ओडिशामा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या तीनसय भन्दा बढी, घाइते ८५० घाइते

Advertisement

काठमाडौं । भारतको पूर्वी राज्य ओडिशामा रेलहरू शुक्रबार एकआपसमा ठोकिँदा कम्तीमा तीनसय भन्दा बढीको मृत्यु भएको छ भने ८५० भन्दा बढी घाइते भएका छन् ।

ओडिशाको बालासोर जिल्लामा भएको यो दुर्घटना ठूलो रेल दुर्घटनामध्येको एक हो । यात्रुवाहक रेल एक पटरीबाट बाहिर खसेर अरू रेलहरूमा ठोकिन पुगेको प्रहरीको अनुमान छ । दुर्घटनापछि उद्दारका लागि सयौं एम्बुलेन्स परिचालन गरिएको थियो । सयभन्दा बढी चिकित्सक घटनास्थलमा परिचालन गरिएको छ । 

Advertisement

गम्भीर घाइते धेरै भएकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने ठानिएको छ । भारतीय रेलवेका अनुसार कोरोमण्डल एक्सप्रेस र हावडा सुपरफास्ट एक्सप्रेस आपसमा जुध्न पुगेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाबाट आफू अत्यन्त दुःखी भएको बताउँदै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले ट्विटरमा लेखेका छन्, ‘दुर्घटना स्थलमा उद्धारकार्य जारी छ र प्रभावितहरूलाई सम्भव भएसम्म सहयोग गरिँदै छ।’

गृहमन्त्री अमित शाहले पनि घटना अत्यन्त पीडादायी भएको प्रतिक्रिया दिएका छन् । घटनामा बाँचेकाहरुले दुर्घटना हुँदा कोलाहल मच्चिएको, कसैले हात, कसैको खुट्टा गुमाएका, कसैको अनुहार विकृत भएको देखेको बताएका छन् ।

दुर्घटनापछि ओडिशा राज्यमा एक दिनको शोकको घोषणा गरिएको छ। घटनापछि जीवित यात्रुहरू दुर्घटनास्थलमा फसेका मानिसलाई उद्धार गर्न दौडिएका थिए । स्थानीय बस कम्पनीहरूले पनि यात्रुलाई ओसारपसार गर्न मद्दत गरेका थिए भने सुरक्षाकर्मीहरु पनि उद्दारमा लागेका थिए । 

समाचारअनुसार शालिमार–चेन्नई कोरोमण्डल एक्सप्रेसका धेरै डिब्बाहरू शुक्रबार साँझ पटरीबाट खसेर धेरैतिर उछिसट्टएका थिए । अर्को रेल हावडा सुपरफास्ट एक्सप्रेस यशवन्तपुरबाट हावडा जाँदै थियो र त्यो पल्टिएका डिब्बामा ठोक्किन पुगेको जनाइएको छ । सोही ठाउँमा रोकिएको अवस्थामा भएको अर्को सामानवाहक रेलमा पनि ती दुई रेलका डिब्बाहरू ठोकिन पुगेका थिए । 

तर भारतमा रेल दुर्घटनाहरू सामान्य जस्तै बनेका छन्। यसअघि भारतको सबैभन्दा खराब रेल दुर्घटना सन् १९८१ मा भएको थियो। त्यस बेला बिहार राज्यमा एउटा चक्रवातको समयमा यात्रुहरूको भिड भएको रेल ट्र्याकबाट नदीमा खसेको थियो। त्यस बेला कम्तीमा आठसय जनाको ज्यान गएको थियो।

Advertisement

Advertisement