उपभोक्ताले विषादीयुक्त इण्डियन आँपभन्दा स्वदेशी नै रुचाउन थालेका छन्ः बानियाँ

Advertisement

काठमाडौं । नेपाली उपभोक्ताले इण्डियन आँपभन्दा स्वदेशी आँप रुचाउन थालेको फलफूल तथा तरकारी व्यवसायीहरुले बताएका छन् । नेपाल फलफूल थोक व्यवसायी संघ काठमाडौंका अध्यक्ष अम्मर बानियाँले नेपाली आँपको माग बढी रहेको बताएका हुन् ।   

बर्खायाम सुरु भएसँगै नेपाली बजारमा आँपको आपूर्ति बढेर गएको छ । तर विगतको तुलनामा भारतीय आँपको बिक्री निकै कम रहेको उनले बताए । बानियाँले भारतीय आँपको गुणस्तर बढी आशंका भएर पनि उपभोक्ता बढी सचेत भई कम खपत भएको हुनसक्ने बताए । 

Advertisement

भारतीय आँपमा आयात गरेर ल्याउँदा बिग्रिन नदिन विभिन्न खाले अखाद्य औषधि प्रयोग गर्ने गरिन्छ । त्यसरी औषधि प्रयोग गर्दा पनि आयातित आँदा बढी गलेको जस्तो देखिने गर्दछ । पछिल्लो समयमा नेपाली उपभोक्ता विदेशीभन्दा स्वदेशी खाद्यवस्तु उपभोग गर्नुपर्छ भन्ने जागरण बढ्दै गएकाले पनि धेरै उपभोक्ताले स्वदेशी सामान खोज्ने गर्छन् । 

नेपाली स्थानीय आँपको माग ८० प्रतिशत हुँदा भारतीय २० प्रतिशत जनि रहेको बानियाँको भनाई छ । उनले राजधानी काठमाडौंभित्र दुई महिना (सिजन)मा ३० करोड रुपियाँको आँप बिक्री हुने अनुमान गरे । बानियाँले भने, ‘आँपको सुरुवाती सिजन भएर अहिले अलिअलि देखिएको हो । मध्य  सिजनमा बजारमा भारतीय आँप विस्थापित  हुँदै जान्छ ।’ 

तर कतिपय नेपाली किसानले उत्पादन गर्ने आँपमा मिठासपन पस्न बाँकी छँदै टिप्ने गर्दा उपभोक्ताले चाहेअनुसारको स्वाद लिन नपाउने गरेको बताउँदै बानियाँले बोटमा छिप्पाएर ल्याउन किसानहरुलाई सल्लाह पनि दिए । 

उनले भने, ‘व्यापारी र किसानले भोली आउने जोखिम मोल्न नचाहाने र हतारमा सिजन सुरु नहुँदै आँप ल्याउने गर्छन । त्यस्तो गर्नु हुँदैन् । यस्तो भयो भने फेरि इण्डियन आँप हावी हुने अवस्था सिर्जना हुन्छ । उपभोक्ताले पनि खोजेको स्वाद पाउन सक्दैनन् ।’ 

यद्यपि बानियाँले आँप मात्रै नभएर नेपालमा उत्पादन हुने विभिन्न प्रकारका फलफूल आयातितभन्दा धेरै गुणा मिठो हुने गरेको बताए । किसानले उत्पादनको गुणस्तरअनुसार वर्गीकरण, प्याकेजिङमा कम्जोरी गर्ने गरेको उनले बताए । किसानले आँपलाई डोकोमा राखेर ढुंगा माटो जस्तो बोक्ने गर्दा चोट लाग्ने र चाँडै बिग्रिने समस्या देखिने गरेको बानियाँले बताए । 

हाल बजारमा नेपाली आँपको थोक मूल्य ६० रुपियाँदेखि ८० रुपियाँ छ ।  कृषिभोग, माल्दा, बम्बै, अम्रपाली गरी २० प्रकारका आँप एक हप्ताभित्रमा काठमाडौंको बजारमा भित्रिने उनले बताए । आँपका प्रकारअनुसार मूल्य फरक पर्ने बानियाँले बताए । 

काठमाडौं महानगरपालिका साइकल, ठेला गाढामा जथाभावी फलफूल तथा तरकारी बिक्री गर्न रोक लगाएपछि अहिले फलफूलको व्यापार पनि प्रभावित भएको सुनाउँदै बानियाँले टोल–टोलमा रहेका खाली जग्गा सदुपयोग गरी फलफूल तथा तरकारी व्यवसायीलाई व्यवस्थित गरिनुपर्ने बताए । 

फलफूल व्यवसाय थोक मात्रै नभई खुद्रा खरिद गर्न सकिने व्यवस्था भयो भने ग्राहकलाई सहज हुने बताउँदै उनले सरकारले स्वदेशी किसान र व्यवसाचयीका सानो, सानो समस्यालाई ध्यान दिन सके मात्रै उनीहरुको जीवनस्तरमा सुधार आउने र आर्थिक विकासमा पनि सहयोग पुग्ने बताए । 

Advertisement

Advertisement