बजेटमा पर्यटन क्षेत्रलाई उपेक्षा गरियो, प्रवर्द्धनको ठोस कार्यक्रम पनि आएन्ः व्यवसायी

Advertisement

काठमाडौं । पर्यटन व्यवसायीहरुले पर्यटन क्षेत्रका लागि छुट्टाएको बजेट अत्यन्तै न्यून रहेको भन्दै सरकारको आलोचना गरेका छन् । सोमबार जारी आउँदो आर्थिक बर्षको बजेटमा पर्यटन विकासका लागि नगन्य बजेट छुट्टाएको भन्दै उनीहरुले पर्यटन क्षेत्र उपेक्षित भएको गुनासो गरेका छन् । 

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नीलहरि बाँस्तोलाले सामुदायिक विद्यालयका विद्यार्थीको दिवा खाजाका लागि छुट्टाएको जति पनि बजेट पर्यटन क्षेत्रले पाउन नसकेको बताए । उनले भने, ‘बजेटमा हिमालसम्बन्धी कुरा कहीं कतै जोडिएको छेन् । यो क्षेत्रलाई फोकस गर्ने, यसरी विकास गर्ने, यसरी रोजगारी बढाउन सकिन्छ भन्ने खालको कुरा नै छैन् ।’ 

Advertisement

पदयात्रा, पर्वतारोहण पर्यटन र साहसिक पर्यटन पनि नजोडिएको भन्दै बाँस्तोलाले केवल नयाँ गन्तव्यहरु अन्नपूर्णको बनाउने, ग्रेट हिमालयन टे«ल फोकस गर्ने, दश लाख पर्यटन भित्राउने र पर्यटन दशक घोषणा गर्ने कुरा मात्रै आएको बताए । 

उनले थपे, ‘बजेटमा हामी पदयात्रीलाई छोएको जस्तो देखिएन् । पूराना गन्तव्यहरुलाई कतै पनि छोएको जस्तो देखिएन् । हराएर गएका पूराना गन्तव्यहरु, स्थानीय सरकारले डोजर चलाएर मेटिसकेका छन् । लामो दूरीका टे«किङ रुट छोटो दूरीमा गइसकेको छ । त्यसलाई पुनःजीवित गराउनका लागि पनि बजेटले केही बोलेको छैन् ।’ 

बाँस्तोलाले बास्तवमा भन्ने हो भने बजेटले पर्यटन क्षेत्रलाई छुन सकेको छैन् भन्दै यति वटा होटल बढाउने, यति मानिसलाई पर्यटन क्षेत्रमा रोजगारी बढाउने, यति पर्यटन क्षेत्रमा लगान भित्राउन प्रोत्साहित गर्ने भन्ने कुरा नै नरहेको बताए । पर्यटन पूर्वाधार विकासको काम धेरै बाँकी रहे पनि त्यो कुरा सम्बोधन गर्न कतै नजोजिएको उनको गुनासो छ । 

नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाले पर्वतारोहण क्षेत्रमा हिमालको प्रवर्द्धनको लागि आफूहरुले उठाउँदै आएको कुराहरुमा बजेट मौन रहेको बताए । 

उनले भने, ‘जुन हामीले उठाउँदै आएका थियौं, यसमा अलिकति राम्रो पक्ष टे«किङ टे«लहरु हिमालको आधार शिविरसम्म पुग्नेगरी निर्माण गर्ने भनिएको छ । यो कुरा सकारात्मक हो । अरु खासै केही छैन् । तालिमका लागि खर्च बजेटमा छुट्टाएको भए राम्रो हुन्थ्यो । त्यो छैन् । हामीले बारम्बार उठाउँदै आएको आरोहीहरुको हितको लागि आर्थिक कोषको कुरा पनि छैन् । पर्वतारोहण क्षेत्र र आरोहीहरुको बारेमा सरकार गम्भीर हुन नसकेको बजेटबाट देखिन्छ । 

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष रमेश थापाले विमानस्थलहरुको स्तरोन्नती र सञ्चालनलाई बजेटले प्राथमिकता दिन खाजे पनि अरु ठोस कुराहरु खासै आउन नसकेको बताए । 

उनले भने, ‘आन्तरिक र वैदेशिक पर्यटन प्रवर्द्धनको लागि राखेको बजेट नयाँ गन्तव्यको पहिचान कसरी गर्ने ? त्यसको मोडालिटी पनि समावेश गरेको भए प्रभावकारी हुन्थ्यो । त्यो छैन् । अझ त्यसमा निजी क्षेत्रलाई समावेश गरेर जाने भनेको भए हुन्थ्यो । नत्र निजी क्षेत्र त्यसमा जाने, हस्ताक्षर गर्ने, खाने मात्र हुन्छ ।’ 

थापाले बजेटमा पर्यटन व्यवसायीहरुलाई केही छुटहरु नराखेको गुनसाो गरे । कोभिड महामारीबाट बढी प्रभावित पर्यटन क्षेत्र पछिल्लो समय आर्थिक मन्दीको अवस्थाबाट गुज्रिएको बताउँदै सरकार बढी राजश्व संकलनमा केन्द्रीत हुन खाजेको बताए । 

होटल एसोसिएसन नेपाल (हान)का अध्यक्ष विनायक शाहले सरकारले सन् २०२३ देखि २०३२ लाई पर्यटन दशकको रुपमा मनाउने कुरा सकारात्मक भए पनि यसको कसरी कार्यान्वयन हुन्छ ? कति सफल हुन्छ ? त्योप्रति आफूहरुलाई चिन्ता रहेको बताए । 

उनले भने, ‘पहिलै पनि यस्ता दशक र बर्ष घोषणा भएको हो । हामीले घोषणा मात्रै होइन्, प्रवर्द्धन चाहेको हो । दशक भनेको त दश वर्ष हुन्छ । दश वर्षमा के के काम गर्ने ? कसो कसो गर्ने ? यसमा चाँहि सरकारले निजी क्षेत्रलाई संलग्न गराएर काम गरे राम्रो हुन्छ ।’ 

बजेटले ‘नेपाल घुमौं, नेपाल चिनौं’ भनेर आन्तरिक पर्यटन प्रवर्द्धनको नारा दिएको बताउँदै शाहले नारासँगै काम गर्न प्रोत्साहनमूलक नीति र कार्यक्रम पनि आउनुपर्ने बताए । सरकारले पर्यटन क्षेत्रलाई सेवा व्यवसायको रुपमा मात्र हेर्ने गरेको उनको गुनासो छ । यस क्षेत्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मान्यता दिनुपर्ने बताए । 

Advertisement

Advertisement