ । त्यसको संरक्षण गर्ने दायित्व हामीलाई आएकाले उहाँहरुको सम्झनामा सगरमाथा दिवस मनाउँदै आएका छौं ।’ 

उनले सगरमाथाको प्लाटिनम जुब्ली कार्यक्रमको माध्यमबाट नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धधन गर्न उपयोगी बनाउन आवश्यक रहेको बताए । शेर्पाले सगरमाथा संसारको उच्च शिर भएकाले सगरमाथामा हुने हरेक गतिविधिहरू राष्ट्रिय–अन्तर्राष्ट्रिय मिडियाले सम्प्रेषण गर्ने बताए । सरकारले आरोहणका लागि हालसम्म चार सय १४ वटा हिमाल खुला गरेको छ । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये नेपालमा आठ छन् । 

सगरमाथा दिवसको अवसरमा आयोजित समारोहमा सगरमाथा राष्ट्रिय पुरस्कार विश्वका १४ वटा अग्ला हिमाल दोहोर्याएर चढ्ने पहिलो आरोही सानु शेर्पालाई, तेन्जिङ हिलारी पुरस्कार २७औं पटक सगरमाथा आरोहण गरेका पासाङ दावा शेर्र्पा, पर्वतारोही पासाङ ल्यामु शेर्पा अकिता, नेपाली सेनाका कर्नेल किशोर अधिकारीलाई र २८औं पटक आरोहण गरेर आफ्नै विश्व रेकर्ड तोडेका विश्व कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पा, कृतिम खुट्टाको भरमा सगरमाथा आरोहण गरी विश्व रेकर्ड बनाएका भूतपूर्व गोरखा सैनिक हरि बुढामगर, नापी विभागका प्रमुख सर्वेक्षण अधिकारी खिमलाल गौतमलगायतलाई सम्मानसहित ब्याज वितरण गरियो । 

सोही अवसरमा सात वटा एक्स्पडिशन कम्पनीहरुलाई पनि सम्मान गरियो । उनीहरुलाई २०२२ मा सबै भन्दा पर्यटक सगरमाथामा आरोहणको लागि पठाउन सफल भएकोमा सम्मान गरिएको हो । कार्यक्रममा १५०
सगरमाथा आरोहीहरुलाई ब्याज वितरण गरिएको थियो ।

Advertisement

Advertisement