नयाँ बजेटअनुसार हवाई टिकटमा भ्याट लागू हुने/नहुने कुरामा वायुसेवा सञ्चालकहरु अन्योलमा

Advertisement

काठमाडौं । सरकारले आउँदो आर्थिक बर्षका लागि बजेट जारी गर्ने क्रममा ल्याएको आर्थिक ऐनले वायुसेवा कम्पनीहरु पनि भ्याटमा दर्ता हुनुपर्ने भनेसँगै हवाई टिकटमा भ्याट लाग्ने हो वा होइन् ? भन्ने कुराको अन्योलता सिर्जना भएको छ । 

सोही अन्योलताका कारण बजेट जारी भएको दुई दिन बितिसक्दा पनि वायुसेवा कम्पनीहरुले हवाई टिकटमा भ्याट (मूल्य अभिवृद्धि कर) जोड्न सकेका छैनन् । भ्याट लागू गर्दा उड्डयन सेवामा गम्भीर प्रभाव पर्ने भएकाले यो कुरा मिलाउन नेपाल वायुसेवा सञ्चालक संघका सदस्यहरु छलफलमा जुटेका छन् । 

Advertisement

तर आर्थिक ऐनमा आइसकेको कुरा कार्यान्वयन नहुँदा यसले अरु कानुनी जटिलता सिर्जना गर्ने अवस्था देखिएको छ । भ्लाट लगाउँदा पनि हालको करसहितको हवाई टिकटको मूल्यमा लाग्ने हो वा हवाई मूल्यमा मात्रै लाग्ने हो ? सो कुरा पनि प्रष्ट हुन नसकेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । 

उनले भ्याट लाग्ने कुरामा अन्योलता कायम रहेको र यसमा छलफल जारी रहेको बताउँदै भ्याट कि सेवा बन्द गरेर विरोधमा उत्रिनुपर्ने कि भ्याट लगाउनुपर्ने अवस्था आउनसक्ने बताए । बर्तौलाले भ्याट लगाउँदा हवाई टिकटको मूल्यमा ठूलो वृद्धि हुने भएकाले यसले ठूलो असर गर्ने बताए । 

यस्तै, हेली एभरेष्टका बजारीकरण प्रमुख सीताराम सापकोटाले हेलिकप्टरमा पनि भ्याट लाग्ने भने कुरा सुन्नमा आएको छ, लाग्ने हो या होइन र लाग्ने भए कहिलेबाट लाग्ने हो बारे अन्योलतामा रहेको बताए । भ्याट जोड्यो भने यसको मार यात्रुहरुलाई पर्ने छ ।

हेलिकप्टरको मूल्य पनि वृद्धि हुन्छ । हवाइ जहाजको पाठपूर्जामा पनि भ्याट लाग्ने भनिसकेपछि हेलिकप्टरको यात्रा महङ्गो हुन सक्ने बताउँर्द उनले भने, ‘व्यवसायलाई पनि भोलिका दिनमा ग्राहो हुन्छ । अहिले हामीले कोरोना महामारीको बेलाकै मूल्यमा संचालन गरिरहेका छौं । यो व्यवसाय घाटामै सञ्चालन गरिरहेका छौं । भोलिको दिनमा भाडादर बढ्ने र यात्रुहरु कम हुने हुनाले यसको प्रत्यक्ष मार हेलिकप्टर व्यवसायहरुमा पर्छ ।’

Advertisement

Advertisement