महालक्ष्मी  विकास बैंकले कर्पोरेट क्रिकेट लिग आयोजना गर्ने, १६ वित्तीय संस्था सहभागी

Advertisement

काठमाडौं । महालक्ष्मी  विकास बैंक लिमिटेडको आयोजनामा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग-२०२३, श्रृङखला २’ हुने भएको छ । 

बैंकले २९औं वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गरेको हो । जेठ २० गते शनिबारदेखि २२ गते सोमबारसम्म इमाडोल स्थित बलपार्क इन्डोर क्रिकेटमा आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलीले सहभागिता जनाउन भएका छन् ।  

Advertisement

यसैबीच बैंकका सीईओ बोधराज देवकोटाले प्रतियोगिताको विजेता ट्रफी र बैंकका सहायक सीईओ जलजकुमार अधिकारीले जर्सी सार्वजनिक गरेका थिए । 

क्रिकेट लिगका प्राविधिक निर्देशक रविन्द्र गुप्ताले लिगका नियमहरुका बारेमा प्रकाश पार्नुका साथै समूह विभाजन गरेका थिए । सीईओ देवकोटाले यस क्रिकेट लिगले बैंक तथा वित्तीय संस्थाहरुबीच भाइचारा, आत्मियता, सद्भाव, मित्रता बढाउन थप सहयोग पुग्ने बताए । 

लिग कम नक आउट फर्म्याटमा आयोजना हुने प्रतियोगितामा कुल ३१ वटा खेल खेलिनेछन् । सहभागी १६ टोलीलाई ४ वटा समूहमा विभाजन गरिएको छ, जसबाट समूहको उत्कृष्ट हुने दुई समूह क्वार्टरफाइनल प्रवेश गर्नेछन् । खेल १० ओभर प्रति इनिंग्सको हुनेछ । 

प्रतियोगितामा माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, सनराइज बैंक, प्रभु बैंक, एनएमबि बैंक, एनआईसी एसिया बैंक, प्राइम बैंक, कुमारी बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, आईसीएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र महालक्ष्मी विकास बैंकको सहभागिता रहेको छ । 

प्रतियोगिताको विजेता, उपविजेता टिम, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट विकेट किपर, बेस्ट फिल्डर, लगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरिनेछ । 

Advertisement

Advertisement