लिङदेनको चुनौतिपछि दरबार हत्याकाण्डको अनुसन्धान गर्न प्रम दाहाल तयार

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दरबार हत्याकाण्डको अनुसन्धान गरी निस्कर्षमा पुर्याउने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सबै हत्याकाण्ड र भ्रष्टाचार काण्डको छानविन गर्न माग गर्ने क्रममा दरबार हत्याकाण्डको पनि छानविन गर्न चुनौति दिएका थिए । 

मंगलवार माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडामा भएको कार्यक्रममा उनले ठूला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्ड लगायतका हत्याकाण्डहरुको अनुसन्धान गरी निचोडमा पुग्ने बताएका हुन् ।

Advertisement

दाहालले २०४६ सालको जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणहको बारेमा खोजी नीति गर्ने पनि बताए । राजा ज्ञानेन्द्रको पक्षमा राजधानी बाहिर ठूलो जनलहर देखिन थालेको र आफूमाथि हजारौं मानिसको हत्या र अर्बौं रुपियाँ भ्रष्टाचार गरेको आरोपमा कारवाही हुने संभावना बढेको बेला दाहालले २०४६ पछिका काण्डहरुको छानविनको कुरा उठाएका हुन् । 

भ्रष्टाचारका काण्ड र ठूला हत्याकाण्डका बारेमा अनुसन्धान गरी निस्कर्षमा पुर्याउनुपर्ने र जनतालाई यसबारेका शंकाहरुको छिनोफानो गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भने, ‘मैले सदनमा पनि भनेको छु अब भ्रष्टाचारका सबै फाइलहरु खोलिनेछन् । क्रमशः खुल्छन् । खुलाइन्छन् । मैले भनेको छु, २०४६ सालको ऐतिहासिक जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पती विवरणहको बारेमा खोजिनीति गरिन्छ । ठूलाठूला भ्रष्टाचारका काण्ड भनेर जो स्थापित छन्, तिनको खोजिनीति गरिन्छ । ठूलाठूला भयानक हत्याकाण्डहरु छन्, ती हत्याकाण्डहरुको खोजिनीति गर्नुछ । चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरबार हत्याकाण्ड । त्यसको छिनोफानो भएको छैन । नेपाली जनताको मनमा धेरै ठूलाठूला शंकाहरु छन् । के भएको हो भन्नेकुराको सत्यतथ्य आएको छैन । यी सबैकुराहरु पनि हामीले क्रमशः लगेर नयाँ विश्वास जनतामा जगाउनु छ । अब केही हुन्छ र हुनसक्छ भनेर ।’ 

दाहालले आफ्नो बुधवारबाट हुने भारत भ्रमणका क्रममा विद्युतको बजार क्षमताको ग्यारेन्टी हुनेगरी छलफल गर्ने प्रतिवद्धता जनाए । उनले भारत भ्रमणमा सीमानाका विवादको समाधान गर्ने उपाय खोज्ने र विश्वासको वातावरण बनाउन पहल गर्ने बताए । दाहालले आफू अहिले युवा अवस्थाको भन्दा बढी खटिरहेको बताए । 

Advertisement

Advertisement