आर्थिक विधेयकमार्फत करका दरमा हेरफेरः कुन वस्तुको अन्तःशुल्क कति बढ्यो ? (सूचीसहित)

Advertisement

काठमाडौं । सरकारले आर्थिक विधेयक २०८० मार्फत विभिन्न वस्तुको करका दरमा हेरफेर गरेको छ । आर्थिक विधेयकअनुसार विभिन्न वस्तुमा अन्तःशुल्कका दरहरू पनि बढाइएका छन् ।

आर्थिक विधेयकअनुसार उखुको खुदोको अन्तःशुल्क प्रतिक्विन्टल ९६ बाट बढाएर प्रतिक्विन्टल रू एक सय पाँच बनाइएको छ । सक्खर (गुँड र भेलीसमेत), गुँडगट्टाको अन्तःशुल्क पनि प्रतिक्विन्टल रू एक सय पाँच पुर्याइएको छ । 
 
अन्डा मिसाइएका स्पागेटी, म्याक्रोनी, नुडल्स, लसान्या, नोकी, राभिओली, कुकु (उत्तर अफ्रिकी खाद्य पदार्थ) पास्तालगायतका वस्तुमा प्रतिकिलो रू १७ अन्तःशुल्क लाग्ने गरेकोमा बढाएर प्रतिकिलो रू २० पुर्याइएको छ ।

Advertisement

कुरकुरे, कुरमुरे, लेज, चिजबल प्रतिकिलो रू १७ अन्तःशुल्क रहेकोमा त्यसलाई बढाएर प्रतिकिलो रू २० पुर्याइएको छ । आलु चिप्स प्रतिकिलो रू १७ अन्तःशुल्क लाग्ने गरेकोमा रू एक बढाएर रू १८ पुर्याइएको छ ।

सुन्तलाको रस (फ्रोजेन अरेन्ज जुस), भोगटेको रस, भुइँकटहरको रस, गोलभेँडाको रस (टमाटो जुस), अङ्गुरको रस, स्याउको रस, आँपको रस, क्यानबेरी जुस, म्याक्रोकार्पन जुसलगायत वस्तुमा प्रतिलिटर रू ११ बाट बढाएर रू १३ पुर्याइएको छ ।

सुर्तीरहित पान मसला प्रतिकिलो रु आठ सय २१ बाट बढाएर आठ सय ५० पुर्याइएको छ । त्यस्तै, सुर्तीरहित सुगन्धित सुपारी (गुट्खा)को अन्तःशुल्क प्रतिकिलो रू तीन सय ५० बाट बढाएर रू तीन सय ६५ पुर्याइएको छ ।

अल्कोहलरहित बियर प्रतिलिटर ३० बाट बढाएर प्रतिलिटर ३५, जौबाट बनेको बियर प्रतिलिटर रू दुई सय २८ बाट बढाएर रू दुई सय ३५ पुर्याइएको छ । एक्स्ट्रा न्युट्रल अल्कोहल (इएनए) प्रतिलिटर रू ८६ बाट बढाएर प्रतिलिटर रू ९० पुर्याइएको छ ।

असीदेखि ९९ प्रतिशतसम्म अल्कोहल भएको डिनेचर्ड स्प्रिटमा प्रतिलिटर रू ३० अन्तःशुल्क लाग्ने गरेकोमा रू ३५ पुर्याइएको छ । वाइन र ब्रान्डीको कच्चा पदार्थको रूपमा प्रयोग हुने सबै प्रकारका स्प्रिटहरूको अन्तःशुल्क प्रतिलिटर रू दुई सय २८ बाट बढाएर रू दुई सय ३५ पुर्याइएको छ ।

पन्ध्र यु पी शक्तिको (४८ दशमलव पाँच प्रतिशत अल्कोहलको मात्रा भएको) तयारी मदिरामा प्रतिलिटर रू एक हजार सात सय ५० बाट रू एक हजार आठ सय पुर्याइएको छ । त्यस्तै, ३० यु पी शक्ति (३९ दशमलव ९४ प्रतिशत अल्कोहल भएको) तयारी मदिरामा प्रतिलिटर रू एक हजार दुई सय १५ बराबर अन्तःशुल्क लाग्ने गरेको थियो । त्यसलाई बढाएर प्रतिलिटर रू ३५ बढाएर रू एक हजार दुई सय ५० पुर्याइएको छ । 

ह्विस्कीको कच्चा पदार्थको रूपमा प्रयोग हुने स्प्रिटमा प्रतिलिटर रू दुई सय २८ बराबर अन्तःशुल्क लाग्ने गरेकोमा त्यसलाई बढाएर प्रतिलिटर रू दुई सय ३५ पुर्याइएको छ । त्यस्तै रम र अन्य स्प्रिटहरूको कच्चा पदार्थको रूपमा प्रयोग हुने उखुको उत्पादनका स्प्रिटमा पनि प्रतिलिटर रू दुई सय २८ बाट बढाएर रू दुई सय ३५ पुर्याइएको छ ।

पन्ध्र यु पी शक्तिको ह्विस्की (४८ दशमलव पाँच प्रतिशत) अल्कोहल मात्रा भएकोलाई प्रतिलिटर रू एक हजार सात सय ५० बराबर अन्तःशुल्क लाग्ने गरेकोमा बढाएर रू एक हजार आठ सय पुर्याइएको छ । त्यस्तै २५ यु पी शक्ति (४२ दशमलव आठ प्रतिशत अल्कोहल) भएको ह्विस्कीमा प्रतिलिटर एक हजार तीन सय छ बराबर अन्तःशुल्क लाग्ने गरेकोमा त्यसलाई बढाएर रू एक हजार तीन सय ४५ पुर्याइएको छ । उन्चालीस दशमलव ९४ प्रतिशत अल्कोहल भएको ह्विस्कीमा प्रतिलिटर रू एक हजार दुई सय १५ अन्तःशुल्क लाग्ने गरेकोमा बढाएर रू एक हजार दुई सय ५० पुर्याइएको छ ।

जिन र जेनेभाको कच्चा पदार्थको रूपमा प्रयोग हुने स्प्रिटमा प्रतिलिटर रू दुई सय २८ बराबर अन्तःशुल्क लाग्ने गरेकोमा बढाएर प्रतिलिटर रू दुई सय ३५ पुर्याइएको छ । अड्चालीस दशमलव पाँच प्रतिशत अल्कोहल भएको जिनमा प्रतिलिटर एक हजार सात सय ५० बराबर अन्तःशुल्क लाग्ने गरेकोमा प्रतिलिटर रू ५० बढाएर रू एक हजार आठ सय पुर्याइएको छ ।

त्यस्तै, ४२ दशमलव आठ प्रतिशत अल्कोहल भएको जिनमा प्रतिलिटर रू एक हजार तीन सय छ बाट बढाएर रू एक हजार तीन सय ४५ पुर्याइएको छ । उन्चालीस दशमलव ९४ प्रतिशत अल्कोहल भएको जिनमा प्रतिलिटर रू एक हजार दुई सय १५ बाट बढेर रू एक हजार दुई सय ५० पुर्याइएको छ । 
 
फिल्टर नभएको सुर्तीको चुरोटमा प्रतिएम सात सय १० रुपैयाँ अन्तःशुल्क रहेकोमा त्यसलाई रू सात सय ३० पुर्याइएको छ । सत्तरी मिमिसम्मको लम्बाइ भएको चुरोटमा एम एक हजार छ सय २५ बाट बढाएर रू एक हजार छ सय ९० पु¥याइएको छ । सत्तरी देखि ७५ मिमिसम्म लम्बाइ भएकोमा प्रति एम रू दुई हजार तीन सय, ७५ देखि ८५ मिमिसम्मकोमा प्रतिएम रू दुई हजार नौ सय ७० अन्तःशुल्क तोकिएको छ ।

जर्दा, खैनी, नस, गुटखा र निकोटिनयुक्त पान मसला तथा सुर्ती मिश्रित तयारी वस्तुमा प्रतिकिलो रू आठ सय २१ अन्तःशुल्क लाग्ने गरेकोमा त्यो बढेर प्रतिकिलो रू आठ सय ५० पुर्याइएको छ । मार्बल, ट्राभर टिन, इकोजिन र अन्य चुनद्वारा स्मारक वा भवन बनाउन प्रयोग हुने ढुङ्गामा पाँच प्रतिशत अन्तःशुल्क लाग्ने गरेकोमा त्यसलाई बढाएर १५ प्रतिशत पुर्याइएको छ ।

पाँच तारेमाथिका होटल, आयातित मदिरा र बहुमूल्य धातुमा बिलासिता शुल्क

यसैबीच, सरकारले पाँच तारेमाथिका ठूला होटल, आयातित मदिरा र बहुमूल्य धातुको बिक्री वितरणमा दुई प्रतिशत बिलासिता शुल्क लगाएको छ ।

सोमबार संघीय संसदमा प्रस्तुत भएको आर्थिक विधेयक २०८० मा ‘विलासिताका वस्तु तथा सेवाको खरिदमा दुई प्रतिशतका दरले विलासिता शुल्क लगाइ असुल गरिने’ उल्लेख छ ।

पाँच तारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा, आयातित मदिरा, रू दश लाखभन्दा बढीका हिरा, मोती, पत्थर जडित सुनलगायत बहुमूल्य धातुका गहनामा दुई प्रतिशत विलासिता कर लगाइएको छ ।  

पाँच तारे र सोभन्दा माथिका होटल तथा लक्जरी रिसोर्टले सेवा प्रदान गरेको बखत नै विलासिता कर लगाउनेछन् । त्यस्तै, आयातित मदिरामा पैठारी हुने भन्सार बिन्दुमा पैठारीका बखत विलासिता कर लाग्नेछ । रू दश लाखभन्दा माथिका पत्थर जडित धातुका गहना बिक्री गर्दा बिक्रेताले बिक्रीका बखत यस्तो कर लगाउनेछन् ।

विलासिता करबापत सङ्कलन गरेको रकम हरेक महिनाको २५ गतेभित्र राजस्व खातामा जम्मा गरी सोको विवरणसहितको जानकारी सम्बन्धित राजस्व कार्यालयलाई पठाउनुपर्नेछ । कुनै व्यक्तिले विलासिता शुल्कबापतको रकम दाखिला नगरेमा वार्षिक १५ प्रतिशतका दरले ब्याज लगाई असुल गरिने व्यवस्था आर्थिक ऐनमा राखिएको छ ।

त्यस्तै, विलासिता करसम्बन्धी विवरण पेश नगरेमा त्यस्तो व्यक्तिलाई विवरण पेश गर्नुपर्ने मितिबाट विवरण दाखिला नभएको मितिसम्म वार्षिक दुई दशमलव पाँच प्रतिशतका दरले हुन आउने रकम शुल्क लाग्नेछ । विलासिता शुल्कबापतको रकम असुल नगरेमा सो रकमको २५ प्रतिशत शुल्क लाग्ने आर्थिक ऐनमा उल्लेख छ ।

Advertisement

Advertisement